डिभिजन वन प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा, अकूत सम्पत्ति आर्जन गरेको आरोप

डिभिजन वन अधिकृतका रुपमा भोजपुरमा कार्यरत श्रेष्ठविरुद्ध इलाममा कार्यरत रहेका बेला अख्तियारमा उजुरी परेको थियो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Division Forest Chief Shrestha faces corruption case worth Rs 1.5 crore, accused of amassing disproportionate wealth

काठमाडौँ — डिभिजन वन कार्यालय भोजपुरका प्रमुख (अधिकृत दसाैं) दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार डेढ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठविरुद्ध १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति र यसबाट बढेबढाइएको चलअचल सम्पत्ति जफतको मागदाबी लिइएको छ ।

डिभिजन वन अधिकृतका रुपमा डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत श्रेष्ठबिरुद्ध इलाममा कार्यरत रहेका बेला अख्तियारमा उजुरी परेको थियो । पदीय अख्तियारीको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीपछि अख्तियारले श्रेष्ठको सरकारी सेवा प्रवेशयताको सम्पत्ति अनुसन्धान दायरामा ल्याएको थियो । त्यस क्रममा श्रेष्ठ सरकारी सेवा प्रवेश गरेको २६ असार २०४८ देखि १६ फागुन २०८० को ३२ वर्षको सम्पत्ति अनुसन्धान दायरामा ल्याइएकामा यस अवधिको स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

श्रेष्ठले र निज र निजको एकाघर परिवारका सदस्यले उक्त अवधिमा २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ ९६ पैसा मात्र आय आर्जन गरेको र व्ययतर्फ ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ ४८ पैसा खर्च गरेकाे देखिएकाे छ । 'आयभन्दा व्यय १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ ५२ पैसा बढी भई स्रोत पुष्टि हुन सकेन,’ अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य निजले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक भएकाले मनासिव कारणबिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको अभियोगपत्रमा उल्लेख छ । श्रेष्ठले झुटाे विवरण पेस गरी सम्पत्ति विवरण बुझाएकामा पनि थप सजाय मागदाबी गरिएको छ ।

श्रेष्ठ सार्वजनिक पदमा रहेका बेला आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल र उनी सञ्चालक रहेको फरेष्ट एन्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेसन प्रालि भक्तपुरका नाममा लगानी तथा खरिद गरिएका सम्पत्ति पनि जफत प्रयोजनका लागि उनीहरुलाई प्रतिवादी बनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully