मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैवमण्डल र जैवविविधताको संरक्षण आवश्यक छ भन्ने तथ्य औंल्याउँदै यो वर्ष सन् २०२५को बायोइथिक्स दिवस मनाइएको हो ।
What you should know
धरान — वातावरण, पर्यावरण र जैव विविधताको संरक्षणको नारा अंगाल्दै गएका महिनामा नेपालका विभिन्न मेडिकल कलेजहरु सहभागी विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२५ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ ।
मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैवमण्डल र जैवविविधताको संरक्षण आवश्यक छ भन्ने तथ्य औँल्याउँदै यो वर्ष सन् २०२५को बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाइबाट आयोजित विविध चेतनामूलक कार्यक्रमहरुको अक्टोबर ३१ का दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।
नेपाल एकाइका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी संकायका अनिशा गिरी र क्रिष्टिना राईले सञ्चालन गरेका हुन् । कार्यक्रममा मूल टिप्पणीमा नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यले एकाई र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राख्दै बायोइथिक्सको यो महत्त्वपूर्ण १७ औं सिद्धान्त यस वर्षको नाराले मानव मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, पर्यावरण, जैव मण्डल र जैव विविधताको संरक्षण अत्यावश्यक भएकाले सबैले आ–आफ्नो तर्फबाट भूमिका र पैरवी गर्नुपर्ने धारणा राखे । नेपाल एकाइका सदस्य प्रा.डा. सरुन कोइरालाले चिकित्सा शिक्षा, डा. अशोक ऐरले दन्त चिकित्सा, खेमचन्द सुवेदीले नागरिक तथा कानुनी पहलुबारे प्रकाश पारे । विद्यार्थी संकायका समिप रेग्मीले यस वर्षको नाराबारे सेमिनार प्रस्तुति राखे ।
यस वर्ष प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. सरुन कोइराला र डा. अशोक ऐर निर्णायक रहेको फोटोग्राफी प्रतियोगितामा सुरजा शाक्य प्रथम, सम्पदा धिमाल द्वितीया तथा सुदिन भुषाल तृतीया भए । प्रा.डा. रविराम श्रेष्ठ, डा. किशोर गुरुङ र डा. अशोक ऐर निर्णायक रहेको आर्ट पोस्टरमा उज्ज्वल ठाकुर र सुरजा शाक्य, प्रा.डा. धनरत्न शाक्य र प्रा.डा. रविराम श्रेष्ठ निर्णायक रहेको वैज्ञानिक पोस्टरमा प्रशान्त सापकोटा र प्रा.डा. धनरत्न शाक्य, प्रा.डा. सरुन कोइराला र डा. किशोर गुरुङ निर्णायक रहेको कवितामा जीवन भुजेल पुरस्कृत भएका हुन् ।
कार्यक्रमका संयोजक नेपाल एकाइ तथा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जानुपर्ने धारणा राखे । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।
