दुई वर्षअघिसम्म दसैं-तिहारको बेला गाउँलेहरु जम्मा भएर पिङ खेल्ने, नाचगान गर्ने, विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुने जाजरकोटका अधिकांश गाउँ अहिले सुनसान छन् ।
What you should know
जाजरकोट — तीन वर्षअघिसम्म नलगाड नगरपालिका–१ चिउरीटोलका सर्वजीत विक तिहारको बेला किनमेल, घर लिप्ने, रंगरोगन गर्ने, सेल–फिनी पकाउने, भैली खेल्नेलगायत काममा व्यस्त हुन्थे ।
‘भूकम्प गएपछि त चाडबाड पनि किन आउॅछन् जस्तो लाग्छ, सानो टहरोमा ७ जनाको परिवार कोच्चिएर बस्नुपरेको छ,’ उनले भने, ‘सामान्य टिकाटालो त गर्छौं, तर भैली खेल्ने र खानाका परिकार बनाउने काम पोहाेरबाटै छोडियो ।’
उनका छिमेकी भीमसेन विकले भूकम्पमा पत्नी कमला र छोरा ४ वर्षीय सञ्जयलाई गुमाए । ‘चाडबाड आयो की बुढी र छोराको यादले मर्माहत बनाउँछ,’ उनले भने, ‘गत वर्ष त वार्षिकी नै थियो, यो वर्ष पनि फिनीरोटी, सेललगायत परिकार बनाएनौं, टिकोटालो पनि हुँदैन ।’
जाजरकोटको बारेकोट केन्द्र भएर २०८० कात्तिक १७ गते गएको भूकम्पका कारण चिउरीटोलमा मात्रै १३ जनाको ज्यान गएको थियो । अहिले पूरै बस्ती नै अस्थायी टहरामा बसिरहेको छ । जीविकोपार्जनमा समस्या भएपछि अधिकांश युवा मजदुरीका लागि भारत गएका छन् । कामको खोजीमा गएकाहरु नफर्किएकाले गाउॅमा तिहारको रौनक नै नभएको स्थानीय अगुवा नरेश विकले बताए । ‘हरेक परिवारबाट १/२ जना इन्डिया गएका छन्, तर यसपाली ८/१० जना मात्र फर्किए,’ उनले भने, ‘युवा नै नभएपछि गाउँमा तिहारको चहलपहल छैन, बस्ती सुनसानजस्तै छ ।’ गाउँका करिब ८० परिवारबाट १ सय ५० जनाजति युवा भारतमा मजदुरीका लागि गएको उनले सुनाए ।
चिउरीगाउँभन्दा झण्डै डेढ घण्टा पैदल दूरीको भेरी नगरपालिका–१ रावतगाउँमा पनि तिहारको रौनक छैन । भूकम्पमा रावतगाउँमा १६ जनाले ज्यान गुमाएका थिए । ‘पारि रुकुमतिरका गाउँमा मादल बजेको, भैली खेलेको सुनिन्छ, तर हाम्रोतिर न कसैको घरमा सेलरोटी—फिनीलगायत परिकार पाकेको छ न भैली नै कसैले खेल्नछन्,’ स्थानीय अंगबहादुर नेपालीले भने, ‘पुरै गाउँ नै नयाँ घर नबन्दासम्म चाडबाड नमनाउने सोचाइमा छौं ।’ ८ जनाको परिवारलाई अस्थायी टहरामा बस्न मुस्किल भएको उनले बताए ।
१ नम्बर वडाका स्थायी बासिन्दासमेत रहेका भेरी नगरकार्यपालिका सदस्य डोटे नेपालीले झण्डै ९० घर रहेको गाउँमा कसैले तिहारको तयारी नगरेको बताए । ‘दिदीबहिनीका घर पनि भूकम्पले ढलेका छन्, उनले भने, ‘अधिकांश परिवारसँग न तिहार मनाउने खर्च छ न पर्याप्त खाद्यान्न नै ।’
चाँडपर्वका बेला समेत सदरमुकाम खलंगामा मानवीय चहलपहल खासै नभएको इन्सेकका जिल्ला प्रतिनिधि वासुदेव शर्माले बताए । ‘भूकम्पअघिसम्म चाडबाडको चहलपहल त छुट्टै हुन्थ्यो, किनमेल गर्नेको भीडले बजार नै गुल्जार हुन्थ्यो,’ उनले भने, ‘सबै टहरोमा बसेका छन्, चाडबाडको गुन्जायस नै छैन ।’ उनका अनुसार दुई वर्षअघिसम्म दसैं—तिहारको बेला गाउॅलेहरु जम्मा भएर पिङ बनाउने, नाचगान गर्ने, विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुने जाजरकोटका अधिकांश गाउॅ अहिले सुनसान छन् ।
सरकारले भूकम्पप्रभावितका निजी आवासको पुनर्निर्माणका लागि प्रतिपरिवार चार लाख रुपैयाँ दिने कार्यविधि बनाएको छ । प्रबलीकरणका लागि अढाई लाख र सामान्य मर्मतका लागि एक लाख रुपैयाॅ दिने कार्यविधिमा उल्लेख छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ७६ हजार घरमा भूकम्पले क्षति पुर्याएको थियो । जसमध्ये जाजरकोटमा मात्रै ४८ हजार ५ सय १७ लाभग्राही कायम भएका छन् । जसमा करिब ४३ हजारले अस्थायी आवास बनाएका छन् ।
पुनर्निर्माणका लागि स्थानीय तहहरुले लाभग्राहीसँग सम्झौताको काम सुरु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । उनका अनुसार अहिलेसम्म भेरी नगरपालिकामा ६ सय लाभग्राहीले पुनर्निर्माणको सम्झौता गरेका छन् भने थप १ हजार ४ सय जनाको लाभग्राही कायम गर्न सिफारिस आएको छ ।
नलगाड नगरपालिकाले झण्डै ३ हजार लाभग्राही कायम गर्न सिफारिस गरेको उनले जानकारी दिए । भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले चिसो मौसम सुरु हुन थालेकाले भूकम्पप्रभावितका लागि नयाँ आवास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताए ।
