फूलखेतीबाटै मनग्ये आम्दानी 

उनका अनुसार, सयपत्री फूलमा खेती गर्दा, यसमा अन्य बालीमा जस्तो मिहेनत र लगानी गर्नुपर्दैन । कुल आम्दानीको १५ देखि २० प्रतिशत मात्रै खर्च हुन्छ ।

कार्तिक १, २०८२

ज्योती श्रेष्ठ

Generous income from flower farming

What you should know

काभ्रे — सयपत्री फूलका थुङ्गाले बनेपा–१२ स्थित बासडोलको फाँटै सुनौलो देखिन्छ । बगैंचामा ढकमक्क फुलेका सयपत्रीले तिहार संघारमै रहेको संकेत गरिरहेको छ । तिहार नजिकिएसँगै ५८ वर्षीय माधव घिमिरेलाई सयपत्री फूल टिप्ने र बजारसम्म पुर्‍याउने चटारो छ । हरेक वर्ष दसैं तिहारको समयमा उनलाई यहि कामको व्यवस्तताले च्याप्छ । 

चाडपर्वमा फूलको माग बढी हुने भएकाले माग अनुसार बजारमा फूल पुर्‍याउन उनलाई भ्याई–नभ्याई हुन्छ । बजारमा फूलको माग बढेसँगै बगैंचामा अचेल दैनिक ५ जना कामदार र उनको परिवारका सदस्यहरुले सघाइरहेका छन् ।

यो व्यस्तता, चटारो र कामको भ्याई–नभ्याई आजको मात्रै भने होइन, पुष्प व्यवसाय सुरु गरेको ४ वर्ष यता उनको दैनिकी यसरी नै चलिरहेको छ । बिहानदेखि सम–साँझसम्मै उनी बगैंचामा फूलका विरुवाहरुसँगै खेलिरहेका हुन्छन् । फूलका विरुवाको बेर्ना राख्ने, रोप्ने, गोडमेल गर्ने, पानी हाल्ने लगायतका काममा व्यस्त भइरहन्छन् । उनमा फूलखेतीप्रतिको लगाव अहिलेदेखिको भने होइन । 

मोरङ घर भएका माधव घिमिरे वैदेशिक रोजगारीको शिलसिलामा साउदी अरब पुगेका थिए । उनले १८ वर्ष साउदी अरबमा काम गरे भने त्यसपछि साउदी अरबबाटै इजरायल पुगेर फूल खेती सिकेका थिए । स्वदेश फर्केर उनले त्यो सीपलाई सदुपयोग गरिरहेका छन् ।

Generous income from flower farming

मोरङबाट काभ्रे आएर चार वर्ष यता बनेपा नगरपालिका वडा नं १२ स्थित बासडोलमा फूल खेती गरिरहेका छन् । ‘आफूले जानेको सीप भनेकै फूल फुलाउने र तरकारी फलाउने नै हो,’ उनले भने, ‘नेपालमा यसको राम्रो सम्भावना होला भनेर त्यही सीपलाई सदुपयोग गरेर फूल खेती सुरु गरेँ ।’ उनले २० रोपनी जग्गा भाडामा लिएर जापानी र थाइल्याण्डको हाइब्रिड जातको सयपत्री फूल लगाएका छन् ।

‘काठमाडौं लगायतका स्थानमा प्रत्येक ५० मिटरको दूरीमा एउटा मन्दिर छ,’ उनले भने, ‘एउटा मन्दिरमा कम्तिमा पनि दिनमा ५ केजी फूलको खपत हुने रहेछ, हजारौंको संख्यामा मन्दिर भएकाले सयपत्री फूल लगाउँदा व्यवसाय राम्रो हुने रहेछ भन्ने थाहा भएपछि, ५ रोपनीबाट सुरु गरिएको फूलखेतीलाई अहिले २० रोपनीसम्ममा विस्तार गरियो, जहाँ २० हजार सयपत्री फूलका विरुवा लगाइएको छ ।’

