उच्च हिमाली भेगमा पाइने संकटापन्न प्रजाति कस्तुरी मृगको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गर्न लागिएको हो ।
काठमाडौँ — रारा राष्ट्रिय निकुन्जमा कस्तुरी मृगको अध्ययन गर्न क्यामेरा ट्रयाप जडान सुरु भएको छ । उच्च हिमाली भेगमा पाइने संकटापन्न प्रजाति कस्तुरी मृगको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गर्न लागिएको हो ।
प्राणी शास्त्र केन्द्रीय विभाग र प्राकृतिक विज्ञान समाजको संयुक्त प्रयासमा उक्त अनुसन्धान गर्न लागिएको विभागका सह-प्राध्यापक डा हरिप्रसाद शर्माले बताए । र्यान्डम स्याम्प्लिङको माध्यमबाट १-१ वर्ग किलोमिटरको ४० ग्रिड छनौट गरी प्रत्येक ग्रिडमा १/१ क्यामेरा राखिनेछ ।
प्रत्येक क्यामेरा ट्रयाप कम्तिमा २१ दिनसम्म राखिने योजना रहेको अनुसन्धानकर्मी तिलक थापामगरले बताए । उक्त अनुसन्धानमा त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तथा उक्त परियोजनाको प्रमुख तिलक थापामगर, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाई र मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष बिर्खबहादुर रोकाया रहेका छन् ।
सो अनुसन्धानको सुपरिवेक्षण प्राणी शास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक डा. हरिप्रसाद शर्मा र रारा राष्ट्रिय निकुन्जका वार्डेन महेश न्यौपानेले गरिरहेका छन्।
