विपिन जोशीको शव सोमबार काठमाडौँ आइपुग्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, जोशीको शव फ्लाइ दुबईको उडानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो २:३५ बजे अवतरण गर्ने तालिका रहेको छ।

कार्तिक २, २०८२

सुरज कुँवर

Bipin Joshi's body to arrive in Kathmandu on Monday

काठमाडौँ — गाजा र इजरायलको द्वन्द्वमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोति (कार्तिक ३गते) सोमबार २:३५ बजे दुबईबाट काठमाडौं आईपुग्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, जोशीको शव फ्लाइ दुबईको उडानमार्फत् नेपाल आइपुग्ने भएको हो ।

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २:३५ बजे अवतरण गर्ने तालिका रहेको छ। सहप्रवक्ता भुलका अनुसार, पार्थिव शरीरको सम्मानपूर्वक व्यवस्थापन र स्थानान्तरणका लागि विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ।

नेपाली सेनाको उच्च स्रोतका अनुसार, विपिन जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको विमान मार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ। त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।

यसैबीच, प्रधानमन्त्री सुशिला कार्कीले बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा पुग्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुने सरकारी स्रोतले जनाएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully