ध्वस्त भवन र लुटिएका सामग्रीबीच प्रहरी सेवालाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको छ।
What you should know
काठमाडौँ — उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवान २४ भदौ सम्झँदा अझै झस्किन्छिन् । उनको बुझाइमा दैनिक ‘पुलिसिङ’ भन्दा केही टाढा रहने ट्राफिकप्रति प्रदर्शनकारीले आक्रोश नपोख्नुपर्ने हो । उनीहरू हतियारसहित उभिने सुरक्षाकर्मी होइनन्, अघिल्लो दिन गोली चल्नुमा पनि उनीहरूको कुनै भूमिका थिएन । तर सेवाग्राहीका लाइन्सेन्स, ब्लुबुकसहित महत्त्वपूर्ण कागजात नष्ट हुने गरी कार्यालयमा तोडफोड र आगजनी भए ।
सधैं अरूलाई सुरक्षा दिने प्रहरी त्यो दिन आफैं असुरक्षित भए । ‘आफैंले बाँच्नलाई संघर्ष गर्नुपर्ने दिन आउला भन्ने कल्पनै थिएन,’ उनी भन्छिन्, ‘प्रहरीबिनाको समाज कल्पना गर्न सकिन्छ र ?’
कार्यालयमा तोडफोड र आगजनी गर्नेहरू आन्दोलनकारी नभई घुसपैठ भएर आएका स्वार्थ समूहहरू भएको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । संगठनका मेरुदण्ड मानिने तल्ला दर्जाका प्रहरी भने त्यो दिन जे भोगे, त्यो सम्झँदा अझै तर्सिन्छन् ।
सडकमा उभिएर सधैंझैं सेवा दिने प्रतिबद्धताचाहिँ नघटेको उनीहरूको भनाइ छ । ‘ट्राफिक लाइटहरू पनि जले, आइल्यान्ड बाँकी रहेनन्,’ ती प्रहरी जवान भन्छिन्, ‘तर यस्तै बेला जनतालाई हाम्रो झन् बढी खाँचो छ ।’
प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरे, बर्दी खोल्न लगाए, चौकीहरूमा तोडफोड र लुटपाट गरे । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हबलदार अमृत गुरुङ प्रदर्शनकारीको कुटपिटबाट मारिए । देशभरका प्रहरी संरचना र सवारीसाधन ध्वस्त भए । तर ध्वस्त भवन र लुटिएका सामग्रीबीच प्रहरीको सेवा फेरि पुरानै अवस्थातर्फ फर्किंदै छ ।
प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा प्रहरीको जागिर खाएपछि यस्ता घटनाक्रमलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । ‘हामी पनि आममानिस जस्तै हो, पीडा, डर हुन्छ । तर, हामीले आफ्नो समस्या छ भनेर नागरिकलाई सेवा दिन छाड्न मिल्दैन,’ उनी भन्छन्, ‘जस्तोसुकै परिस्थितिमा पनि हाँसेर सेवा दिने हाम्रो धर्म भुल्नु हुँदैन । सेवा दिन सक्दिनँ भन्ने प्रहरीको चरित्र होइन । प्रहरी सेवा नै यस्तै हो ।’ प्रहरी फ्रन्टलाइनमा हुने भएकाले नागरिकको आक्रोश सहन सक्ने मानसिकता राख्नुपर्ने उनको भनाइ छ ।
मनोपरामर्शदाता कपिल शर्माका अनुसार यस्तो अवस्थामा प्रहरीको मनोवैज्ञानिक सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । ‘यस्तो बेला मनोवैज्ञानिक र सामाजिक रूपमा सहजीकरण आवश्यक छ,’ शर्माले भने, ‘प्रहरीभित्र कमान्डरले जे भन्यो त्यही मान्नुपर्छ भन्ने संस्कृतिका कारण भावनात्मक घाउ दबाइन्छ । तर सहजीकरण समूह बनाई परामर्श कार्यक्रम गरेर उनीहरूको भावना बुझ्न अनिवार्य छ ।’
प्रहरी अधिकारीहरूले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई १० वर्षे सशस्त्र द्वन्द्वभन्दा जटिल अवस्थाका रूपमा चित्रण गर्ने गरेका छन् । ‘त्यस बेला हतियार छाडेर भाग्ने भन्ने हुँदैनथ्यो, अहिले त्यो पनि छाडेर हिँड्नुपर्यो,’ एक प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी कर्मचारीमा गहिरो पीडा छ ।’
नेपाल प्रहरीका पूर्वएआईजी उत्तम सुवेदी नराम्रा पक्षलाई बिर्सिंदै कर्तव्यका विषय मात्र सम्झेर प्रहरी अघि बढ्नुपर्ने बताउँछन् । ‘प्रहरी जनतालाई सुख र न्याय दिएर खुसी हुने हो, अहिलेको अवस्थामा राज्यको प्रहरीलाई हौसला दिने र लुटिएका सामग्री तत्काल व्यवस्था गरिदिने मुख्य दायित्व छ,’ उनी भन्छन्, ‘राज्यले भौतिक संरचनादेखि हातहतियार र आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्छ । प्रहरीको आत्मबल बढाउन सेवा सुविधामा पनि ध्यान दिनुपर्छ ।’ प्रहरीको खाने–बस्ने ठाउँसँगै उनीहरूको हिजोदेखिका समस्यामा पनि राज्यले अहिलेको विशेष परिस्थितिमा ध्यान दिनुपर्ने सुवेदी बताउँछन् ।
२४ भदौको विध्वंसपछि मुलुकको सुरक्षा स्थिति कठिन मोडमा पुगेको नेपाल प्रहरीको पनि निष्कर्ष छ । प्रहरीले तयार पारेको आन्तरिक प्रतिवेदनमा प्रदर्शनपछिको विध्वंससँगै सुरक्षाकर्मीहरू ‘मानसिक रूपमा विक्षिप्त’ र ‘मनोबल खस्किएको’ अवस्थामा पुगेको निष्कर्ष निकालिएको हो ।
हिंसा भड्किएर २६ कारागार तथा बन्दीगृहबाट १४ हजार ४३ कैदीबन्दी भागेकामा अझै ५ हजारभन्दा बढी फरार छन् । तोडफोड र आगजनीका कारण प्रहरीका १ सय ९७ संरचना पूर्ण र २ सय ५८ संरचनामा आंशिक क्षति पुगेको थियो । रबर गोली १ हजार ३ सय १५ राउन्ड, ब्ल्यांक राउन्ड २ हजार २ सय २०, अश्रुग्यास सेल ३ हजार २ सय २३ अभिलेखमा भेटिएको छैन ।
प्रहरीका दैनिक कामकाजमा प्रयोग हुने सवारीसाधन र ठूलो धनराशि खर्च गरेर किनिएका सञ्चार सेट/उपकरण पनि लुटपाट र आगजनीमा परेका छन् । प्रहरी विवरणअनुसार प्रहरीका ५ सय २५ सवारीसाधन लुटपाट तथा आगजनी भएका छन् ।
सञ्चार सेटतर्फ एचएफ सेट १, मोबाइल सेट ६४, ह्यान्डहेल्ड सेट ४ सय ५१, रिपी सेट १, बेस सेट ४७, चार्जर १ हजार ५३, ब्याट्री २ हजार ३ सय ५३, ह्यान्डहेल्ड मेटल डिटेक्टर २५ थान, वाक थ्रु गेट १५, एक्सरे ब्यागेज स्क्यानर ३, सीसीटीभी मनिटर १ सय १७, सीसीटीभी (भीएमएस/ एनभीआर/डीभीआर) १ सय ५, सीसीटीभी १ हजार ३ सय ५५ वटा लुटपाट, तोडफोड र आगजनी गरिएका छन् ।
प्रहरीले शुक्रबार प्रहरी दिवस मनाउँदै छ । विगतमा हर्षोल्लासका साथ मनाउने गरिएको भए पनि यस पटक दिवसलाई श्रद्धाञ्जली सभाका रूपमा मनाइँदै छ । यस पटकलाई प्रहरीले नारा तोकेको छ, ‘नागरिक–प्रहरी सहकार्य, सुरक्षाका लागि अपरिहार्य’ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे मातहतका कर्मचारीको मनोबल बढाउने हिसाबले काम गर्न प्रहरी अधिकारीहरू प्रतिबद्ध रहेको बताउँछन् । ‘नेपाल प्रहरी जनधनको क्षति नहोस्, आपराधिक कार्य नहोस् भन्ने उद्देश्यसहित सधैं अग्रपंक्तिमा खटिएको छ,’ उनी भन्छन्, ‘हामीले सधैं जनताको घरदैलोमा बसेर सेवा दिने हो । हामी प्रहरी मनोबल बढाउँदै थप सेवामा जुट्नेछौं ।’ प्रहरी प्रधान कार्यालयले संरचनाको पुनर्निर्माणदेखि घाइते, मृतकका परिवारसँग भेटघाट र सहयोग गर्दै आएको पनि उनी बताउँछन् ।
