मंसिरभित्र महाधिवेशन गर्ने थापाको प्रस्ताव संस्थापन पक्षबाट अस्वीकार

संस्थापनसँग नजिक रहेर पटक–पटक अवसर पाएका नेताहरू नै मंसिरमा नियमित महाधिवेशन गर्न नहुने पक्षमा, नियमित महाधिवेशन नगरिए विशेष महाधिवेशन बोलाउन दबाब दिने तयारीमा नेताहरू

कार्तिक १, २०८२

कुलचन्द्र न्यौपाने

Thapa's proposal to hold a general convention within Mangsir is rejected by the establishment side.

What you should know

काठमाडौँ — कांग्रेसको महाधिवेशन मंसिरभित्रै गराउने गरी महामन्त्री गगन थापाले प्रस्ताव गरेको कार्यतालिका संस्थापन पक्षले अस्वीकार गरेको छ । कार्यसम्पादन समितिमा कार्यवाहक सभापति खड्कासहित अधिकांश संस्थापनपक्षीय नेताहरू २१ फागुनका लागि तय आमनिर्वाचन अगाडि पार्टीको महाधिवेशन नगराउने पक्षमा देखिएका हुन् ।

केन्द्रीय कार्यसमितिमा लैजाने एजेन्डा सभापतिको सहमतिमा मात्रै अघि बढाउने परम्परा छ । यसअघि पदाधिकारी बैठकबाट एजेन्डा तय गरिन्थ्यो । उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि उनले विधानमा व्यवस्था नभएको पदाधिकारी बैठकको ठाउँमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन थालेका छन् । महाधिवेशनका विषयमा सहमति जुटाउन बिहीबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा थापाले कार्यतालिकाको प्रस्ताव गरेका थिए ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षका नेताहरू मंसिरभित्र विशेष र नियमित दुवै महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन् । संस्थापन बाहुल्य कार्यसम्पादन समितिमा सहमति नजुटेपछि मंसिरभित्र महाधिवेशन गराउने एजेन्डा केन्द्रीय कार्यसमिति बैठकमा समेत प्रवेश नहुने संकेत देखिएको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन नगरे पनि विशेष महाधिवेशन टार्न नसकिने बताउँदै आएका छन् ।

१४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि गत २९ असोजमा केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ । विशेष महाधिवेशनका लागि अगुवाइ गर्ने नेता गुरुराज घिमिरे केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन टार्न खोजेपछि विशेष महाधिवेशन सुनिश्चित रहेको बताउँछन् । ‘मंसिरभित्रै नियमित महाधिवेशन बोलाउने निर्णयमा गएको भए विशेष महाधिवेशनको मागलाई निष्क्रिय बनाउन सकिन्थ्यो तर त्यो दिशामा उदासीनता देखिएपछि अब विशेष महाधिवेशनको सुनिश्चिततातिर अघि बढेको छ,’ उनी भन्छन्, ‘माग भइसकेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुको विकल्प छैन । यसलाई छल्न वा टार्न मिल्दैन ।’

पार्टीका पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण शनिबार स्थगित गरिएको केन्द्रीय कार्यसमिति बैठक अब तिहारपछि मात्रै बोलाइएको छ । केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार बैठक १३ कात्तिकदेखि हुनेछ । ‘२१ फागुनमै निर्वाचन हुने अवस्था भयो भने मंसिरमा महाधिवेशन गराउँदा निर्वाचनमा असर पुर्‍याउन सक्छ,’ उनी भन्छन्, ‘पार्टीभित्रको बृहत् एकता र निर्वाचनतिर सम्पूर्ण ध्यान केन्द्रित गर्न केही समय अघिपछिलाई इगो बनाउनु हुँदैन ।’

नेता घिमिरे भने तिहारलगत्तै विशेष महाधिवेशनको मिति तय गर्न केन्द्रीय कार्यसमितिलाई दबाब दिइने बताउँछन् । पार्टी विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरे केन्द्रीय कार्यसमितिले तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।

महामन्त्री थापाले प्रस्तावका रूपमा अघि सारेको पहिलो विकल्पमा केन्द्रीय प्रतिनिधिहरूको चयनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ । यसका लागि २१ कात्तिकसम्म क्रियाशील सदस्यताको विषय टुंगो लगाउने, ७ मंसिरमा सदस्यताको नामावली निर्वाचन समितिलाई बुझाउने, त्यसपछि १२ र १३ मंसिरमा वडा अधिवेशन गर्ने, २१ मंसिरमा प्रतिनिधिसभा क्षेत्र, क्षेत्रीय, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । क्षेत्रको अधिवेशन सकिएपछि सिधै २७–२९ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव उनको छ ।

अर्को विकल्प सबै तहका अधिवेशन सम्पन्न गर्ने तालिका छ । यसअन्तर्गत २१ कात्तिकभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने, कात्तिक मसान्तमा निर्वाचन समितिलाई नामावली बुझाउने, ८ मंसिरमा एकै दिन वडा अधिवेशन, १२ मंसिरमा प्रदेशसभाको अधिवेशन, १५ मंसिरमा प्रतिनिधिसभा क्षेत्र, केन्द्रीय महाधिवेशन प्रतिनिधि र जनसम्पर्क समितिको अधिवेशन गर्ने उनको प्रस्ताव छ । केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुन्छन् । १८ मंसिरमा जिल्ला अधिवेशन र २१ मंसिरमा क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि २७–२९ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका महामन्त्री थापाले प्रस्ताव गरेका छन् ।

