कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी संकटपूर्ण प्रणालीप्रति सजग रहेको पनि उनले बताइन् ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Government will leave no stone unturned to establish rule of law: Prime Minister Karki

काठमाडौँ — अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् । 

काठमाडौंमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले ‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त भएको उल्लेख गरिन् । 

राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी संकटपूर्ण प्रणालीप्रति सजग रहेको पनि उनले बताइन् ।

सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको जिकिर उनको थियो । 

‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त हो । राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी संकटपूर्ण प्रणालीप्रति हामी सजग छौँ । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन । सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको छ,' उनले भनिन् । 

प्रधानमन्त्री कार्कीले उद्योग व्यवसायबिना देश नबन्ने भन्दै उद्योगीको मनोबल नउठेसम्म अर्थ व्यवस्था उठ्न नसक्ने बताइन् ।

'उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसंख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन् । तसर्थ, उद्योग व्यवसायबिना देश बन्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन,’ उनले भनिन् ।

कान्तिपुर

Link copied successfully