२४ भदौदेखि बन्द सर्वोच्चको 'डिजिटल सिस्टम' पूर्ण रूपमा 'रिकभर'

मंगलबारदेखि मुद्दाको डिजिटल जानकारी दिने 

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Supreme Court's 'digital system', closed since 24 Bhadra, fully 'recovered'

काठमाडौँ — भदौ २४ मा भएको जेन-जी प्रर्दशनका क्रममा भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त भएको सर्वोच्च अदालतसहित देशभरका अदालतको सर्भर पूर्ण रूपमा ‘रिकभर ’ भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार २४ भदौमा भएको आगजनीमा सर्वोच्च अदालत र हेटौंडामा रहेको डेटा सेन्टरमा आगलागी र तोडफोड भएको थियो । सर्वोच्च अदालतको मुख्य भवनको तेस्रो तलामा रहेको डेटा सेन्टरमा आगलागी हुँदा सम्पूर्ण सिस्टम जलेको थियो ।

हेटौंडा उच्च अदालतमा आक्रमण हुँदा केही क्षति भएको थियो । सर्वोच्चमा सबै सिस्टम जलेकाले रिकभरीका लागि समय लागेको थियो । करिब डेढ महिनादेखि डिजिटल रिकभरीका लागि आईटी टोली खटिएको थियो । प्रवक्ता कोइरालाका अनुसार मंगलबारदेखि मुद्दाका सबै डिजिटल जानकारी दिन सक्ने अवस्थामा अदालत तयार भएको बताए ।

यसअघि बन्दीप्रत्यक्षीकरण र केही निवेदन म्यानुअल रूपमा चलाउँदै आएको थियो । गत शुक्रबार अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ म्यानुअल रूपमा गरेको थियो ।

जेन-जी आन्दोलनका क्रममा ९ लाख ३३ हजार मिसिल जलेका थिए । त्यस्तै डिजिटल रूपमा रहेका फाइल पनि के हुने भन्ने अन्योल भएपछि सर्वोच्चले फुलकोर्ट बैठकबाटै निर्णय गरेर रिकभरी थालेको थियो । 

‘अब सबै अदालतको डिजिटल सिस्टम रिकभरी भएको छ । डिजिटल इन्ट्री भएका सबै विवरणमा सुरक्षित पाइएको छ,’ उनले भने ‘डिजिटल इन्ट्री भएका विवरण अब पहुँचमा आएको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully