डोम समुदायको प्रश्न : हामीले बनाएका सामग्रीले भगवान् पुज्ने, तर हामीमाथि किन छुवाछूत ?

‘दुनियाँ कहाँबाट कहाँ गइसक्यो, हामीलाई भने समाजले अझै मानवकै रूपमा स्वीकार गर्न मानेका छैनन्,’ निर्जला मल्लिकको प्रश्न छ, ‘हामीले बनाउने सामानले भगवान्‌को पूजा हुन्छ, तर हाम्रो शरीरचाहिँ किन अछूत ?’

कार्तिक ६, २०८२

विनय आजाद

Question from the Dom community: We worship God with the materials we make, but why are we subjected to untouchability?

What you should know

सिरहा — सिरहाको औरही गाउँपालिका-५, औरहीस्थित सार्वजनिक जग्गामा करिब ३० वर्षदेखि बस्दै आएका डोम समुदायका दीपक मल्लिकको घरमाथि २०८१ फागुन १० मा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवकै रोहबरमा एकाएक डोजर चल्यो । यसरी उनको आठ जनाको परिवारको उठीबास नै लाग्ने गरी डोजर चलाउनुको कारण भने उदेकलाग्दो थियो ।

जुन जग्गामा उनीहरू बसोबास गर्दै आएका थिए, सोही स्थानमा चैत १७ गतेबाट महायज्ञ लगाउने र डोम यहाँ बस्दा अछूत हुने भन्दै प्रदेश सरकारको जनता आवाज कार्यक्रमबाट बनेको पक्की घर भत्काएर गाउँकै खोला किनारमा अस्थायी टहरामा उनको परिवारलाई सारिएको थियो । यति मात्र होइन, अछूत बस्दै आएको भन्दै उनको घर भएको स्थानको माटोसमेत ताछेर फालियो ।

कान्तिपुरले चैत ७ गते यसबारे समाचार प्रकाशित गरेपछि बल्ल यो घटना बाहिरियो र राष्ट्रिय रूप नै लियो । त्यसपछि चैत ९ मा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गर्‍यो । उनीहरूसहित महायज्ञका मूल पुजारी भनिएका बजरंगी बाबा गरी तीन जनामाथि भेद्भाव तथा जातीय छुवाछूत र घर तोडफोड गरी विस्थापन गरेको कसुरमा मुद्दा दर्ता भएको थियो ।

सिरहा जिल्ला अदालतबाट जनही एक लाख धरौटीमा उनीहरू रिहा भए पनि यो मुद्दा भने अझै विचाराधीन नै छ । यसबारे थाहा हुँदाहुँदै पनि प्रशासनले बेवास्ता गरेको आरोपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित केन्द्र तानिएका थिए ।

Question from the Dom community: We worship God with the materials we make, but why are we subjected to untouchability?यस्तै, सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकमा बसोबास गर्दै आएका गणपति मल्लिक डोमको परिवारमाथि गत भदौ १९ मा अछूत भन्दै कुटपिट भयो । गागन खोलाको किनारमा सार्वजनिक जग्गामा १५ वर्षदेखि बस्दै आएका गणपतिको परिवारलाई छिमेकीहरूले नै कुटपिट गरेका थिए ।

यसअघि गोलबजार नगरपालिका–१३ दुर्गापुर बस्दै आएकोमा त्यहाा पनि पटक–पटक जातकै कारण दुर्व्यवहारमा परेपछि गागन खोला किनारको सार्वजनिक जग्गामा आएर बसेका थिए । उनीहरू यहाँ सरेर आउँदा आसपासमा खासै घर थिएनन् । सडक र बजारको विकाससँगै छेउछाउमा घरहरू बाक्लिँदै गए ।

नयाँ आएका छिमेकीहरूले बस्तीमा अछूत बस्दा अशुभ हुने भन्दै उनीहरूलाई बस्तीभन्दा पर खोलाको बगरमा सर्न पटक-पटक धम्की दिँदै आएका थिए । तर, नमानेपछि अनेक दुःख दिँदै आएका छिमेकी कुटपिटमै उत्रिए । 

Question from the Dom community: We worship God with the materials we make, but why are we subjected to untouchability?यस घटनामा प्रहरीले स्थानीय सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, श्यामसुन्दर महतोलगायतमाथि भेद्भाव तथा जातीय छुवाछूत कसुरमा मुद्दा दर्ता गरेको छ । तर, उनीहरूलाई पक्राउ गर्नेतर्फ प्रहरीले तदारुकता देखाएको छैन । 

मधेशमा अति विपन्न र अल्पसंख्यक जातिको सूचीमा पर्ने डोम समुदायसँग समाजले मात्र होइन, राज्य संयन्त्रले समेत कुन तहको अमानवीय व्यवहार गर्दै आएको छ भन्ने कुराको उदाहरण हुन् यी घटना । तर त्यही डोम समुदायले भने समाजको ठूलो र महत्त्वपूर्ण आवश्यकता पूर्ति गर्दै आएका छन् ।

