मंसिरमै महाधिवेशन नभए कांग्रेसको इतरपक्षले छुट्टै भेला गर्ने

केन्द्रीय कार्यसमितिमा दुई तिहाइ बढीको बाहुल्य भएको संस्थापन मंसिरमा नभई वैशाखमा मात्रै नियमित महाधिवेशन गराउने पक्षमा छ ।

कार्तिक २, २०८२

कुलचन्द्र न्यौपाने

If the general convention is not held in Mangsir, other parties in the Congress will hold a separate meeting.

What you should know

काठमाडौँ — मंसिरभित्रै नियमित महाधिवेशन गराउन संस्थापन तयार नभएपछि कांग्रेसमा विवाद चुलिएको छ । संस्थापनले विशेष महाधिवेशनको मागमा समेत चर्को विरोध गरिरहेका बेला इतरपक्षले छुट्टै राष्ट्रिय सम्मेलन बोलाउने चेतावनी दिएको छ ।

केन्द्रीय कार्यसमितिमा दुई तिहाइ बढीको बाहुल्य भएको संस्थापन मंसिरमा नभई वैशाखमा मात्रै नियमित महाधिवेशन गराउने पक्षमा छ । मंसिरबाट सकिने केन्द्रीय पदाधिकारी र सदस्यहरूको कार्यकाल बहुमतबाट थप्ने योजनामा संस्थापन लागेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ताको अगुवाइ गर्ने नेताहरूले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत छुट्टै भेलाको चेतावनी दिएका हुन् ।

मंसिरमा नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनमा जानु बाध्यकारी हुन्छ, केन्द्रीय कार्यसमितिले बोलाएन भने हामी आफैं बोलाउन बाध्य हुनेछौं : गुरुराज घिमिरे२८ असोजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक शनिबारबाट स्थगित गरेर १३ कात्तिकमा बोलाइएको छ । महामन्त्री गगनकुमार थापाले शुक्रबारकै बैठकमा मंसिरभित्रै नियमित महाधिवेशनको दुईवटा विकल्पसहितको कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्न चाहेका थिए । अघिल्लो दिन बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यतालिका लैजान अस्वीकार गरेपछि थापाले आफ्नो सचिवालयमार्फत शुक्रबार तालिका सार्वजनिक गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठकले नियमित वा विशेष महाधिवेशनको पक्षमा निर्णय नलिए हस्ताक्षरकर्ताहरूले नै महाधिवेशन प्रतिनिधिको भेला बोलाउने युवा नेता गुरुराज घिमिरेले बताए । ‘विशेष महाधिवेशनको मागलाई केन्द्रीय कार्यसमितिको बैठकले गम्भीरताका साथ लिएको छैन । नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनमा जानु बाध्यकारी हुन्छ । केन्द्रीय कार्यसमितिले बोलाएन भने हामी आफैं बोलाउन बाध्य हुनेछौं,’ उनले भने ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि २८ असोजमा पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता भइसकेको छ । पार्टीको विधानले ४० प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । केन्द्रीय कार्यसमिति आफैंले बोलाउन सक्ने व्यवस्था पनि विधानमा छ । यस्तो अभ्यास २०१४ सालमा भएको थियो । त्यति बेलाको विशेष महाधिवेशनले सुवर्णशमशेर राणालाई हटाएर बीपी कोइरालालाई पार्टी सभापति बनाएको थियो ।

‘केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न हुँदासम्म हामी प्रतीक्षामा रहन्छौं । यदि, समयमै नियमित महाधिवेशन भएन र विशेष महाधिवेशनको मागलाई पनि गम्भीरतापूर्वक लिइएन भने हामी आफैं बोलाउन बाध्य हुनेछौं, यो गर्नु बहुमत महाधिवेशन प्रतिनिधिहरूको कर्तव्यसमेत हुनेछ,’ घिमिरेले भने, ‘बहुमतले पार्टी विभाजन गर्दैन । पार्टीको बागडोर सम्हाल्छ ।’

मंसिरमै नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा संस्थापनभित्रै पनि दुई थरी मत प्रकट भएका छन् । केन्द्रीय सदस्यहरू भरतकुमार शाह, पुष्पा भुसाल, डिला संग्रौला, अर्जुनकुमार जोशी, जिपछिरिङ लामा, मुक्ताकुमारी यादव, मैकुलाल वाल्मीकि, नारायणी रायमाझीलगायतका नेताहरूले मंसिरभित्र नियमित महाधिवेशन गराउनुपर्ने मत बैठकमा राखेका थिए । तर, संस्थापनका खासगरी पूर्वपदाधिकारीहरू आगामी २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनपछाडि मात्रै पार्टी महाधिवेशन गराउन चाहन्छन् ।

विशेष महाधिवेशनको माग राखेर अगुवाइ गर्नेमध्येका अर्का नेता सुवास पोखरेलले केन्द्रीय कार्यसमितिको अन्तिम बैठकसम्म आफूहरूले धैर्य गर्ने बताए । ‘नियमित अधिवेशन नगर्ने, सकिएको कार्यसमितिको म्याद बहुमतबाट थप्ने हो भने विशेष महाधिवेशन बोलाउने हामीहरूको विशेषाधिकारको कुरा हो, हाम्रो निवेदन दर्ता भइसकेपछि अब नियमित प्रस्तावहरू निलम्बन हुनुपर्छ’ उनले भने, ‘विशेष महाधिवेशनको माग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हो । यो वैधानिक प्रक्रियाप्रति केन्द्रीय कार्यसमिति संवदेनशील भएन भने हामी आफैं प्रक्रिया अघि बढाउँछौं । केन्द्रीय कार्यसमितिबाट पदाधिकारी र सदस्यहरूलाई राजीनामा दिएर पक्षमा उभिन आह्वान गर्छौं ।’

कार्यसम्पादन समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापनपक्षीय नेताहरूले निर्वाचन अगाडि महाधिवेशन गराउँदा पार्टीभित्र गम्भीर असर गर्ने तर्क गरेका थिए । संस्थापनकै अर्का सदस्य नैनसिंह महर भने मंसिरभित्र नियमित महाधिवेशनको कार्यतालिका आउनुपर्ने बताउँछन् । ‘केन्द्रीय कार्यसमितिको बैठकमा नल्याएर पदाधिकारीले किन बाहिर कार्यतालिका सार्वजनिक गर्नुभयो ?’ महरले भने, ‘कार्यतालिका आउन सकेन भने पदाधिकारीहरूकै अयोग्यता हुनेछ ।’

महामन्त्री थापाले नियमित महाधिवेशनका लागि पहिलो विकल्पमा केन्द्रीय प्रतिनिधिहरूको चयनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव छ । यो विकल्पमा २१ कात्तिकसम्म क्रियाशील सदस्यताको विषय टुंगो लगाउने, ७ मंसिरमा सदस्यताको नामावली निर्वाचन समितिलाई बुझाउने, त्यसपछि १२ र १३ मंसिरमा वडा अधिवेशन, २१ मंसिरमा प्रतिनिधिसभा, क्षेत्रीय, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । क्षेत्रको अधिवेशन सकिएपछि सिधै २७–२९ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव उनको छ ।

अर्को विकल्प सबै तहका अधिवेशन सम्पन्न गर्ने तालिका छ । दोस्रो विकल्पमा २१ कात्तिकभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने, कात्तिक मसान्तसम्म निर्वाचन समितिलाई नामावली बुझाउने, ८ मंसिरमा एकै दिन वडा अधिवेशन सम्पन्न गर्ने प्रस्ताव छ । त्यसैगरी प्रदेशसभाको अधिवेशन १२ मंसिरमा, प्रतिनिधिसभा क्षेत्र, केन्द्रीय महाधिवेशन प्रतिनिधि र जनसम्पर्क समितिको अधिवेशन १५ मंसिरमा गर्ने प्रस्ताव छ । केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुन्छन् । त्यसपछि जिल्ला अधिवेशन १८ मंसिरमा र क्षेत्रीय अधिवेशन २१ मंसिरमा सम्पन्न गरेपछि २७–२९ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तालिका छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully