'हाम्रो अध्यक्षसहित सबैपार्टीका नेताहरूको सुरक्षा हटाएको छ, शान्ति सुरक्षाको स्थिति छैन तर सुरक्षाकर्मी फिर्ता लिएको छ'
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकार संघीयता र समावेशिताप्रति गम्भीर हुनुपर्ने जनमत पार्टीले बताएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार साँझ बालुवाटारमा बोलाएको दलहरूसँगको छलफलमा जनमतका नेता चन्दनकुमार सिंहले सरकार संघीयता र समावेशिताप्रति गम्भीर बन्नुपर्ने बताएका हुन् ।
संघीयता र समावेशी व्यवस्थाप्रति नकरात्मक धारणा बनाउन खोजिएको भन्दै सिंहले प्रधानमन्त्री कार्कीलाई गम्भीर बन्न आग्रह गरेका हुन् । 'संघीयताप्रति नकरात्मक धारणा बनाउने, समावेशिताप्रति नकरात्मक प्रभाव परिरहेको छ । केही नेताहरूले संघीयताप्रति विष बमन गरिरहेका छन्,' सिंहले भने, 'संघीयता र समावेशिताप्रति गम्भीर बन्न प्रधानमन्त्रीलाई आग्रह गरेको छु ।'
शान्तिसुरक्षाको प्रत्याभूति नभइरहेको बेला सरकारले नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएकोप्रति पनि सिंहले प्रश्न गरेका थिए । 'हाम्रो अध्यक्षसहित सबै पार्टीका नेताहरूको सुरक्षा हटाएको छ, शान्ति सुरक्षाको स्थिति छैन तर सुरक्षाकर्मी फिर्ता लिएको छ,' उनले भने ।
सरकारले निर्वाचनको वातावरण बनाएमा जनमत भाग लिने बताएको सिंहले जानकारी दिए । जेन-जी आन्दोलनका क्रममा जेलबाट भागेका कैदी र लुटिएका हतियारले समाजमा झन असुरक्षा पैदा गरेको कुरा पनि बैठकमा राखेको सिंहले बताए । बैठकमा राखेका कुरा उल्लेख गर्दै सिंहले भने, 'कैदीबन्दी भागेकामा फिर्ता भएका छैनन् । सरकारले नियनत्रण गर्न सकेन भने अर्को उपद्रव हुन्छ । हामी चुनावमा भाग लिन्छौं सरकारको दायित्व वातावरण बनाउने हो । बैठक र संवादलाई निरन्तरता दिनुपर्छ ।'
प्रधानमन्त्री कार्कीले भने चुनावको वातावरण बनाउन सरकार लागिरहेको बताउँदै दलहरूको पनि साथ रहनुपर्ने बताएकी थिइन् ।
