सरुवा-बढुवा प्रणालीलाई पारदर्शी बनाउनेदेखि सार्वजनिक खर्चमा मितव्ययी बन्न र अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएकी छन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी विद्रोहको मर्म र भावनाअनुसार काम गर्न र नागरिकले प्रत्यक्ष अनुभूति हुनेगरी सबै मन्त्रालयहरुले ब्लुप्रिन्ट तयार पार्न निर्देशन दिएकी छन् ।
मुख्यसचिवसहित सबै सचिवसँगको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन् । उक्त बैठकमा सचिवहरुले मन्त्रालयका काम कारबाहीबारे विषयगत प्रस्तुतिसमेत दिएका थिए ।
प्रधानमन्त्रीले सरुवा बढुवा प्रणालीलाई पारदर्शी बनाउनेदेखि सार्वजनिक खर्चमा मितव्ययी बन्न र अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिएकी छन् । उनले निजी क्षेत्रदेखि निजामती कर्मचारी र सुरक्षाकर्मीको मनोबल बढाउने गरी काम गर्न पनि सचिवहरुलाई भनेकी छन् ।
उनले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति नोक्सानीको प्रतिवेदन तत्काल तयार पारी पुननिर्माणको नीति र कार्ययोजना बनाउनसमेत निर्देशन दिएकी छन् ।
