प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल भन्छन् - मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको मुख्य ध्येय प्रतिनिधिसभा निर्वाचन गराउनु रहेको बताएकी छन् ।
आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन गराउनु सरकारको मुख्य ध्येय रहेको र त्यो सम्भव गराउनका लागि राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।
राजनीतिक दलका नेताहरूसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन् ।
छलफलपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्नका लागि दलहरूको सहयोग आवश्यक रहेको उल्लेख गरेका थिए । 'सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राख्नुभएको छ । चासोहरू व्यक्त भएका छन् । मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ,' खनालले भने, 'प्रधानमन्त्रीले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ ।'
छलफलमा राजनीतिक दलका नेताहरूले चुनावका लागि सुरक्षा चुनौती रहेको बताउँदै त्यो व्यवस्थापन कसरी गर्ने लगायतका चासो राखेका थिए ।