यो कात्तिक महिना हो, अर्थात् सूर्य उपासनाको पर्व छठको महिना । छठमा बाँसका सामग्रीहरूको प्रयोग अनिवार्य छ । छठमा मात्र होइन, विवाहसहित विभिन्न पूजाआजा, श्राद्धलगायतमा पनि बाँसबाट बनाइएका सामग्रीको प्रयोग हुन्छ ।

बाँसका सामग्री भने उनै डोम समुदायले बनाउँछन् । अरु बेला बेरोजगारजस्तै रहने यो समुदायको व्यस्तता यस्तो बेला निकै बढ्छ । मिर्चैया नगरपालिका–६ मटियर्वाकी ३८ वर्षीया निर्जला मल्लिक शनिबार दिउँसो २ बजेसम्म पनि खाना खाएकी थिइनन् । 

आफ्नै घरमा नाङ्लो बनाउादै भेटिएकी उनी अचेल काम गर्दागर्दै खाना खाने र नुहाउने ठेगानसमेत नहुने बताउँछिन् । छठमा खासगरी बाासका ढाकी, नाङ्लो, कुनिया, टपरीलगायत प्रयोग हुन्छ । यी सामग्री सम्मिलित प्रतिसेट ७ सयसम्ममा बिक्री हुने गरेको उनले सुनाइन् ।

बजारमा भित्रिएको पित्तल, स्टिल र प्लास्टिकका सामानका कारण पछिल्लो समय बाँसका सामग्रीको माग त घटेको छ, तर यसको महत्त्व भने घटेको छैन । यसबाट अहिले पनि एउटा सिजनमा प्रतिपरिवार २० देखि ३० हजारसम्म रुपैयाँ आम्दानी हुने उनले बताइन् ।

जीविका चलाउने आधारकै रूपमा रहँदै आएको बाँसका सामग्रीको बिक्री हुने सिजनमा उनी जति खुसी छिन्, त्यति नै दुःखी पनि छिन् । किनकि, कानुनी रूपमा छुवाछूत अन्त्य भएको धेरै भइसके पनि निर्जला र उनको समुदाय अझै समाजमा छुवाछूतको मार खेपिरहेका छन् ।

समाजमा आफूहरू सम्मानपूर्वक पनि बाँच्न नपाएको र पुस्तौंदेखि खेप्दै आएको छुवाछूतको व्यवहारका कारण मन पिरोलिएको सुनाउँछिन् उनी । ‘दुनियाँ कहाँबाट कहाँ गइसक्यो, हामीलाई भने समाजले अझै मानवकै रूपमा स्वीकार गर्न मानेका छैनन्,’ उनले प्रश्न गरिन्, ‘हामीले बनाउने सामानले भगवान्‌को पूजा हुन्छ, तर हाम्रो शरीरचाहिँ किन अछूत ?’

कतिसम्म भने उनीहरूले नै बनाएका सामग्रीले पूजा हुने छठ पर्वमा नै उनीहरूले विभेद भोग्दै आएका छन् । कथित उपल्लो भनिने जातकाले उनीहरूलाई घाटमा सँगै छठ मनाउन दिँदैनन् । ‘हाम्रो जातका मान्छेलाई कतिपय ठाउँमा एउटै पोखरीमा छठ गर्न दिइन्न,’ स्थानीय विनोद मल्लिकले कान्तिपुरसित भने, ‘यदि एउटै पोखरीमा गर्न दिएछ भने पनि उनीहरूको घाटभन्दा पर एकान्तमा हाम्रो घाट हुन्छ ।’

Question from the Dom community: We worship God with the materials we make, but why are we subjected to untouchability?डोम समुदाय मात्र होइन, मधेशका मुसहर, चमार, हल्खोरलगायतका समुदाय पनि यस्तै विभेद र छुवाछूतबाट प्रताडित छन् । उनीहरूमाथि गाउँदेखि, विद्यालय, बजारसम्म विभेद र छुवाछूत मात्र होइन, अछूत भन्दै कुटपिटसम्मका घटना हुँदै आएका छन् ।

समाजमा दलित समुदायमाथि हुँदै आएको व्यवहार अमानवीय मात्र नभई दण्डनीय पनि भएको बताउँछन्, मधेश पुस्तकालयका संरक्षकसमेत रहेका आभाष सिंह । मुलुकमा व्याप्त भेद्भाव र जातीय छुवाछूतलाई राज्यसत्ताले नै मलजल गरेको आरोप लगाउँदै उनले राज्य संवेदनशील नभएसम्म यसको अन्त्य असम्भव रहेको जिकिर गरे । 

‘जातीय छुवाछूतजस्तो कुप्रथा हट्न नसक्नु नेपाली समाजको ठूलो कलंक हो, यसमा मुख्य दोष राज्यकै छ,’ उनले भने, ‘किनकि, राज्य र राज्यका निकायमा उच्च जातीय अहंकार बोकेका मान्छेहरूको बर्चस्व छ, जबसम्म राज्य संवेदनशील बन्दैन, तबसम्म यसको अन्त्य असम्भव छ ।’

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully