देवीप्रकाश भट्टचनमाथि अनुसन्धानका लागि प्रभु बैंकका केही कागजात नियन्त्रणमा*

राष्ट्र बैंक र सीआईबीका प्रतिनिधिसहितको टोली शुक्रबार साँझ काठमाडौँको बिजुलीबजारस्थित बैंकको कार्यालय पुगेको थियो। टोलीले कार्यालयबाट भट्टचन प्रकरणमा अनुसन्धानका लागि आवश्यक कागजातहरू लिएको हो।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Some documents of Prabhu Bank seized for investigation against Devi Prakash Bhattachan*

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनमाथि अनुसन्धानका क्रममा प्रभु बैंकका केही कागजातहरू नियन्त्रणमा लिएको छ।

राष्ट्र बैंक र सीआईबीका प्रतिनिधिसहितको टोली शुक्रबार साँझ काठमाडौँको बिजुलीबजारस्थित बैंकको कार्यालय पुगेको थियो। एक अधिकारीका अनुसार टोलीले कार्यालयबाट भट्टचन प्रकरणमा अनुसन्धानका लागि आवश्यक कागजातहरू लिएको हो।

सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। उनी एमालेका पूर्वसांसद समेत हुन्। ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।

११ असोज २०८१ मा सरकारी वकिलले अनुसन्धान अघि बढाउन भन्दै जाहेरी प्रहरीलाई पठाइदिएको थियो । यद्यपि, प्रक्रिया त्यत्तिकै अड्किएको थियो । अहिले सीआईबीले त्यही पुरानो घटनाको अनुसन्धानलाई अघि बढाएको ती अधिकृतले बताए ।

*यसअघि अन्यथा भएकाले सच्याइएको छ।

कान्तिपुर

Link copied successfully