नेपाल मानव अधिकार चलचित्र केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्रियामा बोल्दै सरोकारवालाहरुले कुल ग्राहस्थ उत्पादन बराबरको घरायसी श्रमको अनुपात निकाल्नुपर्ने बताए ।
What you should know
काठमाडौँ — घरायसी तथा सेवामूलक कार्यको योगदानलाई उजागर गरेर यस कार्यलाई व्यवस्थित गर्नुपर्ने माग सरोकारवालाहरुले गरेका छन् ।
नेपाल मानव अधिकार चलचित्र केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्रियामा बोल्दै उनीहरुले कुल ग्राहस्थ उत्पादन बराबरको घरायसी श्रमको अनुपात निकाल्नुपर्ने बताए ।
अर्थविद् डा. विकल श्रेष्ठले घरायसी तथा सेवामूलक कार्यको योगदानको हिसाब अहिलेसम्म देशले नराखेको बताए । ‘जबसम्म कुनै पनि मुद्दा देशको अर्थतन्त्रसँग जोडिँदैन । तबसम्म त्यसले महत्त्व पाउन गाह्रो हुन्छ । आजको अवस्थामा प्रत्यक्ष रुपमा हेर्ने हो भने हाम्रो अर्थतन्त्रमा यसको योगदान शून्य बराबर छ,’ उनले भने, ‘किनकी यसबारे अध्ययन नै भएको छैन र यसलाई व्यवसायमा जोड्न पनि सकिँदैन ।’
उनले थपे, ‘यसको महत्त्व स्थापित गर्ने उपाय पनि छ । हामीले अपर्च्युनिटी कस्ट निकालेर कुल जीडीपीसँग यसको तुलना गर्न सक्छौँ । जसरी हामीले रेमिट्यान्सको हिसाब निकालेर त्यसलाई अर्थतन्त्रसँग तुलना गर्ने गरेका छौं ।’
त्यसैगरी सामाजिक अभियन्ता ऋतु भट्टले घरायसी कामलाई तथ्यांकमा हेरेर मात्रै नपुग्ने बताइन् । ‘हामीले घरायसी कामलाई अर्थतन्त्रसँग जोडेर मात्रै हेर्न पनि मिल्दैन । हाम्रो पूर्वीय दर्शनले भावना र अध्यात्ममा जोड दिन्छ । र, भावनात्मक रूपमा घरायसी तथा सेवामूलक कामको योगदान ठूलो छ,’ उनले भनिन्,‘घरमा गरिने साना साना कामले हाम्रो जीवनलाई आकार दिन निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसको महत्त्व पहिले हामी आफैंले बुझ्नुपर्छ र त्यसपछि अरुलाई पनि गराउनुपर्छ ।’
मानवअधिकार चलचित्र केन्द्रका पूर्वअध्यक्ष विष्णु खत्रीले नेपालमा पुरुषको दाँजोमा महिलाहरू घरायसी काममा धेरै सक्रिय हुने गरेको पाइएको बताए । उनले भने, ‘महिलाले औसतमा प्रतिसाता २९ घण्टा र पुरुषले ५ घण्टामात्रै घरायसी काममा बिताउने गरेको पाइयो । यसले महिलाहरुको महत्त्व उजागर गर्छ । तर हामीले यसबारे अझै विस्तृत अध्ययन गर्न जरुरी छ । त्यस्तै, पुरुषहरुले पनि घरायसी काममा आफ्नो संलग्नतालाई बढाउनुपर्ने छ ।’
वैश्विक अर्थतन्त्रमा सेवामूलक कार्यको योगदानको हिस्सा ठूलो रहेको र नेपालमा यसको प्रभाव बढ्दै जाने प्रक्षेपण रहेको उनले बताए । उनले भने,‘आज हामीसँग युवा छन् । तर अबको १५–२० वर्षमा ज्येष्ठ नागरिकको संख्या धेरै हुनेछ । त्यतिबेला उनीहरुको सेवा गर्नका लागि ठूलो संख्यामा जनशक्ति चाहिने छ । त्यहीकारण सेवामूलक अर्थतन्त्रबारे बहस र छलफल बढाउन जरुरी छ ।’
भान्छा, सरसफाइ, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, पाहुनाको सेवा, गाईवस्तु रेखदेख, कृषि, चाडपर्व, पूजापाठ, सामाजिक कार्यलगायतलाई सेवामूलक अर्थतन्त्रमा राखिएको उनले बताए । उनले यसको महत्त्वलाई आर्थिक पाटोसँग तुलना गरेर यसको महत्त्व उजागर गर्न जरुरी रहेको बताए ।
क्यानेडियन हाई कमिसन, सीएअफएलआई परियोजनाको सहकार्यमा मानवअधिकार चलचित्र केन्द्र र उन्नति नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघकी संयुक्ता भट्टराई, पौरखी नेपालकी मञ्जु गुरुङ, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अशोक रानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।
