बोर्डले कोंग्मा ला, छो ला, र रेनजो ला लगायतका हिमाली पासमा नजान, पहिरो प्रभावित सडकमा यात्रा नगर्न र टेन्ट क्याम्पिङबाट टाढा रहन विशेष सतर्कता अपनाउन भनेको छ ।
काठमाडौँ — नेपाल पर्यटन बोर्डले सगरमाथा, लाङटाङ, इलाम र ताप्लेजुङलगायतका पूर्वी हिमाली पदमार्गहरू चिप्ला र भिजिविलिटी कमजोर रहेको जनाउँदै पर्यटकहरूलाई मौसम सामान्य नहुँदासम्म पदयात्रा स्थगित गर्न आग्रह गरेको छ ।
बोर्डले विशेषगरी उच्च हिमाली क्षेत्रका कोंग्मा ला, छो ला र रेनजो ला जस्ता पासहरूमा यात्रा नगर्न सुझाव दिएको छ । त्यसैगरी पूर्व र मध्यम पहाडी क्षेत्रमा अनावश्यक यात्रा नगर्न, पहिरो वा बाढी प्रभावित सडकमा सवारी नचलाउन र नदी वा खोलानजिक टेन्ट राखेर क्याम्पिङ नगर्न टुर अपरेटरलाई समेत सावधानी अपनाउन सुझाएको छ ।
सवारी सञ्चालन गर्दा विशेष सतर्कता अपनाउन, स्थानीय निकायको सूचना पालना गर्न, दैनिक मौसम र सडक अवस्था जाँच गरेर मात्रै यात्रा गर्न र भारी वर्षा वा हिमपातका बेला सुरक्षित आवासमा बस्न बोर्डले पर्यटनसँग सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
बोर्डका अनुसार हाल बाल अन्नपूर्ण, मुस्ताङ र डोल्पो क्षेत्र सुरक्षित रहेका छन् । ती क्षेत्रमा मौसम खुला रहेको र पदयात्रा सामान्य रूपमा सुरक्षित रहेको जनाइएको छ ।
मौसम पूर्वानुमान अनुसार कात्तिक १५ गतेसम्म देशका पूर्वी र केन्द्रीय प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । वर्षासँगै पहिरो, बाढी र सडक अवरुद्ध हुने जोखिम बढेकाले बोर्डले पर्यटन व्यवसायी र पदयात्रीहरूलाई विशेष सतर्कता अपनाउन सुझाएको छ ।
गण्डकी प्रदेशमा वर्षा क्रमशः घट्ने अनुमान भए पनि पहिरोको जोखिम अझै कायम रहेको बोर्डले जनाएको छ ।
