आईजीपी प्रतिस्पर्धामा चार एआईजी दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह
What you should know
काठमाडौँ — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ सेवा अवधिका कारण केही दिनमै अवकाशमा जाँदै छन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी खापुङ बुधबारबाट अवकाशमा जाने भएका हुन् । गत १९ भदौमा ३२औं प्रहरी प्रमुख बनेका खापुङ अवकाशमा जाने भएपछि सरकार भावी आईजीपी चयन प्रक्रियामा जुटेको छ ।
आईजीपी प्रतिस्पर्धामा चार एआईजी छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्की, प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख मनोज केसी र प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सिद्धिविक्रम शाह प्रतिस्पर्धामा छन् ।
चार एआईजीमध्ये कार्की, अधिकारी र केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । तीनै जना गत १५ वैशाखमा डीआईजीबाट एआईजीमा बढुवा भएका हुन् । त्यस बेला हालका महानिरीक्षक खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मासँगै कार्की, अधिकारी र केसी बढुवा भएका थिए । खापुङ बुधबारदेखि अवकाशमा जानेछन् । अरू दुई एआईजी आचार्य र शर्मा यसअघि नै अवकाशमा गइसकेका छन् ।
शाह गत १५ जेठमा एआईजीमा बढुवा भएका थिए । शाह २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरी पछि नेपाल प्रहरीमा स्थानान्तरण भएका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले भावी प्रहरी महानिरीक्षकको निधो गर्ने छ ।
‘अन्यथा नभएमा बैठकमा आईजीपी नियुक्तिको प्रस्ताव पेस हुनेछ किनकि आईजीपीको पद एक दिन पनि खाली राख्ने अवस्था छैन, अनावश्यक समय लिएमा सरकारले विधि मिचेर खेलकुदमा लागेको सन्देश जानेछ,’ मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।
प्रहरीमा उपल्लो तहमा हुने नियुक्तिमा सधैं सत्ता–शक्तिको चलखेल हुने गरेको छ, जसका कारण गुटबन्दी र शक्तिकेन्द्र धाउने प्रवृत्ति बढेको छ । यो पटक पनि सरकारले खापुङ अवकाशमा जाने दिन सकिनै लाग्दा पनि नेतृत्वको टुंगो लगाउन सकेको छैन । यसले जेन–जी विद्रोहपछि पनि सरकार कार्यशैलीमा परिवर्तनको सन्देश प्रवाह भएको छैन ।
