जहिल्यै प्रस्तावित 'वर्ल्ड हेरिटेज साइटको टेन्टेटिभ लिस्ट'मै सीमित तिलौराकोट

विषय विशेषज्ञहरू भन्छन्, यसपटक तिलौराकोटबारेको भ्रम चिर्न इकोमसको महासभा र अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सार्थक बन्यो ।

कार्तिक ११, २०८२

मनोज पौडेल

Tilaurakot has always been limited to the proposed 'Tentative List of World Heritage Sites'

What you should know

कपिलवस्तु — गत जुलाई ६ देखि १६ सम्म फ्रान्सको राजधानी पेरिसमा आयोजित युनेस्कोको ४७ औं सेसनमा भारतको लिखित असहमतिका कारण कपिलवस्तुस्थित बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदास्थलमा सूचीकृत हुन सकेन । युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमस इन्टरनेसनलले तिलौराकोटको प्रस्तावलाई सेसनमा डिफर (स्थगित) मा राख्ने सिफरिस गरेको थियो । जसका कारण शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थ २९ वर्षको युवावस्था बिताएको ठाउँ तिलौराकोट विश्व सम्पदा स्थलमा राख्न गरेको ठूलो लगानी खेर गयो ।

अहिले त्यही इकोमसको लुम्बिनीमा सम्पन्न ६० औं महासभा र अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई नेपाली विषय विशेषज्ञले तिलौराकोटबारे रहेको भ्रम राम्ररी चिर्न उपयोग गरे । तिलौराकोटमा भएको अध्ययन अनुसन्धानले पाइएको ऐतिहासिकता र प्रमाणिकतालाई उजागर गर्ने तथ्य राम्ररी विश्व मञ्चमा राखे । 

सुरुमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामाले इकोमस इन्टरनेसनललाई नराम्ररी झटारो हाने । महासभाको उद्घाटन कार्यक्रममा लामाले भने, ‘पेरिसमा तिलौराकोटलाई विश्व सम्पदा स्थलमा राख्ने बारेको छलफलमा इकोमसका अधिकारीले तिलारौकाटबारे भारतलाई बुझाऊ र राम्रो व्यवहार गर भने । सल्लाह लेऊ र कन्भिन्स गरसमेत भने । यस्तो भन्नु कत्ति राम्रो हो ?’ लामा यत्तिमै रोकिएनन् । उनले प्रश्न नै उठाए, ‘त्यसो भए युनेस्को किन चाहियो, इकोमस किन चाहियो ? भारत भए भई हाल्यो ।’ यस्तो भन्दा आफूलाई निकै असहज र अनुचित लागेको पनि लामाले बताएका थिए । 

‘म यही सभामार्फत भविष्यमा यस्तो नहोस् भन्ने पनि कामना गर्छु,’ इकोमसको लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले भनेका थिए, ‘इकोमसले निष्पक्ष, इमान्दार र राम्रो निर्णय गरोस् । इकोमसले नेपालीलाई अभिभावक जस्तो महसुस गराउनूस् ।’ उपाध्यक्ष लामाले यसो भनिरहँदा सभा स्तब्ध बनेको थियो । लामाले मन्तव्य दिँदा इकोमस इन्टरनेसनलकी अध्यक्ष बेल्जियमकी प्राध्यापक टेरेसा प्याट्रिसियो, युरोप उपाध्यक्ष रिन अलातालु, अमेरिका उपाध्यक्ष लियोनार्डो कास्ट्रियोटा, अफ्रिका उपाध्यक्ष चिलङवा चाइबा र एशिया प्यासेफिक उपाध्यक्ष सुसान म्याकइन्टायर टामवाय लगायत बहुसंख्यक कार्यसमितिका पदाधिकारी सहभागी थिए । उनीहरू लामाले खुलेर आफ्नो पीडा राख्दा गम्भीर, संवेदनशील र सोचनीय बनेका थिए ।Tilaurakot has always been limited to the proposed 'Tentative List of World Heritage Sites'

इकोमस इन्टरनेसनलको ४ दिने महासभा र ४ दिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा कोष उपाध्यक्ष लामामात्र होइन, धेरै स्वदेश र विदेशी विज्ञ र विशेषज्ञले तिलौराकोटबारेको ऐतिहासिकता, प्रमाणिकता र वैज्ञानिक अध्ययन अनुसन्धानको तथ्य विश्व समुदायमा राम्ररी राखे । तिलौराकोटबारेमा बनाइएका भ्रम राम्ररी चिर्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आफूहरूले उपयोग गरेको पुरातत्व विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए । केही प्राविधिक कारणले तिलौराकोट विश्व सम्पदास्थलमा सूचीकृत हुन नसकेको सन्दर्भमा त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सफल भएको उनले बताए । 

तिलौराकोटमा गरेको खोज अनुसन्धानलाई विश्वका खोज अनुसन्धाता र वैज्ञानिहरूका बीचमा राख्न पाउँदा त्यसबारे रहेको भ्रम चिर्दै आगामी दिनमा सकारात्मक परिणाम दिन सक्नेतिर सम्मेलनले फाइदा पुर्‍याएको उनले बताए । 

सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्ने विश्वभरकै विशेषज्ञ र विज्ञको संस्था हो– इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) । युनेस्कोको मुख्य सल्लाहकार निकायका रूपमा रहेको इकोमस (अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद्)ले मुख्य रूपमा विश्व सम्पदा सूचीमा अभिलेखका लागि विश्वभरबाट प्रस्तावित सांस्कृतिक तथा मिश्रित सम्पदाको मूल्यांकन गरेर युनेस्कोको विश्व सम्पदा केन्द्रलाई प्रदान गर्ने गरेको इकोमस नेपालका कोषाध्यक्ष सृस्टिना श्रेष्ठले बताइन् । ‘त्यसैले यो महत्त्वपूर्ण निकायका रूपमा रहेको छ,’ उनले भनिन्, ‘नेपालमा सम्मेलन हुनु गौरवको विषय हो । तिलौराकोटकै बारेमा यत्रो ठूलो सम्मेलन गर्न सम्भव थिएन ।’ एक फरक प्रसंगको कार्यक्रममा तिलौराकोटबारेका गुनासो र भ्रम निवारण गर्न पाउँदा आगामी वर्षमा तिलौराकोट विश्व सम्पदास्थलमा सूचीकृत हुने विषयमा नयाँ सम्भावनाको ढोका खोलेको पनि उनले बताइन् । Tilaurakot has always been limited to the proposed 'Tentative List of World Heritage Sites'

इकोमस इन्टरनेसनलका मिसन प्रमुख प्राध्यापक जोन पिटरसनले तिलौराकोट निकै महत्त्वको ऐतिहासिक स्थल भएको बताएका छन् । इकोमसको अन्तर्राष्ट्रिय कमिटी अन आर्किलोजिकल हेरिटेज म्यानेजम्यान्टका अध्यक्षसमेत रहेका उनले आफूले तिलौराकोटलाई विश्व सम्पदास्थलमा पार्नुपर्छ भनेर सिफारिस गरेको उल्लेख गर्दै यसपटक सम्पदा स्थलमा नपर्दा आफू ज्यादै दुःखी भएको पनि बताए । इकोमसको कार्तिक १ मा सम्पन्न ६० औं महासभा र अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका उनले यस्तो बताएका हुन् । 

सम्मेलनमा लुम्बिनी र कपिलवस्तुको पुरातत्त्वको सिंहावलोकन विषयमा बेलायती वरिष्ठ पुरातत्वविद् डा रबिन कनिङ्घमले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पनि दुवै स्थल महत्त्वपूर्ण भएको र अझ कपिलवस्तु दक्षिण एसियाकै योजनाबद्ध ऐतिहासिक सग्लो र सुरक्षित सहर भएको बताएका थिए । 

११ वर्षदेखि कपिलवस्तुमा भइरहेको उत्खनन अन्वेषणले पर्याप्त प्रमाण पाइएपछि विश्व सम्पदास्थलमा सूचीकृतका लागि मनोनय दस्तावेज पेस गरिएको उनले बताएका थिए । उनले पनि तिलौराकोटमा भए गरेका अध्ययन अनुसन्धानका तथ्य बताएर तिलौराकोटको महत्त्व र उपादेयता सहभागीलाई बुझाएका थिए । 

तिलौराकोटलाई विश्व सम्पदास्थलमा ल्याउने कुरा सम्मेलनमा औपचारिक र अनौपचारिक रूपमा उठ्नु नै आफूहरूको सफलता भएको इकोमस नेपालका अध्यक्ष ज्ञानीन राईले बताए । त्यही भएर सम्मेलनमा आएका सबै डेलिगेट्सलाई तिलौराकोट र अर्को बुद्धस्थल निग्रोधारामको स्थलगत अवलोकन गराइएको उनले बताए । ‘यसले विदेशी डेलिगेट्सलाई सकारात्मक प्रभाव परेको छ,’ उनले भने, ‘अर्को वर्ष तिलौराकोटलाई विश्व सम्पदास्थलमा सूचीकृत बनाउने विषयमा उनीहरूले आफैं आवाज उठाउने अपेक्षा गरेका छौं ।’ सम्मेलनले विश्वमा तिलौराकोटबारे राम्रो सन्देश गएको पनि उनले बताए । Tilaurakot has always been limited to the proposed 'Tentative List of World Heritage Sites'

५ महादेशका ६७ मुलुकका २ सय २२ जना विदेशी लुम्बिनीमा सहभागी थिए । त्यस्तै सय बढी नेपाली सहभागी थिए । विदेशबाट अनलाइनमार्फत ५ सय बढी सहभागी थिए । ३६ विषयमा प्यानल छलफल र विभिन्न देशबाट आएका १ सय ९० कार्यपत्र प्रस्तुत गरिएको थियो । 

सम्मेलनमा जाम्बियादेखि स्विडेन तथा इक्वेडरदेखि अस्ट्रेलियासम्मका पुरातत्वविद्, सम्पदाविज्ञ, आर्किटेक्ट इन्जिनियर, स्टोनविज्ञ र सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञ र अनुसन्धानकर्ता सहभागी थिए । शान्ति भूमि लुम्बिनीमा गरिएको सम्मेलन र छलफल निकै प्रभावकारी भएको इकोमस इन्टरनेसनलका अध्यक्ष बेल्जियमकी प्राध्यापक टेरेसा प्याट्रिसियोले बताएकी थिइन् । ‘यसको प्रभाव चारैतिर छिट्टै देखिनेछ,’ उनले भनिन्, ‘यसले विश्वभरका सम्पदा संरक्षणमा कोसेढुंगा थप्नेछ ।’ 

स्मारक, सांस्कृतिक परिदृश्य र सांस्कृतिक सम्पदास्थलको संरक्षण, सुरक्षा, प्रयोग र प्रवर्द्धन एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा सन् १९६५ मा स्थापित इकोमसको अन्तर्राष्ट्रिय सचिवालय पेरिसमा छ । इकोमसका ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७ सय १५ जना विज्ञ सदस्य रहेका छन् । महासभा र सम्मेलन गरी ८ दिन सञ्चालन भएको थियो । 

फ्रान्सको पेरिसमा गत जुलाईमा भएको युनेस्कोको ४७ औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव छलफल हुँदा विश्व सम्पदामा सूचीकृत गर्ने विषय पारित हुन सकेन । युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमसले दिएको प्रतिवेदनका आधार सूचीकृत गर्ने प्रयास असफल भयो । कार्यसूचीमा छलफल हुनुअघि नै इकोमसले तिलौराकोटको प्रस्ताव डिफर (स्थगन) मा राख्ने सिफरिस गरेको थियो । कुनै पनि मुलुकले नेपालको पक्षमा संशोधन प्रस्ताव राखेको भए प्रस्ताव पारित हुन सक्थ्यो । तर, कुनै पनि मुलुकले संशोधन प्रस्ताव राखेनन् ।

‘भारतका अघि अन्य मुलुकले अप्ठ्यारो माने । इकोमसले डिफर (स्थगन)मा राखेको भारतको माराठा सैन्य ल्यान्डस्क्यापलाई जापानले संशोधन प्रस्ताव राख्दा बहुमतले पारित गरेर विश्व सम्पदामा सूचीकृत भएको थियो,’ सम्मेलनमा सहभागी हुन आएका एक अनुसन्धाताले भने । ४७ औं सेसनमा विश्वभरबाट प्रस्ताव भएका ३२ साइटलाई नोमिनेसनका प्रस्तावित भएकामा २६ वटा सूचीकृत भएका छन् । जसमध्ये २१ वटा कल्चरल, ४ वटा प्राकृतिक र एउटा मिक्स साइट छ । 

‘युनेस्कोमा भारत निकै शक्तिशाली राष्ट्रका रूपमा रहेको छ । उसको राम्रै दबदबा छ,’ वैज्ञानिक सम्मेलनमा सहभागी हुन आएका एक वैज्ञानिकले भने, ‘भारतले तिलौराकोटका विषयमा मताधिकार भएका २१ मुलुकसमक्ष लिखित असहमति राख्दा समस्या भएको थियो ।’ 

फ्रान्समा मुख्यालय रहेको युनेस्कोमा आवेदन गरेपछि सन् १९९६ मा एक टोलीले आएर तिलौराकोटमा सानो ट्रेन्च काटेर विवरण लगेको थियो । लगत्तै युनेस्कोले तिलौराकोटलाई प्रस्तावित वर्ल्ड हेरिटेज साइटको टेन्टेटिभ लिस्टमा राखेको थियो । त्यसयतादेखि त्यो लिस्टभन्दा माथि उठ्न सकेको छैन । त्यसपछि २०२३ मा आएर फेरि प्रक्रिया अघि बढाउँदै अहिले सरकार नै वर्ल्ड हेरिटेज स्थलमा इन्स्क्राइब गर्न कस्सिएर लागेको थियो । तिलौराकोट शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको स्थल हो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully