मतदाता सूचीमा नाम लेखाउन अत्यधिक चाप, समय पाउनै मुस्किल

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन अत्यधिक चाप रहेका जिल्ला निर्वाचन कार्यालयमा दुई सिफ्टमा दैनिक १२ घण्टा काम गरिने जनाएको छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Too much pressure to register names on voter lists, difficult to find time

What you should know

काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउन थपेको ३० कात्तिकको समयसीमा नजिकिँदै गर्दा नाम दर्ता गराउनेहरूको चाप बढेको छ । अत्यधिक चापकै कारण नाम दर्ताका लागि फोटो खिचाउन ‘स्लट’ (समय) पाउनसमेत मुस्किल छ ।

आयोगको वेबसाइटमा व्यक्तिगत विवरण भरिसकेपछि फोटो खिचाउनका लागि सम्पर्क स्थान छान्दा बढी समस्या देखिएको छ । त्यस्तो समस्या सबैभन्दा बढी जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा गएर फोटो खिचाउन चाहनेले भोगिरहेका छन् । फोटो खिचाउन समय खोज्दा नपाइएको काठमाडौं निर्वाचन कार्यालयमा भेटिएका सिनामंगलका युवराज गिरीले बताए । आफैंले पटक–पटकको प्रयासमा पनि नभएपछि नाम दर्ता गराउन चाहनेहरू निर्वाचन कार्यालय आसपासका साइबरमा भर्न बाध्य छन् । आफूले भर्दा कुनै बेला के मिलेन, कुनै बेला कोटा छैन भनेपछि साइबरबाटै अनलाइन फर्म भर्न खोजेको बानेश्वरकी अंकिता पौडेलले उल्लेख गरिन् ।

२३ र २४ भदौको जेन–जी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐनमा संशोधन गरेर नाम दर्ताका लागि समय थपेको थियो । संशोधनअघि निर्वाचनको मिति घोषणा भएपछि नाम लेखाउन नपाउने व्यवस्था थियो । सरकारले कानुनमा संशोधन गरेर मतदाता नामावलीमा नाम लेखाउनका लागि विशेष व्यवस्था गरेको हो । असोज ९ मा अध्यादेशमार्फत ऐन संशोधन भएपछि असोज १२ बाट निर्वाचन आयोगले देशैभर मतदाता नामावली संकलन कार्य थालेको हो ।

आयोगका अनुसार २४ कात्तिकसम्म १ लाख ८५ हजार ९ सय १३ जना नयाँ मतदाता थपिएका छन् । कानुनमा संशोधनपछि फोटो खिच्न थालेपछि प्रारम्भिक दिनका तुलनामा नाम दर्ता गराउन आउनेको संख्या सरदर दैनिक ३/४ गुनाले बढेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरुमा दैनिक ५/६ हजार संख्यामा नयाँ मतदाता थपिएकामा अहिले त्यो संख्या बढेर दैनिक २०–२२ हजार पुगेको बताए । अन्तिम समयसीमा नजिकिँदै जाँदा नाम दर्ता गर्नेहरूको चाप बढेको उनले उल्लेख गरे ।

आयोगको तथ्यांकअनुसार देशैभर २४ कात्तिकमा २२ हजार २ सय ९१ जनाले मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छन् । त्यसको अघिल्लो दिन १६ हजार ९ सय ३७ जनाले फोटो खिचाएका थिए । एक साताअघिसम्म त्यो संख्या ५ देखि ६ हजारमा सीमित थियो । त्यो क्रमशः बढेर दैनिक १० हजार हुँदै २० हजार नाघेको भट्टराईले बताए । ‘एकैचोटि चाप बढेकाले केही समस्या देखिएको हो,’ उनले भने, ‘आयोगले यसलाई समाधान गर्दै आएको छ ।’ उनले चाप देखिएका स्थानमा कोटा थप्नेदेखि, उपकरण र जनशक्ति पनि थपिएको उनले बताए ।

नयाँ मतदाताहरूको सबैभन्दा बढी चाप काठमाडौंमा देखिएको छ । यहाँ दैनिक फोटो खिचाउनेको संख्या २ हजार हाराहारी छ । कार्यालय प्रमुख ठाकुर भट्टराई चाप बढेपछि राति अबेरसम्म काम गरिएको बताउँछन् । सोमबार १ हजार ९ सय २० र आइतबार १ हजार ६ सय १० जनाले फोटो खिचाएका छन् । एक साता अगाडिसम्म दैनिक ७ सयदेखि एक हजार संख्यामा मानिसहरू फोटो खिचाउन आउने गरेकामा अहिले त्यो संख्या दोब्बर पुगेको उनले उल्लेख गरे । गत महिना तीनवटा कम्प्युटरबाट थालिएको काम अहिले ८ वटा कम्प्युटर र त्यही अनुपातमा थपिएका कर्मचारीबाट गर्दा पनि भ्याइनभ्याई भएको उनले बताए । अनलाइन ‘अप्वाइन्टमेन्ट’ नपाउने सबैभन्दा बढी गुनासो यही कार्यालयलाई लिएर छ । कार्यालय प्रुमख भट्टराई दैनिक कोटा थप्दै लगेको बताउँछन् ।

चाप बढेकाले सर्भर डाउन हुँदा अनलाइन फाराम भर्न समस्या देखिने हुँदा पटकपटक प्रयास गर्नुपर्ने अवस्था देखिएको उनले बताए । आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन अत्यधिक चाप रहेका जिल्ला निर्वाचन कार्यालयमा दुई सिफ्टमा दैनिक १२ घण्टा काम गरिने जनाएको छ । 

मंगलबार भने देशैभर २३ हजार नयाँ मतदाता थपिएका छन् । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर दैनिक ८ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा ६–६ घण्टाको दुई सिफ्टमा मतदाता नामावलीका लागि बायोमेट्रिक संकलन तथा फोटो खिच्ने व्यवस्था मिलाइएको भनेको छ । काठमाडौं उपत्यका भित्रका तीन जिल्लामा मतदाताका चाप बढी देखिएका छन् । यी स्थानमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको आयोगले जनाएको छ । अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउन पाउने गरी आयोगले पत्राचार गरेको छ ।

कान्तिपुर

Link copied successfully