विश्वका दुई सयभन्दा बढी सम्पदाविज्ञ र विशेषज्ञको सहभागिता ।
What you should know
लुम्बिनी — विश्वभरका सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धन गर्ने विशेषज्ञ र विज्ञको संस्था इकोमस इन्टरनेसनलद्वारा आयोजित चारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन लुम्बिनीमा सुरु भएको छ ।
विश्वभरका सांस्कृतिक सम्पदालाई द्वन्द्व र विपद् जोखिमबाट जोगाउन गर्नुपर्ने तयारी गर्दै विश्व शान्तिका विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन लुम्बिनीमा आयोजना गरिएको हो ।
बुधबारबाट सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ । प्रत्येक दिन तीन समूहमा ९ विषयमा छलफल गरिने इकोमस नेपालका अध्यक्ष ज्ञानीन राईले बताए । १ सय ९० कार्यपत्र प्रस्तुत गरिनेछ । सहभागीले शनिबार शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु तिलौराकोटको अवलोकन भ्रमण गर्नेछन् ।
सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गरेका थिए । उद्घाटन कार्यक्रममा युनेस्को नेपालका प्रमुख ज्याको डु टोइट, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामा र वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यलगायतले मन्तव्य दिएका थिए । 
वैज्ञानिक सम्मेलनमा विपद् प्रकोप, सम्पदा र शिक्षा, प्रकोप र संरक्षण तथा सांस्कृतिक सम्पदाको सन्दर्भमा द्वन्द्व विषयमा छलफल भएको थियो । त्यस्तै द्वन्द्वग्रस्त क्षेत्रमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि उपाय, विश्व सम्पदा बडापत्र, निर्देशिका र रणनीतिक योजना तथा जोखिम न्यूनीकरणमा परम्परागत ज्ञान र सांस्कृतिक बुद्धिमत्ताको ज्ञान लगायतका विषयमा छलफल गरिनेछ ।
चारदिने सम्मेलनमा ६७ देशका दुई सय विदेशी सहभागी छन् । त्यस्तै सयभन्दा बढी नेपालीले सम्मेलनमा सहभागिता जनाएका छन् । विदेशबाट अनलाइनमार्फत ५ सयभन्दा बढी जोडिएका छन् । सम्मेलनमा पुरातत्त्वविद्, सम्पदाविज्ञ, आर्किटेक्ट इन्जिनियर, स्टोनविज्ञ र सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञ र अनुसन्धानकर्ता सहभागी छन् ।
युनेस्कोको सल्लाहकार निकायका रूपमा रहेको इकोमस (अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद्)ले मुख्य रूपमा विश्व सम्पदा सूचीमा अभिलेखका लागि विश्वभरबाट प्रस्तावित सांस्कृतिक तथा मिश्रित सम्पदाको मूल्यांकन गरेर विश्व सम्पदा केन्द्रलाई प्रदान गर्ने गरेको इकोमस नेपालकी सचिव एनी जोशीले बताइन् ।
स्मारक, सांस्कृतिक परिदृश्य र सांस्कृतिक सम्पदास्थलको संरक्षण, सुरक्षा, प्रयोग र प्रवर्द्धन गर्न एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा सन् १९६५ मा स्थापित इकोमसको अन्तर्राष्ट्रिय सचिवालय पेरिसमा छ । इकोमसका १ सय १७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७ सय १५ जना विज्ञ सदस्य रहेका छन् । यसअघि ४ दिनसम्म चलेर इकोमसको ६० औं महासभा लुम्बिनीमा मंगलबार सकिएको थियो ।
सम्मेलनमा इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स)की अध्यक्ष बेल्जियमकी प्राध्यापक टेरेसा प्याट्रिसियो पनि सहभागी छिन् ।
