गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिल सिन्हा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सोमबार मधेस प्रदेश जान लागेका हुन् ।
काठमाडौँ — शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालसहित तीन मन्त्री र गृहसचिव मधेश प्रदेश जाने भएका छन् ।
गृहमन्त्री अर्यालसहित उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सोमबार मधेस प्रदेश जान लागेका हुन् । गृहसचिव रामेश्वर दंगाल पनि सँगै जाने गृह मन्त्रालयले जानकारी दिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न गृहमन्त्रीलगायतका मन्त्री र सचिव सोमबार जनकपुर जाने कार्यक्रम छ ।
उनीहरू सोमबार र मंगलबार मधेस प्रदेशमा रहने कार्यक्रम छ । त्यस क्रममा सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।
