राष्ट्रिय सभाअन्तर्गतका संसदीय समितिका कामकारबाहीका सम्बन्धमा पनि छलफल हुने
काठमाडौँ — संघीय संसद्को स्थायी सदन राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठकमा अन्तरिम सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि उपस्थित भएका छन् ।
शुक्रबार बिहान ९ बजेपछि सिंहदरबारमा सुरु भएको बैठकमा राष्ट्रिय सभाले गर्नपर्ने कामकारबाहीका सम्बन्धमा छलफल भइरहेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिए ।
राष्ट्रिय सभाका अध्यक्ष दाहालको अध्यक्षतामा बसिरहेको बैठकमा अघिल्लो अधिवेशनको समीक्षा, राष्ट्रिय सभाको दुई वर्षे पुस्तक प्रकाशन सम्बन्धमा छलफल भइरहेको छ ।
त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिका कामकारबाहीका सम्बन्धमा पनि छलफल हुने कार्यसूची रहेको छ । राष्ट्रिय सभामा रहेका विधेयकहरूका सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाको आगामी अधिवेशन आह्वान गर्नेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग यसअघि नै छलफल गरेका थिए । कार्यव्यवस्थाको बैठकमा पनि यससम्बन्धमा छलफल हुने बताइएको छ ।
