पर्यटन बोर्डले भारी वर्षा, हिमपात, बाढी, पहिरो र हिउँ पहिरोको जोखिम बढ्ने भन्दै हिमाली तथा पहाडी क्षेत्रका भ्रमणकर्तालाई उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।
काठमाडौँ — ‘मोन्था’ चक्रवातका कारण देशभर मौसम खराब भइरहेकाले हिमाली भेगमा पदयात्रामा रहेका यात्रु र पदयात्रीलाई उच्च सतर्क रहन नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरीमार्फत आग्रह गरेको छ ।
बोर्डले बुधबार साझ जारी गरेको एडभाइजरीमा बंगालको खाडीबाट उत्तर–पश्चिम दिशातर्फ सर्दै गरेको चक्रवात ‘मोन्था’ को प्रभावका कारण देशका विभिन्न भागमा आगामी १५ गतेसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएकाले सबै यात्रु र पदयात्रीलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको हो ।
पर्यटन बोर्डले भारी वर्षा, हिमपात, बाढी, पहिरो र हिउँपहिरोको जोखिम बढ्ने भन्दै हिमाली तथा पहाडी क्षेत्रका भ्रमणकर्तालाई उच्च सावधानी अपनाउन, मौसम अस्थिर हुने भएकाले भ्रमण अघि र दौरानमा मौसमको जानकारी नियमित रूपमा लिन र सम्भावित जोखिमबाट जोगिन आवश्यक तयारी गर्न भनेको छ ।
यात्रासम्बन्धी सावधानी अपनाउन अनुरोध गर्दै पर्यटन बोर्डले यात्रु र पदयात्रीलाई मौसममा अचानक परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा पूर्वानुमान जाँच गर्ने, नदी किनार वा पहिरो सम्भावित क्षेत्रमा शिविर नराख्ने र हिउँ पहिरोको जोखिम बुझ्न, स्थानीय सरकारद्वारा जारी सूचना र पदमार्ग (ट्रेल) बन्दसम्बन्धी जानकारी ध्यानपूर्वक पालना गर्न, जोखिमयुक्त क्षेत्रमा जाने अघि उचित तालिम, उपकरण र सञ्चार साधन सुनिश्चित गर्न,यात्रा अघि आफ्ना योजना अरूलाई जानकारी दिने र सम्भव भएसम्म सम्पर्कमा रहन, प्राथमिक उपचार सामग्री, अतिरिक्त खाना–पानी र आपतकालीन सम्पर्क उपकरण साथमा राख्न, मौसम र भौगोलिक अवस्थाबारे जानकार स्थानीय गाइडको सहयोग लिन बोर्डले भनेको छ । बोर्डले पदयात्रीहरुलाई वाटरप्रुफ र विन्डप्रुफ लुगा लगाउन, चिसो मौसमका लागि तह–तहमा कपडा प्रयोग गर्न, अवस्था असुरक्षित देखिएमा यात्रा स्थगित वा वैकल्पिक बाटो रोज्न भनेको छ ।
जल तथा मौशम विभागले पूर्वका बागमती, मधेश र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना भनेको छ । पदयात्रीका प्रिय पदमार्गहरू सगरमाथा, कञ्चनजङ्घा र लाङटाङ यी प्रदेशमा पर्ने भएकाले त्यहाँका यात्रुहरूले विशेष सतर्कता अपनाउन भनिएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा, जबकि कर्णाली प्रदेशका केही भागमा सामान्य वर्षा हुने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने मध्यमदेखि ठूलो हिमपात हुन सक्ने सम्भावना छ ।
बोर्डले आपतकालीन सम्पर्क सहयोगका लागि बोर्डमा रहेको पर्यटन प्रहरी, पर्यटन प्रहरी टोल–फ्री नम्बर ११४४ मा सम्पर्क गर्न भनेको छ । त्यस्तै पर्यटन बोर्डले सबै भ्रमणकर्ता र पदयात्रीलाई सुरक्षालाई प्राथमिकता दिन र आधिकारिक स्रोतबाट प्राप्त हुने मौसमसम्बन्धी सूचनामा नियमित रूपमा अपडेट रहन अनुरोध गरेको छ।
