दीपेन्द्र परिवारको खाँबो थिए । उनी नै थला परेपछि सबै जिम्मेवारी संगीताको काँधमा आएको छ । विदेश गएर पैसा कमाउने, ऋण तिर्ने, परिवार चलाउने दीपेन्द्रको सपना अहिले अस्पतालको बेडमा पल्टिरहेको छ ।
काठमाडौँ — ‘उहाँको त चमत्कारै भयो, कसैले बाँच्छ भन्ने सोचेका थिएनन्,’ अन्न्नपूर्ण न्यूरो अस्पतालको बेडमा पल्टिरहेका श्रीमान् दीपेन्द्र बस्नेतलाई हेर्दै संगीता खड्का भन्छिन् । दैलेख, भगवती गाउँपालिका–१ का दीपेन्द्रलाई गत भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा संसद् भवननिर पुग्दा गोली लागेको थियो ।
गोलीले टाउको छेडेका दीपेन्द्रको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरी ब्यारिकेटमा झुन्डिएको हृदयविदारक तस्बिर देख्दा धेरैले उनको मृत्यु भइसकेको अनुमान लगाएका थिए । तर, दीपेन्द्रले पुनर्जीवन पाए । अहिले आफन्त र श्रीमती संगीताका अघि थोरै मुस्कुराउन सक्ने भएका छन् । ‘पहिला हेरि त अहिले त धेरै सामान्य हुनुभएको हो,’ संगीता भन्छिन् ।
दीपेन्द्र र संगीताले ६ वर्षअघि बिहे गरे । उनीहरूको चार वर्षका छोरा छन् । छोराको मिर्गौलामा समस्या भएकाका कारण उपचारका लागि दैलेखबाट काठमाडौं धाइरहने भएपछि दीपेन्द्र दम्पती छोराको उपचार र भविष्यकै लागि काठमाडौं बस्न थाले ।
सुरुमा छोराको उपचार अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा गरिँदै थियो । अस्पतालले छोरालाई बचाउन नसकिने बताएपछि भयभित भएका दीपेन्द्र दम्पतीले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरे । ‘शिक्षण अस्पतालमा उपचार गरेपछि भने ऊ तंग्रिँदै गयो,’ संगीता भन्छिन् ।
छोराको उपचारका क्रममा १२ लाख भन्दा बढी ऋण लागेको थियो उनीहरूको । उनको बाँकी उपचार, परिवारको रेखदेख र ऋणको भार पनि दीपेन्द्रकै काँधमा थियो । एक वर्षदेखि उनी रोजगारीका लागि स्लोभागिया जाने तयारी गरिररहेका थिए । यही क्रममा उनी काठमाडौंमा भने इलेक्ट्रिसिटियनको काम गर्थे । यही काम गरेको ज्यालाले परिवार धानिरहेका थिए दीपेन्द्रले ।
भदौ २३ गते पनि दीपेन्द्रले आफू आन्दोलनमा जाने कुरा संगीतालाई बताएनन् ।‘साढे १२ बजे सुन्धारामा एकछिन काम छ भनेर जानुभएको थियो । साढे चार बजे मैले खाजा बनाइकेपछि खान आउनुहुन्छ भनेर फोन गरेँ । तर फोन अर्कै मान्छेले उठाउँदै भन्नुभयो– तपाईंको मान्छे गोली लागेर घाइते हुनुभएको छ । छिट्टै सिभिल अस्पताल आउनुहोला,’ संगीता सम्झन्छिन् ।
संगीता अत्तालिँदै सिभिल अस्पताल पुगिन् । दीपेन्द्र त्यहाँ थिएनन् । उनलाई तत्कालै अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको रहेछ । न्यूरोमा पुगेर सोधखोज गरेपछि उनलाई डाक्टरले दीपेन्द्रको फोटो देखाउँदै भने, ‘तपाईंको मान्छे उहाँ हो ?’ उनले आफ्नै श्रीमान्को अनुहार चिन्न सकिनन् । अनुहार निकै सुन्निएको थियो ।
आँखाको अवस्था पनि विभत्स थियो । पछि उनलाई दीपेन्द्रको पर्स थमाइयो । पर्सभित्र परिचय पत्र थियो । त्यो देखेपछि उनले विश्वास गर्न नसकेको कुरा साँचो ठहरियो । उनी हायलकायल भइन् । त्यहीबेला त्यहाँका स्वास्थ्यकर्मीले गन्थन गरेको सुनिन्, ‘यस्तो अवस्था छ । बाँच्दैनन् ।’ त्यो सुनेपछि त उनी त्यहिँ ढलिन् । संगीतालाई सोही अस्पतालमा भर्ना गरियो । ब्यूँझदा आफैंलाई अस्पतालको बेडमा पाइन् । ‘त्यसपछि तीन दिनसम्म पनि उहालाई हेर्न दिइएन,’ संगीता भन्छिन् ।
त्यतिबेला दीपेन्द्रको अवस्था निकै चिन्ताजनक थियो । बायाँ साइड चल्दैन थियो । एउटा आँखाले देख्दैन थिए । डाक्टरले पनि त्यो आँखा खुल्दैन भनेका थिए । ‘संयोगले राम्रो अस्पताल ल्याइएछ । उहाँलाई विस्तारै सुधार आउँदै गयो,’ संगीता सुनाउँछिन् । २२ दिनपछि दीपेन्द्रले एउटा आँखाबाट गुमेको ज्योती पुनः पाउन थाले । देव्रे शरीर पनि चल्न थाल्यो । विस्तारै आँट दिँदा हिँड्न सक्ने हुन थाले । अहिले त हल्का बोल्न पनि थालेका छन् दीपेन्द्र । दीपेन्द्रको टाउकोबाट हड्डी निकालिएको छ । अब हड्डी राख्नका लागि अर्को अप्रेसन छ ।
‘गोली लागेर हड्डी टुक्राटुक्रा भएको थियो । हड्डी राख्न मिलेन भने कृत्रिम हड्डी हाल्नुपर्छ,’ संगीता भन्छिन् । सुरु–सुरुमा उनीहरूलाई धेरथोर आर्थिक सहयोग आएको थियो । तर अहिले त त्यो पनि आउन छाडेको छ । अस्पतालले औषधि उपचारमा निःशुल्क गरे पनि अन्य खर्च धान्न भने दीपेन्द्रको परिवारलाई गाह्रो भइरहेको छ ।
दीपेन्द्र परिवारको खाँबो थिए । उनी नै थला परेपछि सबै जिम्मेवारी संगीताको काँधमा आएको छ । विदेश गएर पैसा कमाउने, ऋण तिर्ने, परिवार चलाउने दीपेन्द्रको सपना अहिले अस्पतालको बेडमा पल्टिरहेको छ । सुतिरहेका श्रीमान् हेर्दै संगीता चिन्तामिश्रित भावमा भन्छिन्, ‘अब त मैले केही नगरी धरै छैन । कसरी गर्ने हो थाहा छैन । सरकारले रोजागारी मिलाइदिए त हुन्थ्यो ।’
