उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किँदा मौसमसम्बन्धी पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन तथा एक्लै यात्रामा ननिस्कन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपिल गरेको छ ।
What you should know
काठमाडौँ — पछिल्ला दुई दिनमै लेक लागेर मनाङ र मुस्ताङमा चार जनाको मृत्यु भएको छ । कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको हो । यस्तै, एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बंगालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले आगामी मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा/हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सो सम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पर्वतारोहण, पदयात्रा लगायतका उद्देश्यले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किरहेको सन्दर्भमा उल्लिखित मौसम पूर्वानुमान र लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको प्राधिकरणले जनाएको छ ।
त्यसैले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं त्यसको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरणले अपिल गरेको छ ।
