जेन-जी आन्दोलनमा भएको क्षतिसम्बन्धी छानबिन गर्न प्रहरीले गठन गर्‍यो एआईजीको नेतृत्वमा समिति, १ महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन

प्रहरी महानिरीक्षकले अतिरिक्त महानिरीक्षकको नेतृत्वमा समिति गठन गर्दै जनधन क्षति, बल प्रयोग र रणनीतिक कमजोरीबारे एक महिनामा प्रतिवेदन मागेका छन् ।

कार्तिक १२, २०८२

मातृका दाहाल

Police form AIG-led committee to investigate damage caused by Gen-G movement, directs to submit report within 1 month

What you should know

काठमाडौँ — २३ भदौमा जेन–जी पुस्ताको अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलन र भोलिपल्टको विध्वंसमा भएको जनधनको क्षतिसम्बन्धी छानबिन गर्न प्रहरी प्रधान कार्यालयले आन्तरिक समिति गठन गरेको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले मंगलबार अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिलाई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा/विद्यार्थीमाथि २३ भदौमा प्रहरीबाट भएको बल प्रयोग, मानवीय क्षति, बल प्रयोगमा भएका कमजोरी तथा भोलिपल्टको विध्वंसबारे विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

राठौरको नेतृत्वमा गठित समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआइजी दीपक रेग्मीसहित कार्य विभाग, मानव स्रोत विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, विधि विज्ञान प्रयोगशालालगायत युनिटबाट प्रतिनिधित्व गराइएको छ । समितिले जेन-जी आन्दोलनको कारण, प्रदर्शनका दिन भएको बल प्रयोग र भोलिपल्टको विध्वंसको विस्तृत अनुसन्धान गरी विस्तृतमा प्रतिवेदन तयार पार्नुपर्ने भनिएको छ । १ महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

प्रहरीले फिल्डमा खटिँदा प्रयोग गर्ने हातहतियार, परिचालन रणनीति, आन्दोलन/प्रदर्शनमा प्रयोग हुने घातक/गैरघातक हतियार प्रयोग, सुरक्षा समन्वयलगायत विषयमा पनि सुझाव दिने गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

सरकारले यसअघि नै जेन-जी आन्दोलन र भोलिपल्टको विध्वंसको जाँचबुझ गरी दोषीमाथि कारबाही गर्न विशेष अदालतका पूर्वअध्यक्ष (न्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिसकेको छ । आयोगले अहिले जाँचबुझको काम जारी राखेको छ । यता, प्रहरीले पनि घटनाको डेढ महिनापछि आन्तरिक छानबिन समिति गठन गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अधिकारीले दिएको जानकारीअनुसार देशभरबाट क्षतिको प्रारम्भिक विवरण आउन समय लागेका कारण आन्तरिक समिति गठनमा केही ढिलाइ भएको बताए । ती अधिकारीले भने, ‘क्षतिको एकसरो विवरण आइसकेको छ, अबका दिनमा यसलाई पाठका रूपमा लिने गरी जेन-जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिसम्बन्धी घटना, कारण, कमजोरी, सुधार गर्नुपर्ने पक्ष, आन्दोलनमा सुरक्षाकर्मी परिचालन रणनीति, समन्वय, घटनाको आकलन, बन्दोबस्ती, सुरक्षाकर्मीको खस्केको मनोबल उच्च पार्ने उपायलगायत यावत् विषयहरू समेटेर प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।’

२३ भदौको प्रदर्शन र भोलिपल्टको विध्वंसमा अकल्पनीय जनधनको क्षति भएको थियो । प्रदर्शन हिंसात्मक बन्दा तोडफोड, आगजनी, लुटपाटलगायतका घटना भएका थिए । त्यस दिनको विध्वंसमा राष्ट्रपति भवन, सर्वोच्च अदालत, संसद् भवन, प्रधानमन्त्री निवास, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीका ब्यारेक तथा कार्यालय, विभिन्न राजनीतिक दलका कार्यालय, नेताका निवास, सञ्चारमाध्यमका कार्यालय, व्यापारिक भवन तथा प्रतिष्ठानलगायत सरकारी/सार्वजनिक, निजी तथा व्यापारिक संरचनाहरू तोडफोड/आगजनी गरी क्षति पुर्‍याइएका थिए ।

जेन-जी विद्रोह र भोलिपल्टको विध्वंसमा ३ प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो भने २ हजार ४ सय बढी घाइते भएका थिए ।

२४ भदौको प्रदर्शन अनियन्त्रित र हिंसात्मक बन्दा प्रहरीका साढे ४ सय बढी कार्यालय तथा ब्यारेकमा तोडफोड र आगजनी भएको थियो । त्यस क्रममा प्रहरीका १ हजार २ सय बढी हतियार लुटपाट भएका थिए ।

त्यस क्रममा करिब १ लाख राउन्ड गोली पनि प्रहरी अभिलेखबाट गायब भएको थियो । यसरी गायब भएकामध्ये ७ सय बढी हतियार र केही गोलीगठ्ठा सुरक्षा निकायहरूले विभिन्न स्थानबाट बरामद गरेकामा अझै ५ सय बढी हतियारसहितका गोलीगठ्ठा नियन्त्रणमा आउन नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् ।

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully