नेपाल-भारत सीमा सुरक्षा प्रमुखस्तरीय बैठक आजबाट : सीमापार अपराध नियन्त्रण र सीमा स्तम्भ मर्मत मुख्य एजेन्डा

भारतबाट बैठकमा सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंहालको नेतृत्वमा सुरक्षा अधिकारी र गृह तथा विदेश मन्त्रालयका अधिकारी सहभागी हुने छन् । यो दुई देशका सीमा सुरक्षा प्रमुख तहमा हुन लागेको नवौं बैठक हो ।

कार्तिक २६, २०८२

मातृका दाहाल

Nepal-India border security chiefs' meeting from today: Cross-border crime control and border pillar repair main agenda

What you should know

काठमाडौँ — नेपाल-भारत सीमा सुरक्षा प्रमुखस्तरीय बैठक आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ । सीमा सुरक्षा समन्वय बैठकमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नेतृत्वमा आठ सदस्य उच्चस्तरीय टोली दिल्ली पुगेको हो । टोलीमा सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मीसहित गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी छन् ।

भारतबाट बैठकमा सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंहालको नेतृत्वमा सुरक्षा अधिकारी र गृह तथा विदेश मन्त्रालयका अधिकारी सहभागी हुने छन् । यो दुई देशका सीमा सुरक्षा प्रमुख तहमा हुन लागेको नवौं बैठक हो ।

गत वर्ष मंसिरमा आठौं बैठक नेपालमा भएको थियो । सशस्त्र प्रहरी मुख्यालयमा भएको बैठकमा विभिन्न ११ वटा वुँदामा छलफल र समीक्षा केन्द्रीत भएकामा यसको कार्यान्वयनमा जोड दिनेमा दुबै देशका अधिकारीबीच सहमति भएको थियो । यसका लागि बैठकलाई आलोपालो ६/६ महिनामा गर्ने भन्ने सहमति भए पनि प्राविधिक कारण देखाएर भारतले बैठक पछि धकेलेको थियो । त्यसपछि विगतकै झैँ एक वर्षको अन्तरालमा बैठक हुन लागेकामा बुधबार (आज) देखि ३ दिनसम्म चल्ने छ ।

बैठकमा सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण, क्रसबोर्डर अकुपेसन र यसले सीमा सुरक्षामा पारेका असर, सीमा स्तम्भ सुरक्षा, मर्मतसम्भार, रेखदेख, सीमामार्फत हुने घुसपैठ रोकथाम तथा नियन्त्रण, सीमा सुरक्षामा तैनाथ बोर्डर आउट पोस्ट, गुल्म, गण र बाहिनी तहमा भएका बैठकको समीक्षा एवं यसको कार्यान्वयनको अवस्था अनि थप साझा रणनीति र कार्यान्वयनलगायत विषयमा समीक्षा हुने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

नेपाल–भारत करीब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा सीमा फैलिएको छ । दुबै देश खुला सीमा भएका कारण आवतजावतमा सहज छ । तर, यसकै फाइदा उठाएर तेस्रो देशका नागरिकको घुसपैठ मात्र होइन, एक देशमा अपराध गरेर अर्को देशमा सहजै भाग्ने गरेका छन् । यसबाट दुबै देशका सुरक्षाकर्मीले चुनौतीको सामना गरिरहेका छन् । यी विषयमा छलफल गरी साझा समस्या सामना गर्ने गरी शुक्रबार (२८ कात्तिक) मा संयुक्त हस्ताक्षर हुने जनाइएको छ ।

गत वर्षको बैठकमा नेपालले स्थलमार्गबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ नियन्त्रणमा गम्भीर बनिदिन भारतसँग आग्रह गरेको थियो । गैरकानुनी घुसपैठ राष्ट्रिय सुरक्षामा चुनौती रहेको भन्दै यसमा नियमन र निगरानी कडाइ हुनुपर्ने नेपाली पक्षको जोड थियो । त्यस क्रममा नेपाल पक्षले दुई देशका नागरिकको आवतजावतमा सहजीकरण र तेस्रो देशका मानिसको नियमनका लागि छुट्टै ‘टुरिस्ट डेस्क’ राख्नुपर्ने प्रस्ताव पनि प्राथमिकतासाथ उठाएको थियो ।

बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले ‘अनुहार र वर्ण उस्तै भएका कारण’ तेस्रो देशका नागरिकलाई रूपबाट पहिचान गर्न कठिन भएको बताएका थिए । ‘तेस्रो देशका मानिसको घुसपैठले दुबै देशलाई असर पुग्छ, यसमा दुबै देशका तर्फबाट सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले सतर्कता अपनाउनुपर्छ,’ उनले भनेका थिए ।

गृह मन्त्रालयको अभिलेखअनुसार बंगलादेश, अफगानिस्तान, म्यानमार, भुटानलगायत देशका नागरिक भारतीय स्थलमार्गबाट नेपाल छिरेर ‘शरणार्थी’ का रूपमा गतिविधि गर्ने गरेका छन् ।

गत वर्षको बैठकमा यो विषयलाई नेपाली पक्षले जोडका साथ उठाएकामा भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादले ‘अनुहार र वर्ण उस्तै भएका कारण’ तेस्रो देशका नागरिकलाई रूपबाट पहिचान गर्न कठिन भएको बताएका थिए । ‘तेस्रो देशका मानिसको घुसपैठले दुबै देशलाई असर पुग्छ, यसमा दुबै देशका तर्फबाट सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले सतर्कता अपनाउनुपर्छ’ भन्दै दुबै देशले सतर्कता अपनाउनुपर्ने बताएका उनी यस पटकको बैठकमा हुने छैनन् । एसएसबी प्रमुखमा केही महिना अघि मात्रै भारत सरकारले बीएसएफका महानिर्देशक सञ्जय सिंहाललाई एसएसबी महानिर्देशकमा सरुवा गरेको थियो ।

यस पटक पनि विगतका सहमति कार्यान्वयनलाई जोड दिइने छ । अनौपचारिक छलफलमा भने नेपालमा पछिल्लो जेन जेड आन्दोलन र त्यसपछि जेलबाट भागेका कैदी, लुटिएका हतियार र उनीहरू सीमा पारी पुगेर सेल्टर लिएको हुनसक्ने विषयमा उनीहरूको खोजबिनमा सघाउन पनि अनुरोध गर्ने तयारी रहेको स्रोत बताउँछ ।

समन्वय बैठक वर्षको एक पटक, जिल्लास्तरीय ‘सीमा सुरक्षा गण’ तहमा दुई पटक र बोर्डर आउट पोस्ट (बीओपी) तहमा हरेक महिना बैठक बसेर समीक्षा हुने गरेको छ । सरकारले भारततर्फ २ सय ४४ स्थानमा एपीएफको बोर्डर आउट पोस्ट (बीओपी) मार्फत जनशक्ति खटाएको छ । भारतले भने ४ सयभन्दा बढी स्थानमा एसएसबीको फौज तैनाथ गराएको छ ।

पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिम कञ्चनपुरसम्म १८ सय ८० किमि लम्बाइमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा छुट्याउने ८ हजार ५ सय ५३ सीमास्तम्भ छन् । यिनको रेखदेख, संरक्षण र हराएका पिलर खोजी तथा नयाँ राख्ने विषय पनि बैठकको प्राथमिकतामा छ ।

भारततर्फ सीमा कायम गर्ने २ हजार ७ सय १६ वटा सीमास्तम्भ गायब भएकामा केही भेटिएर मर्मत गरिएको थियो । तर, धेरैजसो हराएका पिलरको खोजबिन हुन सकेको छैन । करिब १६ सय सीमास्तम्भ जीर्ण र करिब २९ सय स्तम्भ सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेकामा पछिल्लो पटक बिजोर अंकका स्तम्भ नेपाल र जोर अंकका स्तम्भ भारतीय पक्षले मर्मत गर्ने सहमति भए पनि मर्मत पूर्ण हुन सकेको छैन ।

दुई देशका नाप विभाग प्रमुखस्तरीय बैठकले जोर पिलर मर्मत भारत र बिजोर नेपालले गर्ने गरी विगतमै सहमति गरिसकेको छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully