घरायसी कामको योगदानलाई उजागर गर्न माग

नेपाल मानव अधिकार चलचित्र केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्रियामा बोल्दै सरोकारवालाहरुले कुल ग्राहस्थ उत्पादन बराबरको घरायसी श्रमको अनुपात निकाल्नुपर्ने बताए ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Demand to highlight the contribution of household work

What you should know

काठमाडौँ — घरायसी तथा सेवामूलक कार्यको योगदानलाई उजागर गरेर यस कार्यलाई व्यवस्थित गर्नुपर्ने माग सरोकारवालाहरुले गरेका छन् ।

नेपाल मानव अधिकार चलचित्र केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्रियामा बोल्दै उनीहरुले कुल ग्राहस्थ उत्पादन बराबरको घरायसी श्रमको अनुपात निकाल्नुपर्ने बताए ।

अर्थविद् डा. विकल श्रेष्ठले घरायसी तथा सेवामूलक कार्यको योगदानको हिसाब अहिलेसम्म देशले नराखेको बताए । ‘जबसम्म कुनै पनि मुद्दा देशको अर्थतन्त्रसँग जोडिँदैन । तबसम्म त्यसले महत्त्व पाउन गाह्रो हुन्छ । आजको अवस्थामा प्रत्यक्ष रुपमा हेर्ने हो भने हाम्रो अर्थतन्त्रमा यसको योगदान शून्य बराबर छ,’ उनले भने, ‘किनकी यसबारे अध्ययन नै भएको छैन र यसलाई व्यवसायमा जोड्न पनि सकिँदैन ।’

उनले थपे, ‘यसको महत्त्व स्थापित गर्ने उपाय पनि छ । हामीले अपर्च्युनिटी कस्ट निकालेर कुल जीडीपीसँग यसको तुलना गर्न सक्छौँ । जसरी हामीले रेमिट्यान्सको हिसाब निकालेर त्यसलाई अर्थतन्त्रसँग तुलना गर्ने गरेका छौं ।’

त्यसैगरी सामाजिक अभियन्ता ऋतु भट्टले घरायसी कामलाई तथ्यांकमा हेरेर मात्रै नपुग्ने बताइन् । ‘हामीले घरायसी कामलाई अर्थतन्त्रसँग जोडेर मात्रै हेर्न पनि मिल्दैन । हाम्रो पूर्वीय दर्शनले भावना र अध्यात्ममा जोड दिन्छ । र, भावनात्मक रूपमा घरायसी तथा सेवामूलक कामको योगदान ठूलो छ,’ उनले भनिन्,‘घरमा गरिने साना साना कामले हाम्रो जीवनलाई आकार दिन निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसको महत्त्व पहिले हामी आफैंले बुझ्नुपर्छ र त्यसपछि अरुलाई पनि गराउनुपर्छ ।’

मानवअधिकार चलचित्र केन्द्रका पूर्वअध्यक्ष विष्णु खत्रीले नेपालमा पुरुषको दाँजोमा महिलाहरू घरायसी काममा धेरै सक्रिय हुने गरेको पाइएको बताए । उनले भने, ‘महिलाले औसतमा प्रतिसाता २९ घण्टा र पुरुषले ५ घण्टामात्रै घरायसी काममा बिताउने गरेको पाइयो । यसले महिलाहरुको महत्त्व उजागर गर्छ । तर हामीले यसबारे अझै विस्तृत अध्ययन गर्न जरुरी छ । त्यस्तै, पुरुषहरुले पनि घरायसी काममा आफ्नो संलग्नतालाई बढाउनुपर्ने छ ।’

वैश्विक अर्थतन्त्रमा सेवामूलक कार्यको योगदानको हिस्सा ठूलो रहेको र नेपालमा यसको प्रभाव बढ्दै जाने प्रक्षेपण रहेको उनले बताए । उनले भने,‘आज हामीसँग युवा छन् । तर अबको १५–२० वर्षमा ज्येष्ठ नागरिकको संख्या धेरै हुनेछ । त्यतिबेला उनीहरुको सेवा गर्नका लागि ठूलो संख्यामा जनशक्ति  चाहिने छ । त्यहीकारण सेवामूलक अर्थतन्त्रबारे बहस र छलफल बढाउन जरुरी छ ।’

भान्छा, सरसफाइ, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, पाहुनाको सेवा, गाईवस्तु रेखदेख, कृषि, चाडपर्व, पूजापाठ, सामाजिक कार्यलगायतलाई सेवामूलक अर्थतन्त्रमा राखिएको उनले बताए । उनले यसको महत्त्वलाई आर्थिक पाटोसँग तुलना गरेर यसको महत्त्व उजागर गर्न जरुरी रहेको बताए ।

क्यानेडियन हाई कमिसन, सीएअफएलआई परियोजनाको सहकार्यमा मानवअधिकार चलचित्र केन्द्र र उन्नति नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघकी संयुक्ता भट्टराई, पौरखी नेपालकी मञ्जु गुरुङ, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अशोक रानालगायतले आ–आफ्नो धारणा राखेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully