अध्यागमन विभागका अनुसार लोमान्थाङ गाउँपालिकाका अध्यक्षसहित १३ जनाको टोली शुक्रबार कोरला हुँदै ल्हासा प्रस्थान गरेको छ।
What you should know
काठमाडौँ — मुस्ताङ जिल्लाको कोरला अध्यागमन कार्यालयबाट शुक्रबारदेखि सेवा प्रवाह सुरु भएको छ।
कार्यालयको उद्घाटन भएको एक वर्षपछि पहिलोपटक १३ जना नेपाली चीन प्रस्थान गरेका छन् । पूर्व गृहमन्त्री रमेश लेखकले २०८१ कात्तिक १४ मा कार्यालयको उद्घाटन गरेका थिए । कोरला अध्यागमन कार्यालय परिसरमा बाक्लो हिउँ परेका कारण अध्यागमन सेवा लोमान्थाङ इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह गरिएको हो ।
अध्यागमन विभागका अनुसार लोमान्थाङ गाउँपालिकाका अध्यक्षसहित १३ जनाको टोली शुक्रबार कोरला हुँदै ल्हासा प्रस्थान गरेको छ। चीनको अध्यागमनले पनि चीन प्रवेशका लागि कोरलाबाट साधारण राहदानीमा भिसा जारी गरेको छ। यसअघि विभिन्न प्रयास गरिए तापनि सेवा सञ्चालन हुन सकेको थिएन।
नेपाल सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको कारण त्यस क्षेत्रमा प्रवेश गर्दा वा पदयात्रा गर्दा पहिलो १० दिनका लागि ५०० अमेरिकी डलर तिर्नुपर्छ। कोरला नाका हुँदै नेपाल प्रवेश गर्दा चिनियाँ नागरिकले समेत ५०० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। नेपाल सरकारले चिनियाँलाई पर्यटक भिसा भने एक भिसा वर्षमा १५० दिन निःशुल्क उपलब्ध गराउँदै आएको छ। निषेधित क्षेत्रमा प्रवेश गर्दा नै चिनियाँ नागरिक लगायत अन्य मुलुकका नागरिकले ५०० अमेरिकी डलर तिर्नुपर्ने भएकोले उक्त शुल्क पुनरावलोकनको लागि विभिन्न चरणमा छलफल भइरहेको छ।
कोरला नाकामा चीनतर्फ आधुनिक पूर्वाधारसहितको अध्यागमन, भन्सार, क्वारेन्टाइन, सुरक्षा लगायतका कार्यालय छन्। नेपालतर्फ भने कोरलामा अध्यागमन कार्यालय मात्र छ । क्वारेन्टाइन, भन्सार र सुरक्षा कार्यालयहरु भने करिब १५ किलोमिटरको दूरी वरै नेचुङमा रहेका छन् । यसका कारण भन्सार अध्यागमन र सुरक्षा निकायबाट एकीकृत रूपमा सेवा प्रवाह गर्न सहज छैन।
