सोमबार निर्णायक वार्ताको अपेक्षा गरिएको भए पनि बैठक निष्कर्षविहीन रह्यो
What you should know
सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिबीच सोमबार भएको छलफल निष्कर्षविहीन बनेको छ । आइतबार सम्पन्न प्रारम्भिक छलफलबाट सहमति नजुटेपछि सोमबार बिहान ११ बजेदेखि मन्त्रालयमा पुनः बैठक बसेको थियो।
तर, दुई दिनसम्म चलेका छलफलहरू पनि कुनै ठोस निर्णयबिना सकिएका छन्।
मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यसहितको छलफलमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक जगन्नाथ दास, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधि तथा जेन–जी प्रतिनिधिहरू सहभागी थिए।
संघर्ष समितिका प्रतिनिधि राजकुमार भण्डारीका अनुसार मन्त्रालयमा सोमबार निर्णायक वार्ताको अपेक्षा गरिएको भए पनि बैठक निष्कर्षविहीन रह्यो।'विगतका सहमति कार्यान्वयन गर्ने मुख्य मागसहित हामी छलफलमा सहभागी भएका थियौं, तर कुनै ठोस निष्कर्षमा पुग्न सकेनौं,'उनले भने ।
उता हेलम्बु क्षेत्रका स्थानीय विष्णु खड्काले पनि मुहान क्षेत्रबारे उठाइएको आवाज पुराना सहमतिहरू कार्यान्वयन गर्नकै लागि भएको बताए। सोमबारको छलफलमा सचिव बज्राचार्यसहितका प्रतिनिधिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार महाशाखाबाट सहसचिव टोली बनाएर अध्ययन गरेर काम गर्ने प्रस्ताव राखेका थिए । 'तर हामीले सचिवको अगुवाइमा टोली बनाउने माग राखेका छौँ,जुन मन्त्रिपरिषद्बाट पास हुनुपर्ने रहेछ, 'उनले भने ।
उनले मेलम्चीको मुहान रहरले नभई बाढीपीडितका अधिकार र सुरक्षाका लागि बन्द गरिएको बताए । मेलम्ची खर्च विवरण पारदर्शिता ,भ्रष्टाचार सहभागी देखिएकाको छानबिन , ०७७ सालदेखि पानी ल्याएको कति आम्दानी ,सामाजिक न्यायको कामबारे आवाज उठाइएका थिए ।
मेलम्ची-अम्बाथान २५ करोड बढाएर एक अर्ब कालोपत्रे गर्नुपर्ने । प्रभावितलाई १५ प्रतिशत आरक्षण कोटा चाहिनेजस्ता माग थिए । छलफलमा संघर्ष समितिका पदाधिकारी, स्थानीय भेन्डर, घरजग्गा भाडावाला तथा सामाजिक उत्थान कार्यक्रम (सुप) का प्रतिनिधिहरू पनि सहभागी थिए।सरकार र संघर्ष समितिबीचको अर्को बैठक मंगलबार बस्नेछ ।
