२०३६ सालमा ६ जनाको ज्यान जानेगरी लाङटाङमा भएको हेलिकोप्टर दुर्घटनायता ४२ वटा हेलिकोप्टर नेपालमा दुर्घटना भएका छन् ।
What you should know
काठमाडौँ — बिरामी पर्यटकको उद्धारका लागि बुधबार सोलुखुम्बुको लोबुचेमा अवतरण गर्दैगर्दा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ । उक्त उडानमा रहेका एक मात्र क्याप्टेन विवेक खड्का सकुशल काठमाडौं फर्किसकेको अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमानुरु शेर्पाले बताए ।
पिक हाइल्यान्ड एक्सपिडीसन कम्पनीबाट खुम्बु क्षेत्रको पदयात्रामा गएका रसियन पर्यटकलाई उद्धार गर्न अल्टिच्युडको अल्फा माइक सेरा कल साइन भएको बीथ्री हेलिकोप्टर लुक्लाबाट लिएर क्याप्टेन खड्का लोबुचेका लागि बिहान साढे ७ बजेपछि उडेका थिए । लोबुचेको हेलिप्याडमा अवतरण गर्नेक्रममा बिहान ७:५२ मा दुर्घटना भएको थियो । दुर्घटनापछि क्याप्टेन खड्कालाई कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला हुँदै काठमाडौं ल्याएको थियो । क्याप्टेन खड्का ह्याम्स अस्पतालमा स्वास्थ्य परीक्षणपछि कार्यालय हुँदै बेलुकी घर फर्किसकेको शेर्पाले बताए ।
यतिबेला लुक्लामा खराब मौसमका पर्यटकहरु बिरामी हुने, उद्धार गर्नुपर्ने दैनिकजसो भइरहन्छ । दुर्घटनामा परेको हेलिकोप्टरले बुधबार बिहान लुक्लाबाट फेरिचे र कोथेमा दुइटा चार्टर उडान गरिसकेका थिए । लोबुचेका लागि क्याप्टेन खड्काको तेस्रो उडान थियो ।
दुर्घटनापछि कान्तिपुरको सम्पर्कमा आएका क्याप्टेन खड्काले बाक्लो हिउँ अनि बादल पनि भएका बेला हेलिप्याड हिउँले छोपिएको बताउँदै होबरीङ गर्दै जहाज अवतरण गराउँदै गर्दा सन्तुलन खलबलिएर दुर्घटनामा परेको सुनाए । ‘पुन: माथि उठाउन सकिएन । जमिनमाथिको हेलिप्याड जस्तो हुन्न, हिउँमा गाह्रो हुन्छ । कमजोर वा बाक्लो हिउँको संरचना कसरी बनेको छ । त्यसले असर पार्छ । मैले हेलिकोप्टरको सन्तुलन खलबलिने बित्तिकै तेल बन्द गरेँ । ब्रेक पनि तानिदिएँ । यसकारण आगो लाग्ने र थप क्षति हुन रोकियो । जहाजमा ममात्रै थिएँ । मलाई केही भएको छैन,’ क्याप्टेन खड्काले भने ।
यसैबीच उक्त दुर्घटनाको नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक छानबिन गर्न बिहीबार समिति बनाउने जनाएको छ । प्राधिकरणले बिहीबार सबै हेलिकोप्टर कम्पनीका संचालकहरुसँग सिनामंगलस्थित प्राधिकरणको सेफ्टी विभागमा बैठक राखेको छ ।
दुर्घटनामा परेको झण्डै ४९ करोड रुपैयाँ बराबरको अल्टीच्यूडको हेलिकोप्टर मर्मतपछि उडान गर्न मिल्ने/नमिल्नेबारे अध्ययन गर्न एयरबस र विमान कम्पनीका विज्ञहरु नेपाल आउँदै छन् । घटनास्थलमा उनीहरुले गर्ने प्राविधिक जाँचपछि यसबारे यकिन हुने कार्यकारी अध्यक्ष शेर्पाले बताए । यो अल्टीच्युडको स्थापनाकालमा खरिद गरेको पहिलो हेलिकोप्टर हो ।
यसैबीच अल्टीच्युडले बुधबारदेखि आफ्ना रोकिएका चार्टर उडान सञ्चालन हुने जनाएको छ । ९ वर्षअघि स्थापना भएको यो वायुसेवा कम्पनीसँग अब दुइटा हेलिकोप्टर छन् । यसअघि २०७५ भदौमा यसै कम्पनीको अल्फा लिमा सेरा हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा पाइलटसहित ६ जना नेपालीको मृत्यु भएको थियो । बुधबार भएको हेलिकोप्टर दुर्घटनासहित नेपालको उड्डयन क्षेत्रमा २०३६ सालयता ४२ वटा हेलिकोप्टर दुर्घटना भइसकेका छन् ।
लोबुचे क्षेत्रमा यसअघि २०८० असोज २७ गते मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो ।
