चुनावको विकल्प छैन : नेपाली सेना 

सेनाले सिंहदरबार प्रवेश गरेको भीड अत्यन्त आक्रोशित रहेको भन्दै ठूले मानवीय क्षतिबिना नरोकिने अवस्था रहेकाले जनधनको सुरक्षालाई नै प्राथमिकता दिएको समेत बताएको छ ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

There is no alternative to elections: Nepali Army

What you should know

काठमाडौँ — जेन-जी आन्दोलनको एक महिनापछि सेनाले सिंहदरबार, सर्वोच्च अदालतसहितका महत्वपूर्ण संरचना जोगाउन नसकेको आरोपको जवाफ दिने प्रयास गरेको छ । युद्धकार्य विभागका निर्देशक मनोज थापाका अनुसार, दिउँसो १:३० मा सिंहदरबारभित्र रहेको सेनाको दमकलले मुख्य प्रवेशद्वारमा लागेको आगो निभाएको थियो । 

‘त्यसबेला काठमाडौं महानगरसँग पनि समन्वय भइरहेको थियो, उहाँहरुको दमकल पनि आएको थियो । तर, ठाउँठाउँमा अवरोध भयो,’

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सर्वोच्च अदालतको आगो पनि भोलिपल्ट निभिसकेको थियो, तर तेस्रो दिनमा ललितपुरको दमकल आएर निभाएको भन्ने कुरा आए ।’ 

सेनाले सिंहदरबार प्रवेश गरेको भीड अत्यन्त आक्रोशित रहेको भन्दै ठूले मानवीय क्षतिबिना नरोकिने अवस्था रहेकाले जनधनको सुरक्षालाई नै प्राथमिकता दिएको समेत बताएको छ । 

आन्दोलनपछि सैनिक सक्रियताबारे उठेका प्रश्नहरुतर्फ लक्षित गर्दै युद्धकार्य विभागका महानिर्देशक उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने कुरामा स्पष्ट हुन आग्रह गरे । जेन-जी आन्दोलनपछि देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नका लागि मात्र आवश्यक पहल लिइएको उनको भनाइ छ । ‘वस्तुगत मूल्यांकन गरेर आवश्यक पहल लिइएको हो, यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा आँकलन गर्न सकिन्छ,’ उनले भने, ‘एकातिर स्थितिलाई सामान्य पार्न गरिएका बहुआयायिक प्रयास र अर्कातिर कतै आन्दोलनलाई सहयोग पुर्‍याउने तर्कलाई छुट्याएर हेर्नुपर्छ ।’ 

२४ भदौको राति सेनाले स्थितिलाई साम्य पार्न जे प्रयास गर्‍यो, त्यो नगरेर विश्वमा अहिले देखिएका अन्य मोडलहरु कुरा अघि बढेको भए के हुनसक्थ्यो भन्ने सबैका लागि विचार योग्य विषय हुनसक्ने उनले बताए । 

हालै मेडागास्करमा जेन-जी आन्दोलनपछि राष्ट्रपति देश छाडेर भाग्न बाध्य हुँदा त्यहाँको सेनाले सत्ता हातमा लिएको छ ।‘सेनाले त्यसबखत शान्तिपूर्ण निकास र अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरुसँग छलफल गर्न अपरिहार्य सम्झेको हो,’ उपरथी थापाले भने, ‘कुनै समूह तीन वर्षदेखि आन्दोलनमा थिए, तत्कालीन परिवेशमा राजनीतिक दलहरुसँग छलफलमा उत्रिने अवस्था थिएन ।’

त्यस्तोमा छलफलको टेबलमा ल्याएर स्थितिलाई थप बिग्रिन नदिन उत्तम विकल्प लिइएको उनले बताए । सहायक रथी थापाले चाहिँ अहिले सबैले चुनाव गर्नुपर्छ भनेर एउटा संकल्प गर्नुपर्छ भन्ने मान्यता राखिरहेको पाएको समेत बताएका छन् । ‘दलहरु पनि सकारात्मक भूमिका खेल्दै जानुपर्छ, अहिलेको अवस्थामा चुनावको विकल्प पनि छैन जस्तो लाग्छ, यो विषयमा हामीले धेरै बोल्नु हुँदैन,’ उनले भने, ‘तर, सबैले प्रयास गर्‍यौं भने समयमा चुनाव गर्न सक्छौं भन्नेमा विश्वस्त छौं ।’ 

गृह मन्त्रालयसमेत चुनावको तयारीका लागि सुरक्षाकर्मीहरुको एउटा समिति बनाएर सक्रिय भइसकेको उनले उल्लेख गरे । 

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully