जले चौकी, जलेन प्रहरीको आत्मबल

ध्वस्त भवन र लुटिएका सामग्रीबीच प्रहरी सेवालाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको छ।

आश्विन ३१, २०८२

विवेक पोख्रेल

The post was burnt, but the police's morale was not burnt.

What you should know

काठमाडौँ — उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवान २४ भदौ सम्झँदा अझै झस्किन्छिन् । उनको बुझाइमा दैनिक ‘पुलिसिङ’ भन्दा केही टाढा रहने ट्राफिकप्रति प्रदर्शनकारीले आक्रोश नपोख्नुपर्ने हो । उनीहरू हतियारसहित उभिने सुरक्षाकर्मी होइनन्, अघिल्लो दिन गोली चल्नुमा पनि उनीहरूको कुनै भूमिका थिएन । तर सेवाग्राहीका लाइन्सेन्स, ब्लुबुकसहित महत्त्वपूर्ण कागजात नष्ट हुने गरी कार्यालयमा तोडफोड र आगजनी भए ।

सधैं अरूलाई सुरक्षा दिने प्रहरी त्यो दिन आफैं असुरक्षित भए । ‘आफैंले बाँच्नलाई संघर्ष गर्नुपर्ने दिन आउला भन्ने कल्पनै थिएन,’ उनी भन्छिन्, ‘प्रहरीबिनाको समाज कल्पना गर्न सकिन्छ र ?’

कार्यालयमा तोडफोड र आगजनी गर्नेहरू आन्दोलनकारी नभई घुसपैठ भएर आएका स्वार्थ समूहहरू भएको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । संगठनका मेरुदण्ड मानिने तल्ला दर्जाका प्रहरी भने त्यो दिन जे भोगे, त्यो सम्झँदा अझै तर्सिन्छन् । 

सडकमा उभिएर सधैंझैं सेवा दिने प्रतिबद्धताचाहिँ नघटेको उनीहरूको भनाइ छ । ‘ट्राफिक लाइटहरू पनि जले, आइल्यान्ड बाँकी रहेनन्,’ ती प्रहरी जवान भन्छिन्, ‘तर यस्तै बेला जनतालाई हाम्रो झन् बढी खाँचो छ ।’

प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरे, बर्दी खोल्न लगाए, चौकीहरूमा तोडफोड र लुटपाट गरे । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हबलदार अमृत गुरुङ प्रदर्शनकारीको कुटपिटबाट मारिए । देशभरका प्रहरी संरचना र सवारीसाधन ध्वस्त भए । तर ध्वस्त भवन र लुटिएका सामग्रीबीच प्रहरीको सेवा फेरि पुरानै अवस्थातर्फ फर्किंदै छ । 

प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा प्रहरीको जागिर खाएपछि यस्ता घटनाक्रमलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । ‘हामी पनि आममानिस जस्तै हो, पीडा, डर हुन्छ । तर, हामीले आफ्नो समस्या छ भनेर नागरिकलाई सेवा दिन छाड्न मिल्दैन,’ उनी भन्छन्, ‘जस्तोसुकै परिस्थितिमा पनि हाँसेर सेवा दिने हाम्रो धर्म भुल्नु हुँदैन । सेवा दिन सक्दिनँ भन्ने प्रहरीको चरित्र होइन । प्रहरी सेवा नै यस्तै हो ।’ प्रहरी फ्रन्टलाइनमा हुने भएकाले नागरिकको आक्रोश सहन सक्ने मानसिकता राख्नुपर्ने उनको भनाइ छ । 

मनोपरामर्शदाता कपिल शर्माका अनुसार यस्तो अवस्थामा प्रहरीको मनोवैज्ञानिक सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । ‘यस्तो बेला मनोवैज्ञानिक र सामाजिक रूपमा सहजीकरण आवश्यक छ,’ शर्माले भने, ‘प्रहरीभित्र कमान्डरले जे भन्यो त्यही मान्नुपर्छ भन्ने संस्कृतिका कारण भावनात्मक घाउ दबाइन्छ । तर सहजीकरण समूह बनाई परामर्श कार्यक्रम गरेर उनीहरूको भावना बुझ्न अनिवार्य छ ।’ 

प्रहरी अधिकारीहरूले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई १० वर्षे सशस्त्र द्वन्द्वभन्दा जटिल अवस्थाका रूपमा चित्रण गर्ने गरेका छन् । ‘त्यस बेला हतियार छाडेर भाग्ने भन्ने हुँदैनथ्यो, अहिले त्यो पनि छाडेर हिँड्नुपर्‍यो,’ एक प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी कर्मचारीमा गहिरो पीडा छ ।’

