कार्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हलि पूजा

मानव सेवा गर्ने गोरु र कृषि कर्ममा संलग्न किसानको सम्मानस्वरूप आज हलि तिहार र गोवर्द्धन पर्व देशभर मनाउने परम्परा छ ।

कार्तिक ५, २०८२

कान्तिपुर संवाददाता

Kartik Shukla Pratipada: Bull, Govardhan and Hali Puja

काठमाडौँ — कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । 

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully