पहिलो सगरमाथा आरोहणका एक मात्र जीवित सदस्य कान्छा शेर्पा रहेनन्

कान्छाको निधनसँगै सगरमाथा आरोहणको पहिलो सफल ब्रिटिस अभियानका सबै जीवित सदस्य अब संसारबाट बिदा भएका छन् ।

आश्विन ३०, २०८२

सुरज कुँवर

Kanchha Sherpa, the only surviving member of the first Everest ascent, is no more.

काठमाडौँ — सन् १९५३ को मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण सम्पन्न भयो । संसारले तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीलाई सम्झन्छ । त्यही विश्व चर्चित आरोहण टोलीमा सगरमाथाको शिखरसम्म पुग्ने बाटो पहिल्याउने जिम्मेवारीमा कान्छा शेर्पा पनि थिए ।

सगरमाथाको पहिलो सफल आरोहणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनै कान्छा शेर्पाको बुधबार राति निधन भएको छ । ९२ वर्षका उनी केही महिनादेखि काठमाडौंमा उपचाररत थिए । गएराति २ बजे उनको निधन भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाले जानकारी दिएका छन् । उनको आइतबार अन्त्येष्टि गरिने भएको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिका–३, नाम्चेका बासिन्दा कान्छा पहिलो आरोहणमा मात्र २० वर्षका थिए ।

पहिलो आरोहण अभियानमा आधार शिविरसम्म ४ सय कामदार थिए भने त्यसमाथि ३५ सदस्यीय टोलीले हिलारीसहितको ब्रिटिस आरोहण दललाई सगरमाथाको चुचुरोतर्फ डोर्‍याएको थियो । कान्छासहित अन्य दुई शेर्पाले आधार शिविरदेखि चौथो शिविरसम्म बाटो निर्माणमा सक्रियता देखाएका थिए । उनले २७ हजार फिटसम्म तेन्जिङ र हिलारीसँगै यात्रा गरेको उनीबारे लेखिएका पुस्तक तथा लेखहरुमा उल्लेख गरिएको छ ।

नेपाल पर्वतारोहण संघका अनुसार कान्छाको निधनसँगै सगरमाथा आरोहणको पहिलो सफल ब्रिटिश अभियानका सबै जीवित सदस्य अब संसारबाट बिदा भएका छन् । नेपालले आफ्नो पहिलो सफल आरोहण अभियानको एउटा अमूल्य नायक गुमाएको छ । कान्छा शेर्पाको जीवन साहस, धैर्यता र इतिहास निर्माण गर्ने योगदानको प्रतीक रहिररहने छ । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully