हरेक परिवर्तनपछि पहिलो प्रहार प्रहरीमाथि : आईजीपी खापुङ

खापुङले प्रहरीमाथि गरिएका प्रहार र भोगेका चोटको जवाफ कोसँग माग्ने भन्दै प्रश्न पनि गरे ।

कार्तिक २६, २०८२

मातृका दाहाल

After every change, the first attack is on the police: IGP Khapung

What you should know

काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले हरेक परिवर्तनपछिको पहिलो प्रहार प्रहरीमाथि हुने गरेको टिप्पणी गरेका छन् । ३० वर्ष सेवा अवधि पूरा गरी अवकाशमा जान लागेका आईजीपी खापुङले हरेक परिवर्तनपछि प्रहरीमाथि नै प्रहार हुने गरेको र चोट पनि प्रहरीले नै भोग्ने गरेको बताएका हुन् ।

सेवानिवृत्त हुनुअघि बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिदाइ सम्बोधन गर्दै खापुङले प्रहरीमाथि गरिएका प्रहार र भोगेका चोटको जवाफ कोसँग माग्ने भन्दै प्रश्न पनि गरे । कात्तिक २०५२ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका खापुङ गत १९ भदौमा आईजीपी बनेका थिए । त्यसयताको ६९ दिन उनी प्रहरी नेतृत्वमा रहे । यही अवधिमा अकल्पनीय मानवीय क्षति हुने गरी भएको २३ भदौको जेन-जी आन्दोलन र त्यसको भोलिपल्ट देशभर तोडफोड, आगजनी, लुटपाट  र राष्ट्रिय धरोहरुहरु जलेर खरानी हुँदाको विषम परिस्थितिमा खापुङ नै नेतृत्वमा थिए । जेन-जी आन्दोलनपछि जनधनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेन-जी आन्दोलनमा दमन गरेको र भोलिपल्ट सुरक्षा दिन नसकेको भन्दै प्रहरी अधिकारीहरुसँग बयान सुरु गरिसकेको छ ।

जाँचबुझमा माग भएका विवरणहरु उपलब्ध नगराएको भन्दै आयोगले आईजीपी खापुङलाई नै २४ घण्टे स्पष्टिकरण सोध्नुका साथै ‘किन कारबाही नगर्ने ?’ भनी चेतावनी पनि दिएको थियो भने २३ र २४ भदौमा फिल्डमा खटिने प्रहरीसँग आयोगले बयान लिन सुरु गरिसकेको छ ।

‘छोटो तर चुनौतीपूर्ण यात्रामा मैले जुन अनुभवहरु संगाले, ती केबल व्यक्तिगत मात्र होइन, सम्पूर्ण संगठन र राष्ट्रकै सन्दर्भमा गहिरो छन् । मैले पदभार ग्रहण गरेको छोटो अवधिमा नै गम्भीर र अप्रत्याशित घटनाहरुको शृंखलाले समग्र देशको शान्ति र सुरक्षालाई गम्भीर चुनौती दियो, युवा समूहको विरोध प्रदर्शन र आन्दोलनका आडमा आम नागरिकको मृत्यु, राष्ट्रिय धरोहरका साथै प्रहरी कार्यालयहरुमा आगजनी, हतियार लुटपाट र प्रहरी कर्मचारीमाथि भएको आक्रमणले हामी सबैलाई स्तब्ध बनायो,’ खापुङले भने, ‘उक्त घटनाले प्रहरीको मनोबललाई गहिरो चोट पुर्‍याउनुका साथै धेरै साथीहरुलाई मानसिक रुपमा आहत बनायो । आपतकालमा तपाईं (प्रहरी)ले देखाएको धैर्य र सहयोगले नै प्रहरीलाई बलियो बनाएको छ । प्रहरीको निष्ठा संगठनको मेरुदण्ड हो । संगठन प्रहरीको समर्पणले चलेको छ, प्रहरीहरुको बलिदाले उभिएको छ, तपाईंहरुकै मानले चमिकएको छ, तपाईंहरुकै समर्पणले नै संगठनलाई फेरि उठ्न प्रेरणा दिएको छ ।’

उनले आन्दोलनपश्चात् सुरक्षाप्रतिको आम नागरिकहरुमा बढेको चासोलाई प्रहरीको अस्तित्व जनताको सुरक्षा र सेवासँग रहेको सन्देश प्रवाह भएको पनि बताए । आमनागरिकको सहयोगबाट तत्काल सम्पन्न भएका सयौं पुनर्निर्माणले संगठनलाई थप गति दिएको उनले बताए ।

आन्दोलनपछिको संक्रमणकालीन अवस्था, बढ्दो असन्तुष्टि, संवेदनशील सुरक्षा चुनौतीहरुबीच जटिल रहेको भूमिकालाई प्रहरीले व्यावसायिकता र संविधानप्रतिको निष्ठा कायम राख्दै शान्ति सुरक्षाको बहालीमा महत्वपूर्ण नतिजा ल्याउन सफल रहेको उनको दाबी छ ।

जेन-जी आन्दोलनपछि अब प्रहरीको स्वायत्तता कायम गर्नेतर्फ सबै लाग्नु पर्ने र अहिले उपयुक्त समय आएको उनको भनाइ छ ।

‘प्रहरीको स्वायत्ततासम्बन्धी बहस अहिले सबैभन्दा उपयुक्त समयमा आएको छ । स्वायत्तता र पेसागत प्रहरीले संविधान र कानुनमा आधारित निष्पक्ष र जवाफदेही सेवा दिन सक्छ,’ उनले भने, ‘प्रहरीलाई हस्तक्षेपभन्दा पर राख्दै संविधान र कानुनले निर्देशित व्यावसायिक संस्था बनाउने अवसर हामीसँग रहेको सन्देश सरकार, नीति, निर्माणकर्ता र जनप्रतिनिधिहरुलाई दिन चाहन्छु ।’ 

जेन-जी आन्दोलनपछि बनेको सरकारले प्रहरीप्रति अभिभावकीय भूमिका निर्वाह गरेको पनि उनले बताए । ‘आन्दोलनपश्चात् बनेको सरकारको प्रहरीप्रतिको दृष्टिकोण अत्यन्त सकारात्मक र अभिभावकीय छ । हामीले सरकारसँग प्रहरीको मनोबल अभिवृद्धि गर्ने साना कुराहरुभन्दा पनि नीतिगत रुपमा नै सुधारात्मक कदम चाल्न अनुरोध गरेका छौं ।’

आफ्नो छोटो नेतृत्वकालमा सामना गर्नु परेको राजनीतिक परिवर्तनको परिवेशमा प्रहरीको अस्तित्व जगेर्ना, प्हरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाइचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको उनले बताए ।

खापुङले विगतको तुलनामा सांगठनिक मूल्यमान्यता तथा ऐक्यबद्धतालाई अक्षुण्ण राख्ने व्यक्तिगत अनुशासनमा क्षयीकरण हुँदै गएको पनि टिप्पणी गरे । ‘समग्र देश र प्रहरी संगठन संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको आजको अवस्थामा नयाँ नेतृत्वलाई सांगठनिक ऐक्यबद्धता कायम गर्नु तथा व्यावसायिक र गैरव्यावसायिक प्रहरी अधिकृत छुट्याउने चुनौती मैले देखेको छु ।’ 

खापुङ बिहीबारबाट निवृत्त हुने भएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआईजी दानबहादुर कार्कीलाई आईजीपीमा बढुवा गरेको थियो । बुधबार नवनियुक्त आईजीपी कार्कीले खापुङसहित सेवा अवधिबाट अवकाशमा जान लागेका अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका थिए । 

आईजीपीको प्रतिस्पर्धामा कार्कीसहित एआईजीहरु राजन अधिकारी, मनोज केसी र सिद्धीविक्रम शाह थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कार्कीलाई बढुवा गरेको थियो । १८ चैत २०५४ मा सेवा प्रवेश गरेका कार्की हालको ३० वर्षे सेवाअवधिसम्बन्धी प्रावधान कायम रहे करिब २९ महिना नेतृत्वमा रहने छन् । उनीसँगै सेवा प्रवेश गरेका अधिकारीहरु पनि त्यो अवधिसम्म बहालमा रहने छन् । तर, नेतृत्वमा पुग्न भएका प्रयास र आपसी मनमुटावले उच्च अधिकारीहरुबीच समन्वय, सहकार्य र चेन अफ कमाण्डमा रहेर काम गर्नेभन्दा पनि मनमुटावको स्थिति रहने विगतको गलत अभ्यासले प्रहरी संगठनलाई सधैं अस्थिर र विवादित बनाइने प्रवृत्ति रोकिएको छैन ।

निवृत्त हुन लागेका खापुङले पनि यसलाई नै संकेत गर्दै संगठनभित्र अनुशासनमा क्षयीकरण हुँदै गएको बताएका हुन् ।  

खापुङ प्रहरी नेतृत्व सम्हालेको चार दिन पछि जेन-जी आन्दोलनमा दमन गरेको आरोप  तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमाथि लागेको थियो । त्यतिमात्र होइन, २४ भदौमा अघिल्लो दिनको दमनको विरोधमा निस्किएको प्रदर्शन देशभर हिंसात्मक हुँदा अकल्पनीय जनधनको क्षति भएको थियो । राष्ट्रपति भवन, संसद्, सर्वोच्च न्यायालय, सिंहदरबार, प्रधानमन्त्री निवास, अख्तियार, राजनीतिक दलका कार्यालय, विभिन्न नेताका निवास, व्यापारिक भवन/प्रतिष्ठान २४ भदौको जेन-जी आन्दोलनबाट ध्वस्त पारिएका थिए । प्रहरीका मात्रै साढे ४ सयभन्दा बढी ब्यारेक तथा कार्यालयमा क्षति पुगेको थियो । 

२८ कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए भने १२ सय प्रहरीका १२ सयभन्दा बढी हतियार लुटपाट र आगजनी भएको थियो । दुई दिनको आन्दोलनमा जेन-जीका प्रदर्शनकारीसहित ७६ जनाको ज्यान गएको थियो ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully