बाघजस्तै पर्यटकीय ‘प्रडक्ट’ बन्न सक्छ हिउँचितुवा

सबैलाई लोभ्याउने सुन्दर हिउँचितुवा नेपालमा ३ सय ९७ को संख्यामा रहेको तथ्यांक सार्वजनिक भएको छ । सन् २०१५ देखि २०२५ सम्म गरिएको जेनेटिक सर्भे र क्यामरा ट्रयाप विधिबाट उक्त संख्या पहिचान गरिएको हो ।

कार्तिक ६, २०८२

मनोज पौडेल

Snow leopards can become a tourist 'product' like tigers

What you should know

लुम्बिनी — जीउ नै कमाउने चिसो हिमाली भेग होस् वा भोटका समथर पठार, हिउँचितुवाले आफ्नो वासस्थान बनाएको हुन्छ । कममात्रै मान्छेले देख्ने सौभाग्य पाउने यो वन्यजन्तुको नाम सुन्दै भय र त्रास उत्पन्न हुन्छ । रहस्यमयी सिकारीका रूपमा पनि यसले आफ्नो चिनारी बनाएको छ । तर, देख्दा यो उत्तिकै चित्ताकर्षक र मनमोहक पनि लाग्छ ।

अन्य चितुवाभन्दा हिउँचितुवा निकै सुन्दर र मनमोहक देखिन्छ । यसलाई देख्दा सबै रोमाञ्चित हुन्छन् । अरू चितुवाभन्दा हिउँचितुवा बेग्लै प्रकार, फरक जीउडाल, अनौठो स्वभाव र बेग्लै वासस्थानमा बस्ने प्राणी हो । ठूलो बिरालो प्रजातिको यो सबैभन्दा सुन्दर र आकर्षक मांसाहारी जनावर हो । यसलाई हेर्न विश्वभरकै मानिस निकै उत्साहित र लालायित हुन्छन् । आफैंमा सुन्दर, त्यसमा पनि सेताम्य हिमाल आसपास पाइने हुँदा यसलाई हेर्न औधि मन पराउँछन् । हिउँचितुवा देख्न पाए आफूलाई सौभाग्यशाली ठान्ने पनि उत्तिकै छन् ।

जलवायु परिवर्तन, वासस्थानको कमी, विनाश र खण्डीकरण तथा चोरी सिकार जस्ता समस्याले भने हिउँचितुवा संरक्षणमा चुनौती थपिएको छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्‍याउँदा वासस्थानमा आएको ह्रासले यसको प्राकृतिक आहारा प्रजातिमा कमी आएको द स्नो लियोपर्ड ट्रस्ट, अमेरिकाका नेपाल प्रतिनिधि डा. हेमसागर बरालले बताए । नाउर झारल यसको प्रमुख आहार रहेकामा त्यसको संख्या घटदै जाँदा हिउँचितुवालाई समस्या थपिएको छ । 

आहार नपाउँदा साबिकको वासस्थान छाडेर अर्को वासस्थान खोज्दा हिउँचितुवालाई खतरा हुन सक्छ । अर्को वासस्थानमा जाँदा प्र्रतिशोधको भावनाले मारिने वा अन्य हिउँचितुवासँग झगडाले मर्ने वा घाइते हुन सक्ने जोखिम पनि उत्तिकै रहेको डा. बरालले सुनाए । त्यसैले अक्टोबर २३ मा पर्ने विश्व हिउँचितुवा दिवसमा हिउँचितुवा संरक्षणका लागि सबैले कम्तीमा २३ मिनेट समय दिऔं भने सन्देश दिइएको उनले बताए । 

सबैलाई लोभ्याउने सुन्दर हिउँचितुवा नेपालमा ३ सय ९७ को संख्यामा रहेको तथ्यांक सार्वजनिक भएको छ । सन् २०१५ देखि २०२५ सम्म गरिएको जेनेटिक सर्भे र क्यामरा ट्रयाप विधिबाट उक्त संख्या पहिचान गरिएको हो । 

नेपालका कञ्चनजंघा, गौरीशंकर, मनास्लु–अन्नपूर्ण संरक्षण क्षेत्र र आससासका क्षेत्र तथा पूर्वी डोल्पा, शे–फोक्सुण्डो र हुम्लामा गरिएको वैज्ञानिक अध्ययनबाट यो संख्या पत्ता लगाइएको थियो । नेपालमा पहिलोपटक गरिएको हिउँचितुवा सर्वेक्षण प्रतिवेदन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत वैशाखमा यो तथ्य सार्वजनिक गरेको थियो । 

सर्वेक्षणपछि नेपालमा पनि राम्रो संख्यामा हिउँचितुवा पाइएपछि संरक्षणकर्मी उत्साहित छन् । हिउँचितुवा हेर्ने ट्रेल विकास गर्न सकियो भने मुलुकले राम्रो आय आर्जन गर्न सक्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. नरेश सुवेदीले बताए । 

‘हिउँचितुवा देखाउने पर्या पर्यटनको सम्भावना नेपालमा धेरै छ,’ उनले भने, ‘जसरी बाघ हेर्न विदेशी नेपाल आउँछन्, त्यसैगरी उनीहरूलाई हिउँचितुवा देखाउन सक्छौं ।’ बाघ हेर्न आउनेभन्दा बढी खर्च गर्न सक्ने पर्यटक हिउँचितुवा हेर्न आउने पनि उनले सुनाए । ‘यसले मुलुकको अर्थतन्त्र र स्थानीय रोजगारीलाई राम्रो फाइदा पुर्‍याउँछ,’ उनले भने, ‘ट्रेकिङमा जाने पर्यटकलाई लक्षित गरी हिउँचितुवा पाइने ठाउँमा स्नो लियोपर्ड ट्रेल विकास गर्ने र त्यसलाई स्थानीयको जीविकोपार्जनसँग जोड्न सकियो भने सबैको आकर्षण बन्छ ।’ यसले बाघजस्तै अर्को पर्यटकीय प्रडक्टको आकर्षण थपिने पनि उनले बताए । 

विश्वमा पाइने हिउँचितुवाको संख्यामा १० प्रतिशत नेपालमा पाइन्छ । विश्वमै हिउँचितुवा पाइने क्षेत्रफल दुई प्रतिशत नेपालमा रहेको छ । नेपालमा हिउँचितुवा पाइने सम्भावित वासस्थानको ३० प्रतिशत संरक्षित क्षेत्र र ७० प्रतिशत वासस्थान संरक्षित बाहिर छ । यो पनि एउटा चुनौती बनेको छ । विश्वमा हिउँचितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानका हिमाली र पहाडी क्षेत्रमा पाइन्छन् ।

नेपालमा हिमालतिर पाइने हुनाले नेपाली भाषामा हिउँचितुवा भनिन्छ । यसलाई थकाली भाषामा पाङ्चेन वा पाङ्चे भनिन्छ भने गुरुङ भाषामा मोतो, तमाङमा सेर्चेन तथा तिब्बती समुदायमा सार्केन नामले चिनिन्छ । विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । नेपालमा २ हजार ७ सय मिटरदेखि ५ हजार ६ सय मिटर उचाइमा पाइने भनिएता पनि ६ हजार मिटर उचाइ भएका भञ्जाङ भएर यसले ओहोरदोहोर गर्ने गरेको प्रमाण भेटिएको छ । 

लोपोन्मुख र दुर्लभ मानिएको यसले पहाडी जैविक विविधता संरक्षणमा राम्रो सहयोग गर्छ । त्यस कारण यसलाई हिमाली भेगको स्वच्छ पारिस्थितिक प्रणालीको सूचक प्रजाति पनि भनिन्छ । यसले बिरामी र कमजोर नाउर, झारल, घोरल, कस्तूरी मृग, थार र डाँफे लगायतलाई आहार बनाई प्राकृतिक रूपमा नियन्त्रण र सन्तुलन राखेको हुन्छ । हिउँचितुवाको आहार वन्यजन्तु चाहिनेभन्दा बढी भए स्थनीय वनस्पति र बालीनाली खाएर हानि नोक्सानी गर्न सक्छन् । हिउँचितुवाले यस्ता वन्यजन्तुलाई चाहिनेभन्दा बढ्न नदिएर दुरुस्त र स्वस्थ्य राख्ने कार्य पनि गरेको हुन्छ । 

यसलाई हिमाली क्षेत्रको छाता प्रजाति पनि भनिन्छ । यसले नाउर, झारल, घोरल, कस्तूरी मृग र थार संरक्षण गर्न घामपानीबाट जोगिन छाताको जस्तै योगदान गर्छ । त्यस कारण जहाँ हिउँचितुवा हुन्छ, त्यहाँ नाउर, झारल, घोरल र कस्तूरी मृग प्रशस्त पाइन्छन् । हिउँचितुवा संरक्षणमा राम्रो काम गरेबापत रोलेक्स पुरस्कार विजेता तथा हिउँचितुवा विशेषज्ञ रिन्जिन फुन्चोक लामाका अनुसार हिउँचितुवाले यी वन्यजन्तुको संख्या सन्तुलित बनाउन राम्रो भूमिका खेल्ने गर्छ ।

‘यो सामान्य चितुवाभन्दा थोरै मात्र सानो र बाक्ला रौंले ढाकिएको हुन्छ,’ उनले भने, ‘यसका खुट्टा तथा अनुहारमा स–साना कालो थोप्ला हुन्छन् । तुलनात्मक रूपमा ठूलो टाउको तथा लामो पुच्छर हुन्छ । फिक्का ध्वासे खैरो शरीरमा ठूला–ठूला गाढा खैरा बुट्टा हुन्छन् ।’ शरीरको तुलनामा पञ्जा निकै ठूला हुने हुँदा यसले ठूलठूला सिकार सजिलै गर्ने पनि उनले सुनाए । Snow leopards can become a tourist 'product' like tigersअन्नपूर्ण संरक्षण क्षेत्रमा देखिएको हिउँचितुवा । तस्बिर सौजन्यः चुङ्बा शेर्पा 

शरीरका बाक्ला तथा लामा रौंले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रम रहेका उच्च हिमाली क्षेत्रमा रहन यसलाई मद्दत गर्ने लामो समयदेखि हिउँचितुवा अनुसन्धान गरिरहेका प्रोफेसर करणबहादुर शाहले बताए । ‘हिमाली क्षेत्रको प्रतिकूल मौसम र विकटताबाट बच्न हिउँचितुवाको शरीर विकसित भएजस्तै लाग्छ,’ उनले भने । 

नेपाली विकिपिडियाका अनुसार थुतुनो छोटो हुन्छ र नाकका प्वाल ठूला हुन्छन् । जसले गर्दा हिमाली क्षेत्रमा स्वास फेर्न सजिलो हुन्छ । यसको शरीरमा हल्का खैरो रंगको लामा र बाक्ला भुत्ला हुन्छन् । आँखा नीलो वा हरियो रंगको हुन्छ, पञ्जा ठूला हुन्छन्, जसले गर्दा यिनीहरू हिउँमा सजिलै हिँड्न सक्छन् । लामो र लचकदार पुच्छरले गर्दा चट्टानी भूभागमा हिँड्दा शरीर सन्तुलन गर्न सहयोग मिल्छ ।

यो हिमाली क्षेत्रका खुला भीर, पहरा, खोंच, वन र चट्टानी पहाडमा बस्छ । थोप्ले चितुवा र पाटे बाघजस्तै यसले पनि आफ्नो क्षेत्र निर्धारण गरेर एक्लै बस्छ । दुवै खुट्टाले खोस्रेर, दिसा पिसाब गरेर, ढुंगा वा चट्टानमा आफ्नो उपस्थितिको चिह्न छोड्ने गर्छ । अझ संसर्गका बेला यस्तो चिह्न बढी छोड्ने गरेको पाइएको प्रोफेसर शाहले बताए । 

तौल बढीमा भालेको ४५ देखि ५५ किलो हुन्छ भने पोथीको ३५ देखि ४० किलोसम्म मात्रै हुन्छ । यसका गोडा भने हिमाली पहरालाई सुहाउने खालका छोटा हुन्छन् । हिउँचितुवाको निधार फराकिलो र चिउँडो भुक्क उठेको हुन्छ । शरीरभरि हल्का खैरो मिसिएको भुत्ला हुन्छ, ढाडतिर सपक्क मिलेका भुत्ला भए पनि सबै शरीर करिब १२ सेन्टिमिटरसम्म लामा रौंले ढाकिएको हुन्छ । यस्तो भुत्लाले चिसो भुइँमा बस्न सजिलो पार्छ । समग्रमा यसको शरीर सेतो रौंले ढाकिएको हुन्छ । झुलुक्क हेर्दा शरीरभन्दा पुच्छर लामो हो कि भन्ने भान पर्छ ।

पोथी तीन वर्षकी भएपछि भाले खोज्छे । जनवरीदेखि मार्च महिनासम्ममा भाले लाग्छ । करिव ९३ देखि १ सय १० दिनमा गर्भधारण गरेपछि पोथीले १ देखि ५ वटा बच्चा जुन–जुलाई महिनातिर पाउँछे । बच्चा गाढा रंगका हुन्छन् र सिकार गर्न सिक्नुअघि डमरु आमाको दूध तथा ल्याइदिएको खानेकुरामा आश्रित हुन्छन् ।

जन्मेको बेला ५ सयदेखि ६ सय ५० ग्रामसम्म तौल भएको डमरुको आँखा खुलेको हुँदैन । प्राकृतिक अवस्थामा यो चितुवा १२ वर्षसम्म बाँच्ने अनुमान छ । चिडियाखानामा १ देखि १९ वर्षसम्म बाँचेको उदाहरण छन् । भाले र पोथीको संसर्ग हुने समयमा आफ्नो उपस्थिति जनाउनका लागि यसले बिरालोको जस्तो लामो आवाज निकाल्ने हिउँचितुवा विशेषज्ञ रिन्जिन फुन्चोक लामाले बताए ।

मनोज पौडेल

Link copied successfully