ठाउँ–ठाउँमा पहिरो खस्नुका साथै सडक दबिँदा मेची राजमार्गको इलाम खण्डमा सवारी साधन सञ्चालन ठप्प भएको छ ।
पाँचथर — निरन्तर भइरहेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गसहित ठाउँ–ठाउँका सडक अवरुद्ध भएका छन् । ठाउँ–ठाउँमा पहिरो खस्नुका साथै सडक दबिँदा मेची राजमार्गको इलाम खण्डमा सवारी साधन सञ्चालन ठप्प भएको छ ।
यो खण्डको राजदुवाली क्षेत्रमा गत असोज १७ र १८ गतेको झरीका कारण पहिरो गएपछि खोलिएको नयाँ ट्र्याक भासिने र दबिने क्रम बढिरहेको छ भने वैकल्पिक रूपमा खोलिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
बाढी र पहिरोका जोखिम बढेका कारण इलाम प्रशासनले बिहीबार साँझदेखि यो सडकमा सवारी आवागमन बन्द गराएको थियो । रातभरको पानीले सडकमा क्षति पुगेपछि सडकमा सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
यस्तै, सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव बढेका कारण सवारी आवागमन ठप्प भएको हो ।
