प्राविधिकले ‘जोखिम छ, नबस्नुस्’ भनेका भवनमै प्रहरी बसेका छन् । झ्याल–ढोकाविहीन जलेको भवनभित्र उनीहरू त्रास र असुविधाबीच पनि जनसेवामा निरन्तर छन् ।
काठमाडौँ — ‘जलेको कार्यालय सडक छेउमै छ । ठूला गाडी गुड्दा भवन नै हल्लिन्छ,’ प्रहरी प्रभाग इमाडोलमा कार्यरत एक प्रहरी जवानले भनिन्, ‘भवनमा झ्याल–ढोका छैनन् । ट्वाइलेट प्लास्टिकको बार लगाएर प्रयोगमा ल्याएका छौँ।’
जेन-जी प्रदर्शनको क्रममा भदौ २४ गते आगलागी हुँदा ललितपुरस्थित प्रहरी प्रभाग, इमाडोलको भवन पूर्ण रूपमा क्षति भएको थियो । प्राविधिकहरूले भवन बस्न योग्य छैन भनेपछि ललितपुरका अन्य प्रहरी कार्यालय बन्दै गर्दा यहाँ पुन: निमार्णको काम भएको छैन । अन्य स्थानको भन्दा यहाँ खटिएको प्रहरीहरूको समस्या सबैभन्दा गम्भीर देखिन्छ ।
झ्याल–ढोका, टेबल–कुर्सी लगायतका दैनिक प्रयोगमा आउने सामाग्री नष्ट भएका छन् । इमाडोल क्षेत्रमा खानेपानीको पनि अभाव छ । प्रहरीहरूले ट्याङ्कीमा ल्याइएको पानी सरसफाइ र अन्य प्रयोजनका लागि प्रयोग गर्छन् । ‘ड्रमहरू समेत जले । त्यसैले किनेको पानी भण्डारण गर्न समस्या भएको छ,’ एक प्रहरीले भने, ‘ पानी पनि अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता छ । बसाइ अत्यन्त अस्तव्यस्त भएको छ।’
उनका अनुसार हावा र वर्षाको छड्के पानी झ्याल–ढोकाबाट सजिलै छिर्छ । सरसफाइपछि प्राविधिकले नबस्न भएको भवनकै कोठालाई प्रहरीले अस्थायी ब्यारेकको रूपमा प्रयोग गरिरहेका छन् । यहाँ कार्यरत ३९ जना प्रहरीका लागि यो बाध्यता हो । उनीहरूले अन्य विकल्प नहुँदासम्म यही जोखिम भवनमै बसेर भए पनि जनसेवामा कमी हुन दिएका छैनन् । नयाँ स्थान नपाइएसम्म उनीहरू यहीँबाट सेवालाई निरन्तर सञ्चालन गर्ने बताउँछन् ।
तर, प्रहरीलाई यो भवनबाट आफ्नोसँगै आफूसँग भएको हातहतियारको सुरक्षा गर्न समेत चुनौती भएको छ । भवन क्षतिग्रस्त भएपछि फाइल तथा अभिलेख सुरक्षित राख्न पनि कठिनाइ भएको प्रहरीहरूले बताएका छन् । उजुरीका लागि आउने सेवाग्राहीहरूलाई समेत असहज हुने गरेको छ ।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार महालक्ष्मी नगरपालिकाले सो भवनको स्वामित्व लिएर नयाँ भवन निर्माण गर्ने योजना अघि बढाएको छ । हाललाई प्रहरीलाई कुनै सार्वजनिक भवन वा भाडाको घरमा राख्ने तयारी भइरहेको र समस्या चाँडै समाधान हुने उनको विश्वास छ ।
महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष छिरिङ लामाले आफ्नो वडाभित्र रहेको प्रहरी कार्यालय भएकाले जिम्मेवारी लिँदै नयाँ संरचनाको डीपीआरको काम यही महिनामा सक्ने गरेर लागि परेको बताए । उनका अनुसार अस्थायी रूपमा प्रहरीलाई भाडा वा सामुदायिक भवनमा राख्ने विषयमा समेत छलफल भइरहेको छ ।
‘प्रहरी प्रभाग इमाडोलको नेतृत्व पनि सक्रिय छ,’ अध्यक्ष लामाले भने, ‘नगरपालिकासँग सहकार्य गरेर तत्कालका लागि अस्थायी बसोबास र दीर्घकालीन रूपमा सुविधा सम्पन्न भवन निर्माणको तयारी भइरहेको छ । भाडामा बस्नु पर्ने अवस्थामा समेत त्यो खर्च नगरपालिकाले व्यवस्था गर्ने छ ।’
सन् २०७० सालमा स्थानीयवासीकै श्रमदानबाट बनेको यो भवन जोगाउन प्रहरी मात्र होइन, स्थानीयले पनि प्रयास गरेका थिए । सो दिन प्रहरीहरूले माइकिङ गर्दै दुई समूहलाई सम्झाइ–बुझाइ र बल प्रयोग गरेर तितरबितर पारेका थिए । तर, पछि स्थानीयले पनि नदेखेको र नचिनेको अज्ञात व्यक्तिहरूको समूहले आएर भवनमा आगो लगाएको कार्यरत प्रहरीहरूको भनाइ छ । यहाँका प्रहरीहरूले हातहतियार सहितका आवश्यक सामाग्रीहरू सुरक्षित राख्न भने सफल भएका थिए ।
आगलागीपछि स्थानीयले प्रहरीलाई पोसाकसहितका विभिन्न सामग्रीमा सहयोग गरे पनि भवन पुनर्निर्माण प्रक्रिया कानुनी प्रक्रियासँग जोडिएको कारण सुरु हुन सकेको छैन । स्थानीयहरू जलेको प्रहरी भवनबाट समेत प्रहरीले सेवामा लाग्दा प्रहरी प्रतिको सम्मान बढेको बताउँछन् । प्रहरीको यही प्रयासले सुरक्षाको अनुभूति समेत बढेको उनीहरूको बुझाइ छ ।
