कमल गौतम श्रमिकको क्षेत्रमा भिजेका नेता थिए । पञ्चायतकालदेखि अहिलेसम्म मजदुरको हकहितका लागि निरन्तर लड्दै आएका उनी बिहीबार सडकमै ढले । उद्योगी र मजदुरको पक्षमा आवाज उठाउँदै गर्दा अचानक ढलेका गौतम त्यसपछि ब्युँझिएनन् ।
What you should know
भैरहवा — रुपन्देहीलगायत मुलुकभरका उद्योग/कारखानामा कार्यरत श्रमिकको हितमा दिनरात खटिने मजदुर नेता ६५ वर्षीय कमल गौतमको बिहीबार रुपन्देहीको भैरहवामा मजदुरको रोजीरोटी रक्षाका लागि आवाज मुखरित गर्ने क्रममा मैदानमै अवसान भयो । सधैं श्रमिकको हितमा उद्योग सञ्चालकसित बहसमा उत्रिने गौतम बिहीबार फरक कार्यक्रममा सहभागी थिए ।
मध्याह्न उद्योगी र मजदुरको पक्षमा आवाज उठाउँदै गर्दा अचानक ढलेका गौतम त्यसपछि ब्युँझिएनन् ।
जिल्लास्थित राजनीतिक दलका नेतृत्व र उद्योगी मजदुरको हितमा गौतम उभिएको क्षणलाई उनको जीवनकालको दुर्लभ संयोग ठान्छन् । रुपन्देहीका उद्योगीले विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबापत महसुल नबुझाएको भन्दै लाइन काटेको विरोधमा प्रदर्शन आयोजना गरेका थिए । उक्त प्रदर्शनको तयारी उद्योगी र व्यावसायिक संघसंस्थाले मात्र गरेका थिएनन् । उद्योग बन्द गरिनु हुँदैन भनेर बुधबार आयोजित भेलामा गौतमले सडक प्रदर्शनका लागि जोड दिएका थिए । प्रदर्शन प्रभावकारी तुल्याउन खटिएका थिए ।
विभिन्न उद्योगमा कार्यरत २५ हजार मजदुरको जीवननिर्वाहको विषय भएकाले प्राधिकरणले अन्यायपूर्ण निर्णयमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । ‘उद्योग चल्नु पर्यो,’उनले भनेका थिए, ‘त्यसका लागि कहाँ–कहाँ पुग्नुपर्छ हामी श्रमिक तयार छौं ।’ विद्युत् प्राधिकरणविरुद्धको आन्दोलनमा दल र संगठनका झण्डा प्रयोग नगरी मैदानमा उत्रिन आह्वान गरेका थिए । बिहीबार पनि यही विचार व्यक्त गर्ने क्रममा उनी ढलेका थिए । प्रदर्शनमा सहभागीले तत्काल उनलाई अस्पताल पुर्याए पनि उपचारका क्रममा निधन भयो । उनले संगठित गरेका एमाले नेता र उनका सहकर्मीका अनुसार गौतमले कहिल्यैं सडक र संघर्षको मैदान छाडेनन् ।
‘२०४१ सालमा रुपन्देहीको पर्रोहा माविमा उहाँले खिमलाल भट्टराईलाई अध्यक्ष र मलाई कोषाध्यक्ष बनाएर अनेरास्वियुको प्रारम्भिक कमिटी गठन गर्नुभएको थियो,’एमाले नेता तेजेन्द्र केसीले भने, ‘पञ्चायत कालमै उहाँ अनेरास्वियुमा क्रियाशील नेता हुनुहुन्थ्यो ।’ बुटवको पश्चिम नयाँ गाउँमा बसेर उनले पार्टी संगठन विस्तार गरेको उनले बताए । गौतमसित सहकार्य गरेका धेरै व्यक्ति अहिले पार्टीको पोलिटब्युरो र मन्त्री बनिसकेका छन् । ‘उहाँले अहिलेसम्म कुनै अवसर लिनु भएन,’केसीले भने, ‘जीवनकालभरि सडकमै रहनुभयो ।’
गौतम ट्रेड युनियन महासंघ (जिफन्ट) केन्द्रीय उपाध्यक्ष र एमाले केन्द्रीय सदस्य हुन् भने रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मर्चवार क्षेत्रका इन्जार्च थिए । एकपटक मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष बनेका थिए ।
केसीका अनुसार २०४६ सालको पहिलो र २०६२/०६३ सालमा भएको दोस्रो आन्दोलनका बेला आन्दोलन परिचालन समितिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ‘दासढुंगा हत्याकाण्ड होस कि मजदुर हितमा गरिने आन्दोलन,’केसीले भने, ‘गौतम जहिल्यै अग्रमोर्चामा हुन्थे ।’ यसपटक मजदुर हितसँगै उद्योगीको पक्षमा बोल्दाबोल्दै गौतमले ‘सहादत’ प्राप्त गरेको उनले बताए । सबैसित घुलमिल हुने र कम्युनिस्ट मूल्यमान्यतामा अडिग गौतमले जहिल्यै जनताको दिएको खाने र जनताले जहाँ भन्छन् त्यहीँ सुत्नुपर्छ भनेर कार्यकर्तालाई सम्झाइरहन्थे । ‘एकपटक सुकुम्बासी बस्ती छिरेपछि एकसातासम्म उनीहरूकै पीडा बुझेर बस्थे,’उनले भने, ‘मनमा लागेको बोलिहाल्ने बानी थियो, सधैं न्यायकै कुरा गर्नुहुन्थ्यो ।’
रुपन्देहीका पत्रकार डीआर घिमिरेका अनुसार गौतम नेपालमा सुदूरपश्चिमदेखि पूर्वसम्म रिक्सा मजदुरलाई संगठित गर्ने पहिलो नेता हुन् । रिक्सा मजदुरलाई कसले संगठित गर्नसक्छ भनेपछि गौतमले सुदूरपश्चिमका जिल्लामा पुगेर रिक्सा मजदुर संगठित गर्न थालेका थिए । त्यसपछिमात्रै रिक्सा मजदुरको संगठनलाई जिफन्टले आफ्ना पाँच घटकमा समेटेको घिमिरेले बताए । ‘मजदुर नेताकै रूपमा गौतमको पहिचान बन्यो,’उनले भने, ‘कैयौँ पटक श्रमिकको हितमा बोल्दा उद्योगीसित झडप पनि भयो । तर, बिहीबार उद्योगी र मजदुरको हितमा कुरा राख्दै गर्दा हृदयघातबाट उहाँको निधन भयो ।’ पहिले मजदुरका मात्र नेता गौतम बिहीबार यता उद्योगीका समेत साझा नेता बनेको उनको भनाइ छ । ‘तल्लो वर्गबाट संघर्ष गरेर स्थापित हुनुभयो,’उनले भने, ‘तर, पार्टीबाट लाभको पद कहिल्यै मिलेन ।’
एमाले नेता भरत पोखरेलले पञ्चायतकालदेखि पार्टीमा योगदान पुर्याउँदै आएका गौतमको सक्रियतामा कहिल्यै कमी नदेखेको बताए । रुपन्देहीका क्रियाशील मजदुरको हितमा बोल्नेदेखि सीमावर्ती मर्चवार क्षेत्रमा पार्टीको जग बसाउन गौतम सक्रिय रहेको उनले बताए । ‘श्रमिकको क्षेत्रमा भिजेका मानिस हुनुहुन्थ्यो,’उनले भने, ‘पञ्चायतकालदेखि अहिलेसम्म उहाँलाई थकित देखेको थिएन, बिहीबार पनि ऊर्जासाथ भनाइ राख्दाराख्दै उहाँ ढल्नुभयो ।’ गौतमका श्रीमती र दुई छोरा छन् ।
बुटवल उपमहानगरपालिका–४, मा बसोबास भएका उनका जेठा छोरा लम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापन गर्छन । भने कान्छा छोरा वैदेशिक रोजगारीमा दक्षिण कोरियामा छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतम मजदुरको पक्षमात्र बोल्ने नेता नएर मुलुकको भलो चाहने व्यक्ति भएको प्रतिक्रिया दिए । ‘सधैं उद्योगी र मजदुरबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ भनेर जोड दिनुहुन्थ्यो,’उनले भने, ‘उद्योगीबिना रोजगार सम्भव छैन भन्ने उहाँको मान्यता थियो ।’ गौतमले जिल्लाका उद्योगीलाई सामाजिक सुरक्षा कोषमा समेटनका लागि समन्वयकारी भूमिका खेलेको उनले बताए । ‘उद्योग फस्टाएमात्र रोजगारी पाइन्छ भन्ने उहाँको भनाइ थियो,’उनले भने, ‘उहाँको भाग्यमा पनि मजदुरको काम र काखमै सहादत प्राप्त गरुन भन्ने रहेछ ।’
जिल्लाकै स्थापित र जेहेन्दार मजदुर नेता गुमाउँदा समग्र उद्योगी–व्यवसायी मर्माहत बनेको उनले बताए । संघको अगुवाइमा बिहीबार विरोधको कार्यक्रम आयोजना गरिएको थियो । संघले गौतमको निधनमा शोक जनाउन र उनीप्रति सम्मान व्यक्त गर्न शुक्रबार आफ्नो सचिवालय बन्द गर्ने निर्णय गरेको आचार्यले बताए ।
