सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको टेकु दोभानमा अन्त्येष्टि

अन्त्येष्टि समारोहमा नेपाल पर्यटन बोर्डका सीईयो दिपकराज जोशी, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा लगायतका पर्यटन व्यवसायी, संघ संस्थाका प्रतिनिधि थिए ।

कार्तिक ३, २०८२

सुरज कुँवर

काठमाडौँ — विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको सोमबार बिहान टेकु दोभानमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

शेर्पाको अन्तिम श्रद्धाञ्जली स्वरूप ऊर्जा मन्त्री कुलमान घिसिङ र पर्यटन सचिव हरिप्रसाद मैनालीले राष्ट्रिय झण्डा ओढाई सम्मान प्रकट गरेका थिए । यसैबीच, नम्बर १८ गण कीर्तिपुरबाट खटिएको १० जनाको १ सेक्सन टोलीले शोक सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टि समारोहमा नेपाल पर्यटन बोर्डका सीईयो दिपकराज जोशी, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा लगायतका पर्यटन व्यवसायी, संघ संस्थाका प्रतिनिधि थिए ।


सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको पहिलो सफल आरोहण गर्दा कान्छा २१ वर्षका थिए । १५ जेठ २०१० (२९ मे १९५३) मा सम्पन्न उक्त ऐतिहासिक आरोहण दलमा १६ जना बेलायती र ३५ जना नेपाली शेर्पा सहभागी थिए ।

कान्छा शेर्पाको योगदान नेपाली पर्वतारोहण इतिहासमा सधैं स्मरणीय रहनेछ । अन्त्यष्टिमा कान्छाका दुई छोरा लाक्पा तेन्जिङ, छिरिङ पिन्जो शेर्पा लगायत सहभागी थिए ।


९३ वर्षका कान्छा शेर्पाको निधन बिहीबार बिहान २:१० बजे काठमाडौंको कपनस्थित निवासमै भएको थियो । उनी केही महिनादेखि घाटीको क्यान्सर र ट्युमरबाट पीडित थिए । पाँच दाजुभाइ र तीन दिदीबहिनीमध्येका माइला कान्छा नाम्चेमा जन्मिएका थिए ।

उनको वास्तविक नाम फुर्वा भए पनि घरपरिवारमा ‘कान्छा’ भनेर बोलाइँदा नागरिकतामै सोही नाम राखिएको थियो ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully