निजी अस्पतालमा कार्यरत नर्सलाई सरकारीसरह तलब दिने सहमति

सरकारीसरह भन्दा बढी तलबलगायत सेवा सुविधा खाइपाइ आएको भए घटाउन नपाउने सहमति

कार्तिक १६, २०८२

सुदीप कैनी

Agreement to pay nurses working in private hospitals the same salary as the government

काठमाडौँ — देशभर आन्दोलनरत नर्स र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच निजी अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह मासिक तलब सुविधा दिने सहमति भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ४ खण्डमा २३ बुँदे सहमति भएको जनाए ।

उनका अनुसार ठूला अस्पताल र मेडिकल कलेजले कात्तिक १ गतेदेखि नै नर्स, डाक्टर तथा स्वास्थ्यकर्मीलाई सरकारी सरह नै मासिक तलब सुविधा उपलब्ध गराउने सहमति भएको छ । ‘विस्तृत रूपमा सहमतिको बुँदा पनि सार्वजनिक गर्छौ,’ उनले भने ।

अन्य अस्पतालले भने कात्तिकदेखि नै सरकारीमा तोकिएको ८० प्रतिशत तलब दिनुपर्ने सहमति भएको छ । देशभरको नर्सहरूको आन्दोलनको नेतृत्वको गरेको नेपाल नर्सिङ संघसँग उक्त सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केही नर्सहरूले भने सहमतिमा असन्तुष्टि जनाएका छन् । नर्सहरूले सरकारी पाँचौँ तहसरह सेवा सुविधा माग्दै आएका हुन् । स्वास्थ्य सेवामा कार्यरत सहायक पाँचौँ तहका नर्सले न्यूनतम ३४ हजार ७ सय ३० रुपैयाँ पाउँछन् । त्यसमा ग्रेडदर थपिँदा अझ बढी हुन आउँछ । तर निजी अस्पतालमा कार्यरत नर्सहरूले १५ हजार पनि नपाएको गुनासो छ । 

सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ संयोजकत्वको कार्यदलले थप काम गर्ने बुढाथोकीले जनाए । ‘कार्यदलले अस्पतालको वर्गीकरण गरेर क्रमशः सहमति कार्यान्वयन गर्न सुझाव दिन्छ । सुझावलाई मन्त्रालय र मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लैजान्छौं,’ उनले भने ।

सरकारीसरह भन्दा बढी तलबलगायत सेवा सुविधा खाइपाइ आएको भए घटाउन नपाउने सहमतिसमेत भएको उनले जनाए । ‘रात्रिकालीन, अतिरिक्त भत्तालगायतका विषय कार्यदलको सुझावको आधारमा टुंगो लगाउने सहमति छ,’ उनले भने । कार्यदलमा गृह, श्रम मन्त्रालय, नर्सिङ, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोगका लगायतका प्रतिनिधि छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयमा भएको वार्ताको सहमति आइतबार साँझसम्म सार्वजनिक गरिने बुढाथोकीले बताए । वार्तामा स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रेष्ठ, प्रवक्ता डा. बुढाथोकी, नेपाल नर्सिङ संघका प्रतिनिधि, निजी मेडिकल कलेज र अस्पताल सञ्चालक सहभागी थिए ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully