प्रधानमन्त्री र दलका नेताबीचको छलफलमा पर्यवेक्षकहरु पनि सहभागी हुने

उक्त संवादमा दुई जना पर्यवेक्षकहरु केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने भएका हुन् ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Observers will also participate in the discussions between the Prime Minister and party leaders.

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग केहीबेरमा छलफल गर्दै छिन् । उक्त संवादमा दुई जना पर्यवेक्षकहरु केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । चुनावको वातावरण बनाउन भइरहेका विभिन्न प्रयासमध्ये एउटा प्रयासका रूपमा दलहरूसँग छलफल राखिएको उनको भनाइ छ । 

सरकारले निर्वाचनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, पूर्व तयारी, सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोग र सुरक्षासम्बद्ध निकायसँग छलफल गर्दै आएको छ । निर्वाचन तयारीलगायतका  विषयमा प्रधानमन्त्री कार्कीबाट पहिलो पटक राजनीतिक दलसँग हुन लागेको औपचारिक छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत दलका नेता सहभागी हुनेछन् । ती दलबाट उच्चस्तरीय प्रतिनिधित्व हुने संयोजक रावलले जनाए ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो । 

यसैगरी निर्वाचन आयोगले गत असोज ३० गते विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्ने समेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका थिए । 

०००

बैठकमा सहभागी हुने विभिन्न दलका नेताहरु :

नेपाली कांग्रेस : गगन थापा, प्रकाशशरण महत

एमाले : शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली

माओवादी : वर्षमान पुन, पम्फा भुसाल

रास्वपा : स्वर्णिम वाग्ले, सोविता गौतम

राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ

उपेन्द्र यादव, प्रकाश अधिकारी

सर्वेन्द्रनाथ शुक्ल

रेशम चौधरी

नेमकिपा : प्रेम सुवाल

चन्दन सिंह

कान्तिपुर

Link copied successfully