संस्थापन पक्ष नै विभाजित

मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा संस्थापन पक्षभित्रै मत विभाजित छ । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने संस्थापन पक्षकै सदस्यहरूमध्ये आधा दर्जनभन्दा बढीले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।

केन्द्रीय सदस्यहरू भरतकुमार शाह, पुष्पा भुसाल, डिला संग्रौला, अर्जुनकुमार जोशी, जिपछिरिङ लामा, मुक्ताकुमारी यादव, मैकुलाल वाल्मीकि, नारायणी रायमाझीलगायतले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन् । संस्थापन पक्षका केन्द्रीय सदस्य जोशीले सभापति देउवाले दिएको अभिव्यक्तिलाई आफूअनुकूल व्याख्या नगरी मंसिरभित्रै नियमित महाधिवेशनमा जानुपर्ने बताए । ‘नेताहरूले सत्तालाई निजी सम्पत्ति र पेवा ठान्दा आज यो अवस्था आएको छ । आज सबैको घर–घरमा जेन–जी छन् । घरभित्रै चुनौती छ । कित्ता र गुटका नाममा आँखा चिम्लिएर बस्दा यो अवस्थामा पुगेका छौं,’ जोशीको भनाइ थियो, ‘महाधिवेशन चुनाव अगाडि कि पछि भनेर बस्ने बेला होइन । समयभित्रै महाधिवेशन गर्न जरुरी छ ।’

केन्द्रीय सदस्य भुसाल र संग्रौलाले विशेष महाधिवेशनले पार्टीभित्र विभाजित मानसिकता बनाउने भन्दै चार वर्षको कार्यकाल पूरा भइसकेको अवस्थामा मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने माग गरेका थिए । अर्का सदस्य लामाले कांग्रेस र एमालेको गठबन्धनका कारण वर्तमान स्थिति उत्पन्न भएको उल्लेख गर्दै अब सबैले चेत्नुपर्ने बताएका थिए । ‘कहिले कुलमानलाई हटाउने, कहिले राज्यमन्त्रीलाई हटाउने र सरकारको सही मूल्यांकन नगर्ने कामले अहिले यो स्थिति उत्पन्न भयो,’ उनले भने, ‘५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरिसकेको अवस्थामा मंसिरभित्र नियमित महाधिवेशन गर्नु उपयुक्त विकल्प हुन्छ ।’ सदस्य मुक्ताकुमारी यादवले मंसिरभित्रै नियमित महाधिवेशनको तालिका आउनुपर्ने बताइन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५ औं महाधिवेशनको तालिका ल्याउनुपर्नेमा जोड दिए । उनले नियमित महाधिवेशन गराउन कठिनाइ पर्ने हो भने विशेष महाधिवेशन बोलाउनुपर्ने बताए । ‘ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ ऊर्जाका साथ अगाडि जानुपर्छ । यसले नयाँ युवाको प्रवेश बढ्नेछ । देशको समस्या हल गर्ने सामर्थ्य राख्नेछ,’ पौडेलको भनाइ थियो, ‘विशेष महाधिवेशनको प्रस्ताव गर्ने साथीहरूलाई धन्यवाद । अहिलेको अवस्थामा यो वा त्यो बहानामा पार्टी अधिवेशन पर सार्ने वा म्याद थप्ने विषयले पार्टी र देशलाई गम्भीर संकटमा धकेल्छ ।’

गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनको मागलाई समर्थन गरे । तर उनले विशेषण्भन्दा नियमित महाधिवेशनकै कार्यतालिका तोक्न आग्रह गरे । शर्माले सभापति देउवाले २३–२४ भदौको घटनाक्रम किन भयो भनेरसमेत प्रस्ट पार्नुपर्ने पनि बताए । ‘यो अवस्था आउनुमा कांग्रेसको शासकीय बेथिति पनि जिम्मेवार छ, यसमा कांग्रेसले क्षमा माग्नुपर्छ,’ उनको भनाइ थियो ।

संस्थापन पक्षका धेरैजसो नेता भने मंसिरमा नियमित, नियमित नभए विशेष महाधिवेशन भन्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रामक रूपमा प्रस्तुत भएका छन् । खासगरी संस्थापन पक्षको कित्तामा उभिएर पटक–पटक अवसर पाएका नेताहरू नै मंसिरमा नियमित महाधिवेशन हुन नहुने पक्षमा उभिएका छन् ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायरले मंसिरमै महाधिवेशन गर्न किन क्रियाशील सदस्यताको काम नसकेको भन्दै प्रश्न उठाए । कांग्रेस विधानमा क्रियाशील सदस्यताको वितरण, नवीकरणको अधिकार महामन्त्रीहरूलाई अधिकार दिइएको छ । ‘मंसिरमै नियमित महाधिवेशन गराउनका लागि सदस्यता वितरण र नवीकरण पूरा नगर्ने अनि म्याद गुज्रिसकेका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर गराएर विशेष महाधिवेशनको माग गर्ने ? बलायरको प्रश्न थियो । उनले प्रतिनिधिसभाको निर्वाचन अगाडि पार्टीको महाधिवेशन सम्भव नभएको बताए ।

शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरू सरस्वती बजिमय र सुशीला थिङले पनि मंसिरमा नियमित महाधिवेशन नहुने तर्क अघि सारेका थिए । थिङले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग गरिन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully