'निर्वाचनसम्म जाँदाखेरि अवरोधहरू छन् भने तिनलाई पत्ता लगाउनुपर्छ र तिनका सम्बन्ध कतिपय अवस्थामा संविधानसँग ठोक्किएको हुनसक्छ । संविधानसँग ठोक्किएको छ भने संविधानका कुराहरू टुंग्याउनुपर्ने हुन्छ ।'
What you should know
काठमाडौँ — पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेन-जीको असन्तुष्टिको आवरणमा पुराना पुस्ताका असन्तुष्टि पनि जोडिएको बताएका छन् ।
नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जेन-जीका माग सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नियमित जस्तो चुनाव गराउन नहुने श्रेष्ठको भनाइ छ । भदौ २३ र २४ मा भएको आन्दोलनका माग सम्बोधन गरेर मात्रै अगाडि बढ्नुपर्ने उनले बताए । 'म भन्छु नयाँ पुस्ताको असन्तुष्टि भनेको केवल नयाँ पुस्ताको होइन, नयाँ पुस्ताको आवरणमा घुसाएर हामी पुराना पुस्ताले पनि जोडेका असन्तुष्टि छन्,' श्रेष्ठले भने ।
विगतमा गरिएको जस्तै गरी फागुन २१ मा चुनाव गराउन खोजिएको श्रेष्ठको भनाइ छ । 'निर्वाचन सम्पन्न गर्नका लागि पनि कानुन, सूचना, सहभागिताको सुनिश्चिता, सुरक्षाका यावत् प्रश्न हामीसँग छन् । हिजो जस्तो भयो त्यस्तै चुनाव खोजिएको हो त ? मिराजजी (मिराज ढुंगाना) ले भन्दै हुनुहुन्थ्यो देश जलिरहेको छ, निर्वाचन उस्तै भइरहेको छ । यो मिल्यो तालमेल ? उस्तै चुनाव गर्नका लागि त २०८४ सम्म पर्खिएको भए हुन्थ्यो अथवा गएका चुनाव सम्झेर ढुक्क भएर बसेको भए हुन्थ्यो,' श्रेष्ठले भने ।
आगामी चुनावबाट नयाँ पुस्ताले गरेको माग समाधान हुनुपर्ने श्रेष्ठको भनाइ थियो । 'निर्वाचनसम्म जाँदाखेरि अवरोधहरू छन् भने तिनलाई पत्ता लगाउनुपर्छ र तिनका सम्बन्ध कतिपय अवस्थामा संविधानसँग ठोक्किएको हुनसक्छ । संविधानसँग ठोक्किएको छ भने संविधानका कुराहरू टुंग्याउनुपर्ने हुन्छ,' श्रेष्ठले थपे, 'प्रत्यक्ष कार्यकारीको निर्वाचन माग हो कि होइन भन्ने टुंग्याउनुपर्यो नि । कार्यकारीको निर्वाचन भएपछि मात्र चुनावमा जाने हो भने संविधानमा त्यसको व्यवस्था छैन । प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनका लागि तयार हौं भने संविाधनमा राख्नुपर्ने हुन्छ । होइन भने त्यो छैन भन्नुपर्छ र संविधान अन्तर्गत चलौं । कुरा के हो ? टुंग्याउने कसले ? कसले सुन्ने र कसले भन्ने ? खोइ वाचक र स्रोता को हो ? छुट्याउनुपर्यो नि ।'
