शाहीको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
काठमाडौँ — जेन-जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
जेन-जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्ने गरेका थिए । नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत उनीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो ।
उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत वैदेशिक रोजगारीसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । उनी इलाम २ मा भएको उपचुनावमा समेत उम्मेदवार बसेका थिए । स्वतन्त्र उम्मेदवारी दिएर उनले ५५ मत ल्याएका थिए ।
