लगातार पानी परिरहेकाले काठमाडौंबाट गएका गाडी धुलिखेल र काभ्रेभञ्ज्याङतिरै रोकिएको छ । पूर्वतिर भने नेपालथोकमै रोकिएको छ ।
काठमाडौँ — बिहीबार रातिदेखि नै बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि लेदो र ढुंगा खसिरहेकाले बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका हुन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेंसी, रोशी गाउँपालिका–११ डालाबेंसी, रोशी गाउँपालिका–९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुवैतर्फ अवरुद्ध भएको छ ।
पहिरो सफा गर्ने प्रयास गरिए पनि ढुंगा र लेदो खसिरहेकाले तत्काल खोल्न सम्भव नरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । लगातार पानी परिरहेकाले काठमाडौंबाट गएका गाडी धुलिखेल र काभ्रेभञ्ज्याङतिरै रोकिएको छ । पूर्वतिर भने नेपालथोकमै रोकिएको छ ।
'पानी परिरहेकाले तत्काल खुल्ने सम्भावना छैन । अवरोध पन्छाउनका लागि एक्स्काभेटरहरू चलाउन सकिएको छैन,' प्रमुख योगेशले भने ।
बीपी राजमार्गको विकल्पमा सिन्धुलीको खुर्कोट रामेछापको मन्थली दोलखाको चरिकोट सिन्धुपाल्चोकको खाडीचौर हुँदै काभ्रे निस्कन सकिन्छ । यी सडकका कुनै ठाउँमा पनि अवरोध नभएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