नेपाल प्रहरीका पूर्वएआईजी उत्तम सुवेदी नराम्रा पक्षलाई बिर्सिंदै कर्तव्यका विषय मात्र सम्झेर प्रहरी अघि बढ्नुपर्ने बताउँछन् । ‘प्रहरी जनतालाई सुख र न्याय दिएर खुसी हुने हो, अहिलेको अवस्थामा राज्यको प्रहरीलाई हौसला दिने र लुटिएका सामग्री तत्काल व्यवस्था गरिदिने मुख्य दायित्व छ,’ उनी भन्छन्, ‘राज्यले भौतिक संरचनादेखि हातहतियार र आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्छ । प्रहरीको आत्मबल बढाउन सेवा सुविधामा पनि ध्यान दिनुपर्छ ।’ प्रहरीको खाने–बस्ने ठाउँसँगै उनीहरूको हिजोदेखिका समस्यामा पनि राज्यले अहिलेको विशेष परिस्थितिमा ध्यान दिनुपर्ने सुवेदी बताउँछन् ।

२४ भदौको विध्वंसपछि मुलुकको सुरक्षा स्थिति कठिन मोडमा पुगेको नेपाल प्रहरीको पनि निष्कर्ष छ । प्रहरीले तयार पारेको आन्तरिक प्रतिवेदनमा प्रदर्शनपछिको विध्वंससँगै सुरक्षाकर्मीहरू ‘मानसिक रूपमा विक्षिप्त’ र ‘मनोबल खस्किएको’ अवस्थामा पुगेको निष्कर्ष निकालिएको हो  । 

हिंसा भड्किएर २६ कारागार तथा बन्दीगृहबाट १४ हजार ४३ कैदीबन्दी भागेकामा अझै ५ हजारभन्दा बढी फरार छन् । तोडफोड र आगजनीका कारण प्रहरीका १ सय ९७ संरचना पूर्ण र २ सय ५८ संरचनामा आंशिक क्षति पुगेको थियो । रबर गोली १ हजार ३ सय १५ राउन्ड, ब्ल्यांक राउन्ड २ हजार २ सय २०, अश्रुग्यास सेल ३ हजार २ सय २३ अभिलेखमा भेटिएको छैन । 

प्रहरीका दैनिक कामकाजमा प्रयोग हुने सवारीसाधन र ठूलो धनराशि खर्च गरेर किनिएका सञ्चार सेट/उपकरण पनि लुटपाट र आगजनीमा परेका छन् । प्रहरी विवरणअनुसार प्रहरीका ५ सय २५ सवारीसाधन लुटपाट तथा आगजनी भएका छन् । 

सञ्चार सेटतर्फ एचएफ सेट १, मोबाइल सेट ६४, ह्यान्डहेल्ड सेट ४ सय ५१, रिपी सेट १, बेस सेट ४७, चार्जर १ हजार ५३, ब्याट्री २ हजार ३ सय ५३, ह्यान्डहेल्ड मेटल डिटेक्टर २५ थान, वाक थ्रु गेट १५, एक्सरे ब्यागेज स्क्यानर ३, सीसीटीभी मनिटर १ सय १७, सीसीटीभी (भीएमएस/ एनभीआर/डीभीआर) १ सय ५, सीसीटीभी १ हजार ३ सय ५५ वटा लुटपाट, तोडफोड र आगजनी गरिएका छन् । 

प्रहरीले शुक्रबार प्रहरी दिवस मनाउँदै छ । विगतमा हर्षोल्लासका साथ मनाउने गरिएको भए पनि यस पटक दिवसलाई श्रद्धाञ्जली सभाका रूपमा मनाइँदै छ । यस पटकलाई प्रहरीले नारा तोकेको छ, ‘नागरिक–प्रहरी सहकार्य, सुरक्षाका लागि अपरिहार्य’ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे मातहतका कर्मचारीको मनोबल बढाउने हिसाबले काम गर्न प्रहरी अधिकारीहरू प्रतिबद्ध रहेको बताउँछन् । ‘नेपाल प्रहरी जनधनको क्षति नहोस्, आपराधिक कार्य नहोस् भन्ने उद्देश्यसहित सधैं अग्रपंक्तिमा खटिएको छ,’ उनी भन्छन्, ‘हामीले सधैं जनताको घरदैलोमा बसेर सेवा दिने हो । हामी प्रहरी मनोबल बढाउँदै थप सेवामा जुट्नेछौं ।’ प्रहरी प्रधान कार्यालयले संरचनाको पुनर्निर्माणदेखि घाइते, मृतकका परिवारसँग भेटघाट र सहयोग गर्दै आएको पनि उनी बताउँछन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully