माओवादीसँग एकताको विपक्षमा उभिइन् नेतृ झाँक्री

‘यो एकतामा सहमत हुनेहरू जानूस्, जानका लागि जे जे भन्दा अनुकूल हुन्छ, त्यही विश्लेषण गर्नु भएको छ ।’

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Leader Jhankri stands against unity with Maoists

What you should know

काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले माओवादीसँग एकतामा नगई पार्टी पुनर्गठन गर्ने बताएकी छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले अध्यक्ष माधवकुमार नेपालले अघि सारेको माओवादीसँग पार्टी एकताको प्रस्तावमा असहमति राख्दै समाजवादीहरूलाई पुनर्गठन गर्ने अडान राखेकी हुन् ।

‘हामी यो पार्टी पुनर्गठन गरेर जान्छौं । तपाईंहरूले गरेको एकतामा सहमत नहुने साथीहरू, जनप्रतिनिधिहरूलाई कारबाही गर्ने दुस्प्रयास नगर्नुहोला,’ उनले शुक्रबारको बैठकमा भनिन्, ‘उहाँहरूलाई एक पटक सोध्नुस् तपाईंले माओवादी पार्टीसँग गरेको एकतामा सनाखत गर्नुहुन्छ कि  गर्नु हुन्न ? नगर्दा फरक पर्दैन । यो कानुनीभन्दा राजनीतिक नैतिक अभियान हो ।’

उनले एकतामा जानेलाई शुभकामना दिंदै आफू बाहिरै रहने पनि बताइन् । ‘यो एकतामा सहमत हुनेहरू जानूस्,’  उनले भनिन्,  'जानका लागि जे जे भन्दा अनुकूल हुन्छ, त्यही विश्लेषण गर्नु भएको छ ।’ उनले वाम एकता र रूपान्तरणको पक्षमा रहेको जनाएकी छन् ।

‘हामी वाम एकताको पक्षमा हो । तर, ती वाम पार्टीहरू नेतृत्व पुनर्गठन, रूपान्तरण र एकता हो,’ उनले थपिन्, ‘हामीले सबै वाम पार्टीहरूसँग एकता खोजेको हो ।’ उनले एमालेलाई दक्षिणपन्थी भनेर क्षणिक न्यानो मानेको पनि बताएकी छन् । ‘यहाँ एमालेलाई दक्षिणपन्थी बिल्ला भिराएर पिसाबको न्यानो महसुस गरेजस्तो गरेका छन्,’ उनले भनाइ थियो । 

उनले वाममोर्चा बनाएर जानु उचित हुने बताएकी छन् । ‘हामीहरू वाममोर्चा बनाएर पनि जान सक्छौं । हाम्रो राजनीतिक भविष्यमा प्राविधिक बहुमतको डण्डा नलगाउनु होला,’ उनको भनाइ छ, ‘पार्टी पुनर्गठन अनिवार्य सर्त हो । जसले वामपन्थी एकता र रूपान्तरण हो ।’

माओवादीसँग एकता गरेर पार्टी विद्रोहको औचित्य पुष्टि नहुने उनको भनाइ छ । ‘पार्टी विद्रोहको औचित्य कसरी पुष्टि भयो भन्न सकिन्छ ?' उनले प्रश्न गरिन्, ‘एकता कुनै व्यक्ति केन्द्रित र व्यक्तिको आवश्यकतामा हुने हो र ? २०७७ मा तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मासे, हामीले विद्रोह गरेर संविधान जोगायौं भन्ने नैतिक धरातल के होला ?’

कान्तिपुर

Link copied successfully