सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शीर्ष नेताको विवरण संकलनमै अलमल

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आरोपित व्यक्तिको विवरण माग गर्दै चार निकायमा पत्राचार गरेको थियो । अहिलेसम्म राष्ट्र बैंकले मात्र विवरण उपलब्ध गराएको छ । त्यसमा पनि बैंक खाता संख्या मात्र उल्लेख छ । सेयर, कम्पनी र घरजग्गाको विवरण आएको छैन।

कार्तिक १६, २०८२

मातृका दाहाल

Confusion in collecting details of top leaders in money laundering investigation

काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्रीलगायतको  चलअचल सम्पत्ति छानबिनमा सरकारी निकायले अलमल गरेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आरोपित व्यक्तिको विवरण माग गर्दै चार निकायमा पत्राचार गरेको थियो । अहिलेसम्म राष्ट्र बैंकले मात्र विवरण उपलब्ध गराएको छ । त्यसमा पनि बैंक खाता संख्या मात्र उल्लेख छ । 

जेन–जी आन्दोलनको जगमा नागरिक सरकार गठन भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्वऊर्जामन्त्री दीपक खड्का, देउवा दम्पतीका छोरा जयवीरसिंह देउवा र पूर्वपरराष्ट्रमन्त्री राणाका भाइ भूषण राणाको सम्पत्तिको छानबिन सुरु गरेको थियो । 

विभागले उनीहरू र नजिकका नातेदारका नाममा रहेको जग्गा, कम्पनी, सेयरको विवरण माग्दै क्रमशः भूमि व्यवस्थापन तथा अभिलेख विभाग, कम्पनी रजिस्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको थियो । विभागले राष्ट्र बैंकसँग भने बैंक खाता र कारोबार विवरण मागेको थियो ।

१२ असोजमा कम्पनी रजिस्ट्रार कार्यालय र राष्ट्र बैंक तथा ३० असोजमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरिएको थियो । ‘राष्ट्र बैंकले बैंक खाताको विवरण पठाएको छ । अन्य निकायबाट केही पनि विवरण आएको छैन,’ विभागका एक अधिकारीले भने । 

लामो समय सत्तामा रहेका नेता र तिनका नातेदारले गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको आरोप लाग्दै आए पनि अनुसन्धानको दायरामा ल्याइएको थिएन । गत २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीहरू देउवा र दाहाल तथा पूर्वमन्त्री खड्काको निवास आगजनी गर्दा जलेका नोटका भिडियो र तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका थिए । विभागले देउवा, दाहाल र खड्काको घरमा पुगी मुचुल्का उठाएको थियो ।

त्यस बेला संकलित नोट लगायतका सामग्री जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । विभागले त्यसको रिपोर्ट माग्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई १२ असोजमै पत्राचार गरेको थियो । तर ब्युरोबाट रिपोर्ट आइनसकेको विभागका एक अधिकारीले जानकारी दिए । 

१२ असोजमै विभागको टोलीले पूर्वपरराष्ट्रमन्त्री राणाका भाइ भूषण राणाको जावलाखेलस्थित निवासमा छापा मारेर कागजात तथा उपकरण नियन्त्रणमा लिएको थियो । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विभिन्न निकायबाट आएका पत्रहरू कर्मचारी आन्दोलनका कारण दर्तासमेत हुन नपाएको बताए । ‘कर्मचारी आन्दोलनका कारण ७ असोजदेखि नियमित कामकारबाही नै ठप्प छ,’ उनले भने । सुशीला कार्की नेतृत्वको सरकारले बोर्डका कर्मचारीको सेवासुविधा कटौती गरिदिएपछि त्यहाँ आन्दोलन चलिरहेको हो । 

राष्ट्र बैंकका एक अधिकारीले विभागलाई बुधबार विवरण उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार पूर्वपरराष्ट्रमन्त्री राणा र पूर्वऊर्जामन्त्री खड्काका नाममा नेपाली र विदेशी मुद्रा कारोबार गर्ने गरी खोलिएका खाता दर्जनभन्दा बढी भेटिएका छन् । देउवा, दाहाल र ओलीका नाममा भने ३/४ वटा खाता पाइएको छ । ‘अब खाताबाट के–कस्तो आर्थिक कारोबार भएका छन् भन्नेबारे अनुसन्धान गर्ने निकायले सम्बन्धित बैंकबाटै माग्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले आरोपितका नाममा रहेको घरजग्गाको विवरण अझै संकलन हुन बाँकी रहेको जनाएको छ । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट आएपछि उनीहरूका नाममा देशभर कहाँ कहाँ घरजग्गा छ भनेर ७७ वटै मालपोत कार्यालयलाई परिपत्र गरिएको थियो, विवरण आइसकेको छैन,’ विभागका एक अधिकारीले भने । कम्पनी रजिस्ट्रार कार्यालयका अधिकारीहरू भने सम्पर्कमा आउन चाहेनन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully