आयोगका अनुसार प्रहरीको बयान सकिएपछि चारवटै सुरक्षा निकायका प्रमुख, सचिव र प्रमुख जिल्ला अधिकारी, त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी छ।
What you should know
काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानविन गर्न बनेको जाँचबुझ आयोगले सम्बद्ध व्यक्तिहरूको धमाधम बयान लिन थालेको छ। आयोगले २३ र २४ भदौका घटनामा केन्द्रीत भएर बयान लिइरहेको हो।
आइतबारबाट सुरु गरिएको बयानलाई दुई सातासम्म निरन्तर राख्दै प्रहरी जवानदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसम्म पुर्याएर टुङ्गाउने तयारी छ।
करिब तीन महिनाको समय पाएको आयोगले पहिलो एक महिना भने प्रहरीसँग आन्दोलनका बेला फिल्डमा खटिएकादेखि जिम्मेवारीमा रहेका मानिसहरूको नामावली खोज्नमै बितायो। तर आयोगले बिहीबार मात्र प्रहरीको पूर्ण विवरण प्राप्त गरेको थियो।
आयोगले त्यसअघि नख्खु कारागारका प्रमुख सत्यराज जोशी, नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको बयान लिएको थियो भने आयोगको टोली नख्खु कारागार भ्रमणमा पनि गएको थियो।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार नख्खु कारागारका प्रमुख सत्यराज जोशीको बयान लिँदै काठमाडौं केन्द्रित अनुसन्धान सुरु गरेको थियो। जाँचबुझ आयोगका अध्यक्ष कार्कीले विभिन्न जिल्लाको वस्तुस्थिति अध्ययनपछि अब काठमाडौं केन्द्रित अनुसन्धान र सोधपुछ सुरु गरिएको बताए।
५ असोजमा मन्त्रिपरिषद्ले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगका दुई सदस्यमा विज्ञानराज शर्मा र विपी भण्डारी छन्। जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, जेल तोडेर भाग्ने क्रममा, आगजनीमा परेर तथा प्रहरीसँग सम्बन्धित घटनामा ७६ जनाको मृत्यु भएको थियो।
ठूलो संख्यामा सरकारी, निजी र व्यापारिक संरचनामा लुटपाट र आगजनी भएको थियो। आयोगले काठमाडौं केन्द्रित अनुसन्धान सुरु गर्नु अघि देशभरका धेरै क्षति पुगेका क्षेत्रमा भ्रमण गरेको थियो।
प्रहरी जवानदेखि आईजीपीसम्म बयानमा बोलाउने सूचीमा
आयोगका अध्यक्ष कार्कीका अनुसार जाँचबुझ आयोगको सूचीमा २३ र २४ भदौमा फिल्डमा खटिएका प्रहरी जवानदेखि आईजीपीसम्मको नाम छ। आयोगसँग समय कम भएकाले अब दैनिक रूपमा बयान लिने कार्यसूची रहेको उनले बताए।
आयोगले २३ गते माइतीघर मण्डलादेखि तिनकुनेसम्म र अन्य महत्वपूर्ण स्थानमा खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मको सूची प्राप्त गर्नमा एक महिना खर्चेपछि अब ढिलाई गर्ने समय नभएको दावी अध्यक्ष कार्कीले गरे। ‘बल्ल सूची प्राप्त भएको छ। अब धमाधम बयानमात्र हुनेछ,’ अध्यक्ष कार्कीले भने। ‘आयोगले प्राप्त गरेको क्षेत्राधिकारभित्र रहेर जेन-जी घटनाका क्रममा जोडिने सबैसँग बयान लिन्छ। कानुनले कसैलाई छुट दिदैन।’
प्रहरी, सशस्त्र र अन्य सुरक्षा निकायका फिल्डमा खटिएकादेखि कमाण्डर, जिम्मेवार तह र निर्देशन दिने तहसम्मको बयान लिने तयारी आयोगको छ। आयोगले पहिलो चरणमा फिल्डमा खटिएका प्रहरीहरूसँग २३ गते कसरी गोली चल्ने अवस्था सिर्जना भयो र २४ गते कसरी तोडफोडमा मोडियो भन्ने बारे बयान लिने तयारी गरेको छ।
फिल्डमा खटिएका सुरक्षाकर्मीपछि उनीहरूलाई निर्देशन दिने अधिकृत हुँदै प्रहरी नेतृत्व आईजीपीसम्म पुग्ने र सुरक्षा परिषद्का सदस्य तथा प्रमुख जिल्ला अधिकारीहरूलाई बयान लिने आयोगको तयारी छ।
आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीहरू, गृह सचिव, गृहमन्त्री रमेश लेखक हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ। २४ भदौमा संसद्, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, होटल, मिडिया हाउस, भाटभटेनीलगायत सरकारी तथा निजी संरचनामा तोडफोड, लुटपाट र आगजनीको जाँचबुझ र संलग्नहरूलाई बयानमा बोलाउनेबारे आयोगले विधि बनाइसकेको छैन।
शुरुमा २३ गतेको घटना अनि सरकारी संरचनामा भएको क्षति बारे बयान लिने, त्यसपछि व्यक्तिगत सम्पत्तिमा भएको क्षतिबारे आयोगले काम गर्ने बताए। यही क्रममा आयोगले शुक्रबार केही प्रहरी अधिकारीहरूको बयान लिएको छ।
जेन-जी आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संसद भवनको कमाण्डरका रूपमा खटिएकी डीएसपी एलिजा गिरीको बयान लिइएको छ। त्यस्तै कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापाको बयान लिइएको छ। २३ गते कसरी प्रदर्शनकारीहरू संसद भवनमा प्रवेश गरे र गोली चल्यो भन्नेबारे आयोगले सोधेको थियो।
विहिबार डीएसपी सुन्दर तिवारीको बयान लिइएको छ। त्यस्तै आयोगले बयानका लागि काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलाएको छ। त्यसपछि तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की लगायतको बयान लिँदै प्रहरी महानिरीक्षकसम्म पुग्ने तयारी छ।
नख्खु घटनामा रवि र जोशीले के भने ?
आयोगले बयान लिने कार्य नख्खु कारागारका प्रमुख सत्यराज जोशीबाट सुरु गरेको थियो। त्यसपछि थुनामा रहेका रास्वपाका सभापति लामिछानेलाई कार्यालयमै बोलाएर बयान लिइएको थियो।
जोशीलाई सोधिएको थियो कि उक्त दिन कसरी कारागार तोडफोडदेखि कैदीबन्दी रिहा हुने अवस्था सिर्जना भयो। कतिपय कैदीहरू भाग्ने स्थिति कसरी भयो र रास्वपा सभापति लामिछानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय साहसहितका कैदीहरूको बारेमा प्रश्न सोधिएको थियो।
जोशीले भने कि लामिछानेको हकमा परिवारलाई जिम्मा लगाउने प्रक्रिया अपनाइएको, आफूलाई पत्र ल्याएर हस्ताक्षर गर्न दबाव दिएको र ज्यान जोखिममा पर्न सक्ने अवस्था भएकाले हस्ताक्षर गर्न बाध्य भएको दावी गरेका छन्।
प्रदर्शन बढ्दै गएपछि असुरक्षा भएपछि केही कैदीलाई जिम्मा लगाएर पठाइएको र अधिकांश कैदी फरार भएको दावी उनले गरेका छन्।
आईजीपीले असहयोग गरेको ठहर, पाँच सय जरिवाना
आयोगले असोजको दोस्रो हप्तामा प्रहरीलाई २३ र २४ गते फिल्डमा खटिएका व्यक्ति देखि अधिकृतसम्म विवरण उपलब्ध गराउन पत्र लेखेको थियो। प्रहरी प्रधान कार्यालयले कुनै जवाफ नदिँदा आयोगले अध्यक्ष कार्कीको नाममा पत्र तयार पारे। अनुसन्धानमा निरन्तर असहयोग गरेको आरोपमा आईजीपीलाई पाँच सय रुपैयाँ जरिवानाको प्रस्ताव पनि गरिएको थियो।
जाँचबुझ आयोग ऐन, २०२६ को दफा ६ अनुसार जरिवाना वा माफी दिने प्रावधान उल्लेख गरिएको छ। अध्यक्ष कार्कीले भने, ‘कानुन सबैले मान्नुपर्छ। देशको पूर्व प्रधानमन्त्रीले पनि कानुन मान्नुपर्छ।’
ओली-लेखकको पालो कहिले ?
सुरुमा प्रहरीबाट र त्यसपछि जिम्मेवारी अनुसार बयान हुनेछ। अध्यक्ष कार्कीका अनुसार प्रहरीको बयान सकिएपछि चारवटै सुरक्षा निकायका प्रमुख, सचिव र प्रमुख जिल्ला अधिकारी, त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी छ।
करिब १५ दिनभित्रै तत्कालीन गृहमन्त्रीको बयान लिने तयारी छ, तर कति समय लाग्छ अहिले भन्न नसकिने अध्यक्ष कार्कीले बताए।