उनका अनुसार, सयपत्री फूलमा खेती गर्दा, यसमा अन्य बालीमा जस्तो मिहेनत र लगानी गर्नुपर्दैन । कुल आम्दानीको १५ देखि २० प्रतिशत मात्रै खर्च हुन्छ । ‘गतवर्ष फूलको बजार ठीकै थियो,’ उनले भने, ‘प्रतिकेजी २ सय देखि ४ सय रुपैयाँमा २५ सयदेखि ३ हजार केजी फूल बिक्री गरिएको थियो, खर्च काटेर ८/१० लाख रुपैयाँ आम्दानी भएको थियो ।’ 

उनका अनुसार, यसवर्ष फूल पनि राम्रो फुलेको छ र यसको बजार पनि राम्रो छ । यस वर्ष ७/८ हजार किलो फूल बिक्री गर्ने उनले अपेक्षा राखेका छन् । यसवर्ष फूलको मूल्य प्रतिकिलो ४ सय देखि ६ सय रुपैयाँसम्म भएकाले राम्रो आम्दानी हुने उनको अनुमान छ । यसवर्ष २५ सय किलो उनले दसैंमा नै बिक्री गरिसकेका छन् । 

Generous income from flower farming

जसबाट ५ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । तिहारमा सयपत्री फूल बिक्री गरेर १६/१७ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । उनका अनुसार, चार महिना अघि रोपिएको सयपत्री फूलका लागी हालसम्म ३/४ लाख रुपैयाँ खर्च भएको छ ।

सयपत्री फूल लगाउँदा हावा पानी, समय मिलाएर गोडमेल, रोग किरा लागेमा औषधि मूलो उपचार लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए । ‘वर्षात धेरै भयो भने मात्रै फूल जोगाउन गाह्रो हुन्छ,’ उनले भने, ‘तुसारो नपरुन्जेलसम्म फूल टिकिरहन्छ, १२ महिना नै यसको माग भइरहन्छ ।’ उनका अनुसार, बजारको लागि पनि कुनै समस्या छैन ।

विशेष गरेर काठमाडौंमै बिक्री हुने उनले बताए । ‘धेरै माग काठमाडौंबाट आउँछ,’ उनले भने, ‘केही पनि यहीँ बगैंचामा नै आएर लिएर जानुहुन्छ, यसको विशेष माग हुने भनेको तिहारको बेला मात्रै हो, तिहारको बेलामा त हामीले माग अनुसार बेच्न सक्दैनौं ।’ 

उनका अनुसार, यस वर्ष यहाँका स्थानीयले सामाजिक सञ्जालमा यहाँको बगैंचाको फोटो र भिडियो बनाएर राखेपछि फूलको माग धेरै बढी भएको छ । ‘मागअनुसार हामीले आपूर्ति नै गर्न सकिरहेका छैनौं’ उनी भन्छन् । 

Generous income from flower farming

उनका अनुसार, पछिल्लो दुई वर्ष यता सयपत्री फूलबाट राम्रो आम्दानी भएको छ । एक वर्ष मात्रै फूलले बजार नपाएपछि फूल खोलामा पनि फ्याकेको उनले बताए । गत वर्ष भारतबाट आयतीत फूललाई प्रतिबन्ध गरेपछि यहाँका किसानको फूलले बजार पाएको उनले बताए । 

स्वदेशी उत्पादनलाई सरकारले किसानलाई साथ र सर्मथन दिनुको साथै प्रोत्सहान गर्नुपर्ने उनको थियो । विदेशबाट आयतित फूललाई प्रतिबन्ध लगाउँदै स्वदेशी उत्पादनलाई प्रवर्द्धन  गर्न सरकारको ध्यान जान जरुरी रहेकोमा उनले जोड दिए । 

काभ्रेको बनेपा नगरपालिका वडा नं १२ स्थित बासडोलमा सयपत्री फूल टिप्दै किसान । तस्बिर : ज्योती श्रेष्ठ/कान्तिपुर

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully