२०७७ सालदेखि चार लेनमा विस्तार भइरहेको सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मकाे सडक यति सुस्त गतिमा काम भइरहेको छ कि तीन वर्षमा सम्पन्न भइसक्नुपर्ने पाँच वर्ष नाघिसक्दा पनि अधुरै छ ।
What you should know
सिरहा — सिरहाको व्यापारिक केन्द्र मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग छेउका पसलमा सामान त देखिन्छन् । तर, ग्राहक कमै आउँछन् । पसलमा आएका ग्राहक प्रायः फर्केर जान्छन् । कारण हो, पसलमा राखिएका नयाँ सामान पनि धुलोले पुरानोजस्तो देखिन्छ ।
लहानबाट साइकल हाँक्दै बन्दीपुरमा रहेकी छोरीकहाँ जाँदै गरेका लहान नगरपालिका–१३ का ५२ वर्षीय बिलट महतो मिर्चैया आइपुग्दा शरीर र लुगा धुलोले निकै फोहोर भइसकेको थियो । यसरी व्यापारीदेखि सर्वसाधारणसम्म धुलोका कारण आक्रान्त बनेको मिर्चैयामा मात्र होइन, सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मै हो । धुलोले मात्र होइन, थोरै पानी पर्दा पनि यो सडक यात्रा गर्न लायक रहँदैन ।
पूर्वपश्चिम राजमार्गकाे याे खण्डमा गुड्ने गाडी र यात्रु हिलाे र धुलाेले चिनिनसक्नु हुन्छन् । धुलो र हिलोको यस्तो समस्या एक–दुई महिनादेखि भने होइन, पाँच वर्षदेखिको हो । राजमार्गअन्तर्गतको सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको खण्ड २०७७ सालदेखि नै चार लेनमा विस्तार भइरहेको छ । यति सुस्त गतिमा निर्माणको काम भइरहेको छ कि तीन वर्षमा सम्पन्न भइसक्नुपर्ने यो राजमार्ग पाँच वर्ष नाघिसक्दा पनि अधुरै छ ।
यो खण्ड विस्तारका लागि चिनियाँ निर्माण कम्पनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले २०७७ कात्तिक १३ मै १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का पाएको थियो । पश्चिम र पूर्व गरी दुई खण्डमा बाँडेर राजमार्ग विस्तारको काम भइरहेको छ ।
जसअनुसार पश्चिम खण्डमा सिरहाको कमलादेखि सप्तरीको कुसहासम्म ४७.४० किलोमिटर पर्छ भने पूर्व खण्डमा कुसहादेखि कञ्चनपुरसम्म ३९.४२ किलोमिटर पर्छ । सरकारसँग भएको सम्झौताअनुसार कुल ८६.८२ किलोमिटरको यो राजमार्ग २०८० कात्तिक ११ भित्रै निर्माण भइसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले तोकिएको मितिमा काम सम्पन्न नगरेपछि सरकारले पहिलोपल्ट २०८१ पुस १० सम्मका लागि म्याद थपिदिएको थियो ।
यो अवधिमा पनि काम गर्न नसकेको निर्माण कम्पनीलाई सरकारले दोस्रोपल्ट पुनः २०८२ पुस १६ गते सम्मको म्याद थपिदिएको थियो । तर, दोस्रोपल्ट थपिएको म्याद पनि सक्न अब करिब दुई महिना मात्र बाँकी छँदा एक तिहाई काम गर्नै बाँकी छ । कञ्चनपुर कमला सडक योजना, पश्चिम खण्डका अनुसार यो खण्डको हालसम्मको भौतिक प्रगति ६७ प्रतिशत हो ।
सरकारले दिएको समयमा काम नसकिए पनि ठीक ढंगले काम हुने हो भने आगामी आर्थिक वर्षको असारसम्म काम सम्पन्न हुनसक्ने कञ्चनपुर कमला सडक योजना पश्चिम खण्डका प्रमुख उज्जवल श्रेष्ठ बताउँछन् । ‘यदि राम्ररी काम हुने हो भने चालु आर्थिक वर्षको असारसम्म काम सम्पन्न हुन्छ, होइन भने भन्न सकिन्न,’ श्रेष्ठले भने, ‘हामीले ठेकेदारलाई निरन्तर घच्घचाएका छौं, तर कहिले उनीहरुमै समस्या हुन्छ, कहिले हामीमा ।’
उनका अनुसार राजमार्ग विस्तारको काम समयमै सम्पन्न हुन नसक्नुमा मुख्यतः चार वटा समस्या छन् । राजमार्ग क्षेत्रभित्रमा रहेका पोललगायतका संरचना सरोकारवालाले समयमै नहटाइदिनु, नदीजन्य सामग्रीको अभाव भइरहनु तथा ठेकेदार कम्पनीले प्रतिबद्धता गरेअनुसार पर्याप्त रकम प्रवाह गर्न नसक्नु र स्थानीयले चिनियाँ कामदारलाई पटकपटक दुर्व्यवहार गर्नु मुख्य समस्या रहेको श्रेष्ठले बताए ।
राजमार्ग विस्तारको ठेक्का सम्झौता भएलगत्तै आफूहरु राजमार्ग क्षेत्रलाई खाली गर्ने काममा लागेको भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोल हटाउन सधैं आनाकानी गरेको उनको गुनासो छ । उनका अनुसार लहानमा १५, गोलबजारमा ६० र चोहर्वामा २१ वटा पोल अझै सार्न बाँकी नै छ । यस्तै समस्याका कारण निर्माणको काम चल्ने र बन्द हुने क्रम चल्दै आएको यो राजमार्गमा छठयता फेरि काम भइरहेको छ ।
यसबीचमा ठेकेदार कम्पनीले काम गर्नका लागि रकम नपठाउँदा काम ठप्प हुन पुगेको र रकम पठाएपछि पुनः काम सुरु भएको श्रेष्ठले बताए । ‘हामीले पटकपटक ताकेता गर्दा कहिले पोल हट्दैन, कहिले उनीहरुमाथि दुर्व्यवहार हुन्छ, अनि कहिले उनीहरु नै ढिलासुस्ती गर्छन्,’ उनले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हो, हामी त खासगरी समन्वय गर्ने भूमिकामा मात्रै छौं, यसमा सबैको साथ र सहयोग जरुरी छ ।’
पश्चिम खण्डमा ४७.४० किलोमिटरमध्ये करिब साढे ३१ किलोमिटर सडकमा कालोपत्रे भइसकेको कार्यालयले जनाएको छ । यस्तै, यस खण्डमा २५ वटा पुल निर्माण गर्नुपर्नेमा २५ वटैमा ढलानको काम सम्पन्न भई रेलिङ, रंगरोगनलगायतका काम गर्न बाँकी छ ।
कार्यालयका अनुसार लहानमा एउटा ओभरपास तथा तीन अन्डरपास निर्माण हुनेछ भने मिर्चैयामा एउटा ओभरपास र गोलबजारमा एक अन्डरपास निर्माण हुनेछ । जसमध्ये मिर्चैया र लहानमा ओभरपास तथा अन्डरपास निर्माणको काम थालिएको छ । गोलबजारमा भने डिजाइनमा दुई वटा अन्डरपास भए पनि स्थानीयबाट एउटै बनाउनुपर्ने माग भएको र यसैकारण अगाडि बढ्न नसकेको काम अब अगाडि बढाउने तयारी छ ।
पूर्वी खण्डमा ६४ प्रतिशत काम
सप्तरीतिर पूर्वी खण्डमा भने हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको कञ्चनपुर कमला सडक योजना पूर्वी खण्डले जनाएको छ । यस खण्डमा ३९.४२ किलोमिटरमध्ये विभिन्न स्थानमा गरी दुबै भागमा करिब २० किलोमिटर सडकमा कालोपत्र भएको कार्यालयका प्रमुख निरज शाक्यले बताए । यस्तै, यस खण्डमा ३० वटा पुल निर्माण गर्नुपर्नेमा २८ वटामा ढलानको काम सम्पन्न भएर रेलिङ, रंगरोगनलगायतका काम गर्न बााकी छ । दुई वटा पुल भने निर्माणको प्रक्रियामा छ । शाक्यका अनुसार यस खण्डमा सप्तरीको रुपनीमा दुई वटा अन्डरपास निर्माण हुनेछ ।
यात्रुदेखि व्यापारीसम्म मारमा
राजमार्ग विस्तार भएको ढिलाईका कारण सर्वसाधारण पनि आजित बनेका छन् । यतिमात्र होइन, कुनै बेला गुल्जार रहने राजमार्ग क्षेत्रका अधिकांश बजारको व्यापार ओरालो लागेको छ । किनकि, सहरी क्षेत्रमा कामको गति झन् सुस्त छ । यसबाट सबैभन्दा धेरै सिरहाका मिर्चैया, लहान र गोलबजार प्रभावित भएका छन् भने सप्तरी खण्डको राजमार्ग क्षेत्रका अधिकांश बजारको हालत पनि उस्तै छ । ‘सडकमा धुलो र हिलोले गर्दा कमै ग्राहक आउँछन्, आए पनि धुलो लागेको देखेपछि ग्राहकले सामान किन्दैनन्,’ मिर्चैयाका व्यवसायी भरत महासेठ भन्छन्, ‘व्यापारीहरु घरसटरको भाडा पनि तिर्न नसक्ने अवस्थामा पुगिसके ।’
यस्तै, राजमार्ग नबन्दा यस खण्डमा दुर्घटना बढ्दाे छ भने धुँवा-धुलोले गर्दा स्वासप्रश्वास, छाला, आँखालगायतका बिरामी पनि बढेका छन् । धुँवाधुलोबाट सिर्जित प्रदूषणका कारण मानिसको रगतमा अक्सिजनको मात्रा घटाउने र यसले मुटु तथा मस्तिष्कमै दीर्घकालीन असर पार्ने चिकित्सक बताउँछन् । ‘यो राजमार्गमा दुर्घटना भएर मान्छे अस्पताल नआएको दिन हुँदैन, अर्कोतिर स्वासप्रश्वास, आँखा, छालालगायतका बिरामी पनि उत्तिकै आउँछन्, यो धुँवाधुलोले गर्दा हो,’ मिर्चैया अस्पतालकी मेसु डा. सारिका गोइत भन्छिन्, ‘यस्तै रहने हो भने यसले मानिसको मुटु तथा मस्तिष्कमै दीर्घकालीन असर पार्छ ।’
